
काठमाडौं ।
नेटफ्लिक्सले बिदा सिजनको त्रैमासिक अवधिका लागि वाल स्ट्रिटको आम्दानी र नाफा अनुमानभन्दा अलिकति राम्रो नतिजा सार्वजनिक गरे पनि वार्नर ब्रदर्स डिस्कभरीलाई लिएर चर्किएको वाक् युद्धका कारण यसको सेयर ४ प्रतिशतभन्दा बढीले घटेको छ।
प्यारामाउन्ट–स्काइडान्सको शत्रुतापूर्ण प्रस्तावलाई रोक्न खोजिरहेको नेटफ्लिक्सले वार्नर ब्रदर्ससँगको ८२.७ अर्ब डलरको मर्जर सम्झौतामा संशोधन गरेको केही घण्टापछि कम्पनीले नतिजा सार्वजनिक गरेको हो।
‘दीर्घकालीन वृद्धिका लागि सही ठानेको निर्णय लिन नेटफ्लिक्सले अल्पकालीन सेयर मूल्यको नकारात्मक प्रतिक्रिया बेहोर्न हिच्किचाएको इतिहास छैन,’ रनिङ प्वाइन्ट क्यापिटल एडभाइजर्सका प्रमुख लगानी अधिकृत माइकल एश्ले शुलम्यानले भने। ‘यसपटक पनि त्यही देखिएको छ।’
रोयटर्सका अनुसार वार्नर ब्रदर्स डिस्कभरीका लागि सबै–नगद सम्झौता घोषणा गरेको दिन नै नेटफ्लिक्सले आफ्नो आम्दानी विवरण सार्वजनिक गरेको हो जसले चौथो त्रैमासिक नतिजालाई समेत छायामा पारेको देखिन्छ।
अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा कम्पनीले १२.१ अर्ब डलर आम्दानी गरेको जनाएको छ, जुन एलएसईजीले सर्वेक्षण गरेका विश्लेषकहरूको ११.९७ अर्ब डलरको अनुमानभन्दा अलिकति बढी हो। समायोजित प्रति सेयर आम्दानी ५६ सेन्ट पुगेको छ, जुन अनुमान गरिएको ५५ सेन्टभन्दा माथि हो।
कम्पनीका अनुसार सदस्य संख्या वृद्धिले नतिजामा महत्वपूर्ण भूमिका खेलेको छ। त्रैमासिक अवधिमा नेटफ्लिक्सका भुक्तानी गर्ने ग्राहक संख्या ३२५ मिलियन नाघेको छ जुन सन् २०२४ को अन्त्यतिर रिपोर्ट गरिएको ३०० मिलियनभन्दा उल्लेख्य वृद्धि हो।
निल्सेनका अनुसार डिसेम्बरमा नेटफ्लिक्सको मासिक दर्शक संख्या १० प्रतिशतले बढेको छ। यसको मुख्य कारण लोकप्रिय साइ–फाइ सिरिज ‘स्ट्रेन्जर थिङ्स’को अन्तिम सिजन हो, जसले १५ अर्ब मिनेट हेराइ रेकर्ड गरेको थियो। साथै, कम्पनीले क्रिसमस डेमा दुई एनएफएल खेल स्ट्रिम गर्यो र ‘नाइभ्स आउट’ मर्डर–मिस्ट्री श्रृंखलाको तेस्रो फिल्म पनि सार्वजनिक गर्यो।
नेटफ्लिक्सले २०२६ का लागि ५०.७ अर्बदेखि ५१.७ अर्ब डलरसम्मको वार्षिक आम्दानी प्रक्षेपण गरेको छ। यसको तल्लो सीमा विश्लेषकहरूको ५०.९८ अर्ब डलरको अनुमानभन्दा केही कम छ। उक्त प्रक्षेपणमा विज्ञापन आम्दानी वार्षिक रूपमा दोब्बर भएर करिब ३ अर्ब डलर पुग्ने अनुमान समावेश गरिएको छ, जसबारे प्रमुख वित्त अधिकृत स्पेन्सर न्युम्यानले लगानीकर्तालाई जानकारी दिएका छन्।
सह–प्रमुख कार्यकारी टेड सारान्डोसका अनुसार कम्पनीले अमेरिका बाहिर हुने लाइभ इभेन्टहरू विस्तार गर्ने योजना बनाएको छ, जसअन्तर्गत जापानमा आयोजना हुने वर्ल्ड बेसबल क्लासिक पनि समावेश छ। साथै, नेटफ्लिक्सले भिडियो पोडकास्ट क्षेत्रमा पनि विस्तार गर्दै पिट डेभिडसन र माइकल इर्भिनजस्ता चर्चित व्यक्तित्वलाई जोडेको छ।
लाइभ इभेन्टको अन्तर्राष्ट्रिय विस्तारलाई समर्थन गर्न नेटफ्लिक्सले बेलायत र एसियामा अपरेसन सेन्टर थप्दैछ भने विज्ञापन व्यवसाय विस्तारमा पनि जोड दिइरहेको सह–प्रमुख कार्यकारी ग्रेग पिटर्सले बताएका छन्। कम्पनीले इन्टरएक्टिभ भिडियो विज्ञापनसहित ‘मिक्स एन्ड म्याच’ क्रिएटिभ फर्म्याटहरू पनि ल्याइरहेको छ, जसले व्यवसायिक नतिजा सुधार गर्न मद्दत गर्ने उनको भनाइ छ।
यी सबै गतिविधि वार्नर ब्रदर्सका फिल्म तथा टेलिभिजन स्टुडियो, विशाल सामग्री भण्डार र ‘गेम अफ थ्रोन्स’, ‘ह्यारी पोटर’ तथा ब्याटम्यान–सुपरम्यानजस्ता डीसी सुपरहिरो फ्रेन्चाइज समेट्ने अधिग्रहण सम्झौता संशोधन गरिएको पृष्ठभूमिमा आएका हुन्।
‘संशोधित सबै–नगद सम्झौताले सेयरधनी मतदानको प्रक्रिया छिटो अघि बढाउन र वित्तीय निश्चितता दिन सहयोग गर्नेछ,’ सारान्डोसले मंगलबार जारी वक्तव्यमा भनेका छन्।
नेटफ्लिक्सका अनुसार वार्नर अधिग्रहणले ग्राहकलाई अझै व्यापक र उच्च गुणस्तरका फिल्म तथा सिरिज उपलब्ध गराउनेछ साथै एचबीओ म्याक्स थपिँदा थप लचिलो र व्यक्तिगत सब्सक्रिप्सन प्याकेजहरू प्रस्ताव गर्न सकिनेछ।
कम्पनीले वार्नर अधिग्रहणलाई सहयोग गर्न डिसेम्बर ४ मा ५९ अर्ब डलरको ब्रिज लोन प्रतिबद्धता सुरक्षित गरेको र सोमबार त्यसमा थप ८.२ अर्ब डलर वृद्धि गरेको जनाएको छ। प्रति सेयर २७.७५ डलरको सबै–नगद प्रस्तावलाई समर्थन गर्न शेयर पुनःखरिद कार्यक्रमसमेत अस्थायी रूपमा रोकिने बताइएको छ। अहिलेसम्म वित्तीय व्यवस्था सुनिश्चित गर्न ६० मिलियन डलर खर्च भइसकेको कम्पनीले जानकारी दिएको छ।
प्रकाशित: ८ माघ २०८२, बिहीबार