
काठमाडौं ।
कपडा किन्न खोज्दा कुनै कपडाले आफूलाई सुहाउँछ कि सुहाउँदैन भन्ने निर्क्योल गर्न सघाउने“मिरागो” नामक नयाँ एआइ प्लाटफर्म सुरु भएको छ।
एआइ टेक्नोलोजीमा केन्द्रित यस भर्चुअल ट्रायल रुम प्लाटफर्म मिरागोलाई प्रयोग गर्न प्रयोगकर्ताले आफ्नो फोटो र आफूलाई मनपरेको लुगाको फोटो अथवा स्क्रिनसट प्लाटफर्ममा अपलोड गर्नु पर्ने हुन्छ।
कम्पनीका अनुसार अपलोड भएको फोटो अनुसार एआइले स्वतः प्रयोगकर्ताको फोटोमा उक्त लुगा फिट गरेर नयाँ फोटो जेनेरेट गरिदिनेछ। यसले प्रयोगकर्तालाई आफूलाई सुहाउने लुगा छान्न सहज हुनुका साथै अनलाईन सपिङबाट सामान किनेपछि निम्तिने निराशालाई अन्त्य गर्न सहयोग गर्नेछ।
पुरानो तरिकाले अनलाइनमा मनपरेका लुगाहरु किनेर लगाएपछि मन नपर्ने, नसुहाउने समस्या एकैसाथ समाधान हुनुका साथै अब फर्मल, विवाह, पार्टी अथवा कुनै पनि प्रकारका पहिरन छान्न र आफ्नो स्टायल पहिचान गर्न मिरागोले सहयोग गर्ने प्लाटफर्म निर्माणकर्ताहरुको विश्वास छ।
मिरागो प्लाटफर्म निर्माणकर्ता भन्दछन्, ‘नेपालमै निर्मित यस भर्चुअल एआइ प्लाटफर्म केवल नेपालका लागि मात्र नभएर संसारकै लागि एक उपयोगी साधन बन्ने विशेषता राख्दछ।’
विद्यार्थी, कर्परेट कर्मचारी, कन्टेन्ट क्रिएटर र इन्फ्लुएन्सरका साथसाथै आम मानिसलाई लक्षित यस प्लाटफर्मले ड्रेसिङलाई थप सहज र रोचक बनाउनेछ भने यसलाई प्ले स्टोर, एप स्टोर दुवैबाट डाउनलोड गरेर प्रयोग गर्न सकिने बताइएको छ।
वेबबाट वेबसाइट मार्फत समेत प्रयोग गर्न सकिने यस प्लाटफर्म अन्तराष्ट्रिय स्तरमा जानुअघि पहिलो चरणमा नेपालमा सार्वजनिक भएको छ र यसको युजर इन्टरफेस नेपाली प्रयोगकर्तालाई प्राथमिकतामा राखेर बनाइएको छ।
प्लाटफर्म निर्माणकर्ताको दावी अनुसार नेपालमा बनेको प्लाटफर्ममा अन्तराष्ट्रिय स्तरको टेक्नोलोजी र युजर इन्टरफेसको अनुभव गर्न सकिन्छ भन्ने कुरालाई यस प्लाटफर्मले पुष्टि गर्नेछ।
अब कहाँ जाँदा के लगाउने, कस्तो लुगा लगाउने ? किन्ने कि नकिन्ने लगायत सम्पूर्ण प्रश्नका उत्तर एकै प्लाटफर्म मार्फत पाउन सकिने छ र यसले प्रयोगकर्ताको गोपनियता र त्यसको सुरक्षालाई समेत प्राथमिकतामा राखेर जीवनलाई सहज बनाउनेछ भन्ने कुरामा पनि निर्माणकर्ताहरु विश्वस्त छन् ।
प्रकाशित: १० माघ २०८२, शनिबार