ओपनएआईभन्दा पछि परिने संकेत पाएसँगै एआई वेयरेबल विकास गर्दै एप्पल

  • Technology Khabar | १० माघ २०८२, शनिबार
ओपनएआईभन्दा पछि परिने संकेत पाएसँगै एआई वेयरेबल विकास गर्दै एप्पल
फाइल तस्बिर

काठमाडौं ।

ओपनएआईसँग प्रतिस्पर्धामा पछि नपरोस् भन्ने उद्देश्यसहित एप्पल ले आफ्नै एआई वेयरेबल डिभाइस विकास गरिरहेको हुन सक्ने बताइएको छ।

बुधबार द इन्फर्मेशनले प्रकाशित गरेको रिपोर्टअनुसार उक्त डिभाइस कपडामा लगाउन मिल्ने ‘पिन’ को स्वरूपमा हुनेछ, जसमा दुईवटा क्यामेरा र तीनवटा माइक्रोफोन जडान गरिएका हुनेछन्।

यदि यो अफवाहअनुसारको डिभाइस बजारमा आएमा एआईहार्डवेयर बजार तीव्र रूपमा तातिँदै गएको अर्को संकेत हुनेछ।

टेकक्रञ्चका अनुसार यो खबर ओपनएआईका प्रमुख ग्लोबल अफेयर्स अधिकृत क्रिस लेहानले सोमबार डाभोसमा दिएको अभिव्यक्तिपछि आएको हो, जहाँ उनले आफ्नो कम्पनीले यसै वर्षको दोस्रो छमाहीमा पहिलो एआईहार्डवेयर डिभाइस सार्वजनिक गर्ने सम्भावना रहेको बताएका थिए। थप रिपोर्टहरूका अनुसार ओपनएआईको डिभाइस इयरबड्सको जोडी हुन सक्ने अनुमान गरिएको छ।

रिपोर्टअनुसार एप्पलको डिभाइसलाई “एलुमिनियम र ग्लास आवरण भएको पातलो, चप्टो र गोलाकार डिस्क” का रूपमा वर्णन गरिएको छ।

इन्जिनियरहरूले यसलाई एयरट्याग जत्तिकै आकारको, “केवल अलिकति बाक्लो” बनाउने लक्ष्य राखेका छन्। पिनमा दुईवटा क्यामेरा (एउटा सामान्य लेन्स र अर्को वाइड–एङ्गल), फोटो र भिडियोका लागि प्रयोग हुने सुविधा, भौतिक बटन, स्पिकर तथा पछाडिको भागमा फिटबिट जस्तै चार्जिङ स्ट्रिप रहने बताइएको छ।

एप्पलले ओपनएआईसँग प्रतिस्पर्धा गर्न यस उत्पादनको विकास प्रक्रिया तीव्र बनाउने प्रयास गरिरहेको पनि रिपोर्टमा उल्लेख छ। उक्त पिन सन् २०२७ मा सार्वजनिक हुन सक्ने र सुरुवाती चरणमै करिब २ करोड युनिट बजारमा उतार्ने योजना हुन सक्ने अनुमान गरिएको छ। यस विषयमा थप जानकारीका लागि टेकक्रञ्चले एप्पल सँग सम्पर्क गरेको जनाएको छ।

तर उपभोक्ताहरूले यस प्रकारको एआई डिभाइस वास्तवमै चाहन्छन् कि चाहँदैनन् भन्ने कुरा भने अझै स्पष्ट छैन। यसअघि एप्पलका दुई पूर्व कर्मचारीले स्थापना गरेको ह्युमेन एआईनामक स्टार्टअपले पनि एआई पिन बजारमा ल्याएको थियो जसमा माइक्रोफोन र क्यामेरा जडान गरिएको थियो। तर बजारमा आएपछि उक्त डिभाइस सफल हुन सकेन र कम्पनीले उत्पादन सार्वजनिक गरेको दुई वर्षभित्रै आफ्नो सञ्चालन बन्द गर्दै सम्पत्ति एचपीलाई बिक्री गर्नुपरेको थियो।

प्रकाशित: १० माघ २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...