
काठमाडौं ।
एप्पलको लामो समयदेखि प्रतीक्षित सिरी सुधारले यो स्मार्ट असिस्टेन्टलाई च्याटजीपीटी जस्तै एआई च्याटबोटमा रूपान्तरण गर्न सक्ने देखिएको छ।
ब्लूमबर्गका मार्क गर्मनको रिपोर्टअनुसार आईओएस २७मा एकीकृत हुने सिरी च्याटबोट एप्पलको आगामी जुनमा आयोजना हुने वर्ल्डवाइड डेभलपर कन्फ्रेन्सको मुख्य आकर्षण बन्न सक्नेछ।
टेकक्रञ्चका अनुसार आन्तरिक रूपमा “क्याम्पोस” कोडनेम दिइएको यो सिरी च्याटबोटले भ्वाइस र टेक्स्ट दुवै इनपुटमा काम गर्नेछ।
यसअघि एप्पल का वरिष्ठ उपाध्यक्ष क्रेग फेडेरिघीले सिरीलाई च्याटबोट बनाउने पक्षमा आफू नरहेको र एप्पलका एआई फिचरहरू प्रयोगकर्तालाई आवश्यक परेको बेला सहज रूपमा उपलब्ध हुने गरी एकीकृत हुनुपर्ने बताएका थिए। तर अन्य कम्पनीहरूका एआई च्याटबोटहरूको बढ्दो सफलताका कारण एप्पल को रणनीतिमा परिवर्तन आएको संकेत देखिएको छ।
यसैबीच ओपनएआईले हार्डवेयर क्षेत्रमा प्रवेश गर्ने योजना बनाइरहेको र यस प्रयासको नेतृत्व एप्पलका पूर्व डिजाइन प्रमुख जोनी आइभले गरिरहेको खबरले पनि एप्पल लाई सम्भावित चुनौती महसुस गराएको हुन सक्ने अनुमान गरिएको छ।
एआई प्रतिस्पर्धामा एप्पल पछि परेको कुरा नयाँ होइन। कम्पनीले “अझ व्यक्तिगत सिरी” सार्वजनिक गर्ने योजना पटक–पटक स्थगित गर्यो र गत वर्ष सम्भावित साझेदारीका लागि ओपनएआई र एन्थ्रोपिकजस्ता प्रतिस्पर्धी कम्पनीहरूको प्रविधि परीक्षण गर्दै एआई पार्टनर खोजिरहेको थियो।
अन्ततः एप्पलले गुगलको जेमिनीलाई आफ्नो एआई साझेदारका रूपमा छनोट गरेको छ, जसको पुष्टि यी दुई प्रविधि कम्पनीहरूले यसै महिना गरेका छन्।
प्रकाशित: ९ माघ २०८२, शुक्रबार