शाओमी इलेक्ट्रिक स्कूटर ६ लाइट विश्वव्यापी रूपमा घोषणा

  • Technology Khabar | ८ माघ २०८२, बिहीबार
शाओमी इलेक्ट्रिक स्कूटर ६ लाइट विश्वव्यापी रूपमा घोषणा
फोटो सौजन्यः गीज्मोचाइना

काठमाडौं ।

शाओमीले आफ्नो नयाँ इलेक्ट्रिक स्कूटर ६ लाइनअपको सबैभन्दा सस्तो मोडेल इलेक्ट्रिक स्कूटर ६ लाइट सार्वजनिक गरेको छ। यो स्कूटर ६ र ६ म्याक्स भन्दा तलको भएको र छोटो शहर यात्राको लागि डिजाइन गरिएको बताइएको छ।

स्कूटरले ३०० वाट निरन्तर पावर र ५०० वाट पिक आउटपुटसहितको हल–इफेक्ट ब्रशलेस मोटर प्रयोग गर्दछ। २५ किलोमिटर प्रति घण्टा टप स्पिड (गति) रहेको स्कूटरले १५ प्रतिशतसम्म उकालो चढ्न सक्ने बताइएको छ।

२१६ वाट आवर टर्नरी लिथियम ब्याट्रीले स्ट्याण्डर्ड मोडमा १५ किलोमिटर प्रति घण्टामा २५ किलोमिटर रेञ्ज प्रदान गर्दछ भने पूर्ण गतिमा स्पोर्ट मोडमा लगभग २० किलोमिटर रेञ्ज प्रदान गर्ने गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

खराब वा कच्चा सडकहरूको लागि स्कूटरमा २५ एमएम डुअल–स्प्रिङ फ्रन्ट सस्पेन्सन र १०–इन्च न्यूमेटिक टायरहरू छन्। ब्रेकिङले अगाडि ड्रम ब्रेक र पछाडि ई–एबीएस प्रणाली प्रयोग गर्दछ। अगाडिको २.५ वाटको हेडलाइटले १५ मिटर अगाडि सम्म उज्यालो प्रदान गर्ने भने ब्रेक लगाउँदा पछाडिको ब्रेक लाइट बल्ने उल्लेख गरिएको छ।

शाओमी इलेक्ट्रिक स्कूटर ६ लाइटमा ६ किलोमिटर प्रति घण्टामा पेडेस्टेरियन (पैदल यात्री), १५ किलोमिटर प्रति घण्टामा स्ट्याण्डर्ड र २५ किलोमिटर प्रति घण्टामा स्पोर्ट गरी तीनओटा स्पिड मोडहरू रहेका छन्।

ह्यान्डलबारहरू बीच रहेको डिस्प्लेले स्कूटरको गति, राइडिङ मोड र ब्याट्री स्तर देखाउँछ। डिस्प्लेलाई शाओमी होम एपमा जडान गरेर रेञ्ज, ब्याट्री स्ट्याटस, ट्रिप हिस्ट्रि, टायरको प्रेसर जाँच गर्न, मोटर लक गर्न र ऊर्जा रिकभरी समायोजन गर्नको लागि प्रायोग गर्न सकिने छ।

स्कूटरको फ्रेम हाई–स्थे्रन्थ कार्बन स्ट्रक्चरल स्टीलबाट बनेको छ र १०० किलोग्रामसम्म भार थेग्न सक्ने बताइएको छ। १८.१ किलोग्राम तौल रहेको स्कूटर १६ देखि ५० वर्ष उमेरका १४० सेन्टिमिटर र २०० सेन्टिमिटर अग्ला सवारहरूको लागि उपयुक्त हुने बताइएको छ।

स्कूटरको बडिको लागि आईपीएक्स४ पानी प्रतिरोध र ब्याट्रीको लागि आईपीएक्स६ रेटेड गरिएको छ। स्कूटरको फोल्ड गरिएको साइज ११४० × ५१२ × ५५५ एमएम छ। शाओमीले अहिलेसम्म इलेक्ट्रिक स्कूटर ६ लाइटको मूल्य बारेमा भने घोषणा गरेको छैन।

प्रकाशित: ८ माघ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार