
काठमाडौं ।
मेमोरी चिपको मूल्य तीव्र रूपमा बढेपछि स्मार्टफोन, पर्सनल कम्प्युटर (पीसी) र गेमिङ कन्सोलको विश्वव्यापी माग यस वर्ष घट्ने अपेक्षा गरिएको छ। बेलायतकोरास्पबेरी पाइदेखि लिएर अमेरिकाको एचपी इंकजस्ता कम्पनीहरूले बढ्दो लागत सम्हाल्न आफ्ना उत्पादनको मूल्य बढाउन थालेका छन्।
ओपनएआई, अल्फाबेट अन्तर्गतको गुगल र माइक्रोसफ्टजस्ता अमेरिकी प्रविधि कम्पनीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) पूर्वाधार तीव्र रूपमा विस्तार गरेपछि विश्वभरको मेमोरी चिप आपूर्तिको ठूलो हिस्सा सोही क्षेत्रमा खपत हुन थालेको छ।
यसले मूल्य बढाएको छ भने चिप उत्पादकहरूले उपभोक्ता उपकरणभन्दा उच्च मुनाफा दिने डाटा सेन्टरका लागि कम्पोनेन्टलाई प्राथमिकता दिन थालेका छन्।
टेलिकम्स डटकमका अनुसार विश्वका तीन ठूला मेमोरी चिप उत्पादक सामसङ, एसके हाइनिक्स र माइक्रोनले पछिल्ला महिनाहरूमा बढ्दो माग धान्न कठिन भइरहेको बताएका छन्। सेमिकन्डक्टरको मूल्य उकालो लागेपछि ती कम्पनीहरूले बलिया त्रैमासिक नतिजा सार्वजनिक गरे पनि आपूर्ति दबाब स्पष्ट देखिएको छ।
तर यसको असर उपभोक्ता बजारसम्म फैलिन थालेको छ।
अनुसन्धान संस्था आईडीसी र काउन्टरपोइन्टले अहिले विश्वव्यापी स्मार्टफोन बिक्री यस वर्ष कम्तीमा २ प्रतिशतले घट्ने अनुमान गरेका छन्। केही महिनाअघि गरिएको वृद्धिको पूर्वानुमानबाट यो ठूलो उल्टो मोड हो। यो गिरावट २०२३ पछिको पहिलो वार्षिक ढुवानी कमी हुनेछ।
पीसी बजार २०२६ मा कम्तीमा ४.९ प्रतिशतले खुम्चिने आईडीसीको अनुमान छ, जबकि गत वर्ष यो बजार ८.१ प्रतिशतले बढेको थियो। त्यस्तै ट्रेण्डफोर्सका अनुसार गेमिङ कन्सोलको बिक्री चालु वर्ष ४.४ प्रतिशतले घट्ने अपेक्षा गरिएको छ। सन् २०२५ मा भने यो बजार करिब ५.८ प्रतिशतले बढेको अनुमान गरिएको थियो।
उत्पादकहरूका लागि कठिन निर्णय
केही कम्पनीहरूले पहिले नै मूल्य बढाइसकेका छन्। तर एप्पल र डेलजस्ता ठूला उत्पादकहरू लागत आफैँले व्यहोरेर मुनाफा घटाउने कि उपभोक्तामाथि मूल्यवृद्धि सारेर माग कमजोर पार्ने जोखिम लिने भन्ने कठिन दोधारमा छन्।
“उत्पादकहरूले केही लागत आफैँ सम्हाल्न सक्छन्, तर अभावको आकार हेर्दा यसको असर अन्ततः उपभोक्ताका लागि उच्च मूल्यका रूपमा देखिने निश्चित छ,” ईमार्केटरका विश्लेषक जेकब बोर्नले भने।
उनका अनुसार, “यसले २०२६ मा उपभोक्ता उपकरणको बिक्रीलाई अझै सुस्त बनाउनेछ। व्यापक मुद्रास्फीतिको समयमा उत्पादन बेच्न खोजिरहेका यी कम्पनीहरूका लागि यो ठूलो चुनौती हुनेछ।”
अझै दबाब बढाउने अर्को कारण भनेको मूल्यवृद्धि लामो समयसम्म कायम रहने अपेक्षा हो। काउन्टरपोइन्टको अनुमानअनुसार, मेमोरी चिपको मूल्य आगामी पहिलो त्रैमासिकमै ४० देखि ५० प्रतिशतसम्म बढ्न सक्छ। गत वर्ष नै यस क्षेत्रमा करिब ५० प्रतिशत मूल्यवृद्धि भइसकेको थियो।
प्रकाशित: ९ माघ २०८२, शुक्रबार