
काठमाडौं ।
नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले सम्पर्कविहीन भएका आफ्ना ११ कर्मचारीहरुलाई सम्पर्क गर्न भनेको छ। नार्कले सार्वजनिक सूचना जारी गरेर अध्ययन बिदा पश्चात नफर्किएका ७ जना वैज्ञानिक सहित ११ कर्मचारीलाई सम्पर्कमा आउन भनेको हो।
यसअघि मंसिर १४ गते सूचना जारी गरी स्पष्टिकरणसहित सम्पर्कमा आउन भनेको थियो। त्यसपछि पनि हालसम्म सम्पर्कमा नआएको भन्दै नार्कले शुक्रबार दोस्रो सूचना जारी गरी उपस्थित हुन भनेको हो।
सूचनाअनुसार, नार्कका वैज्ञानिकहरू अच्युत मिश्र २०७४ भदौदेखि, नवीनकुमार दंगाल २०७६ भदौदेखि, होमन रेग्मी २०७३ माघदेखि, संजिव गौतम २०७५ भदौदेखि, देवराज चालिसे २०७३ चैतदेखि, प्रतिष्ठा अधिकारी २०७४ मंसिरदेखि, तथा दिनेशबाबु थापा मगर २०७५ साउनदेखि अनुपस्थित छन्। उनीहरु अध्यययन बिदा पश्चात अनुपस्थित रहेको उल्लेख छ।
त्यस्तै अन्य प्राविधिक कर्मचारीहरू सुमन कार्की, उज्ज्वल सुवेदी, अतित पराजुली र अस्मिता श्रेष्ठ पनि विभिन्न मितिदेखि अध्यययन बिदा पश्चात अनुपस्थित रहेको नार्कले जनाएको छ।
उनीहरुले नार्कबाट अध्ययन बिदा स्वीकृत गराई कबुलियतनामा गरी अध्ययनमा गएको तर बिदापश्चात हाजिर हुन आउनुपर्नेमा आ-आफ्नो पदबाट राजीनामा पेस गरेको नार्कले जनाएको छ।
उनीहरुमाथि नार्कले गरेको सम्पूर्ण रकम असुल उपर गरी पदबाट हटाउने चेतावनी दिएको छ। सबै कर्मचारीहरुलाई १५ दिन भित्र स्पष्टिकरणसहित उपस्थित हुन भनिएको छ।
प्रकाशित: ९ माघ २०८२, शुक्रबार