
काठमाडौं ।
चीनले सोमबार दक्षिणी द्वीप प्रान्त हैनानबाट लङ मार्च–१२ रकेट प्रक्षेपण गर्दै ‘इन्टरनेट उपग्रहहरूको १९औँ समूह’ अन्तरिक्षमा पठाएको छ।
हैनानस्थित व्यावसायिक अन्तरिक्षयान प्रक्षेपण केन्द्रबाट अपराह्न ३ः४८ बजे प्रक्षेपित रकेटले उपग्रहहरूलाई निर्धारित कक्षमा सफलतापूर्वक स्थापित गरेको चिनियाँ अन्तरिक्ष निकायले जनाएको छ।
यो सन् २०२६ मा चीनको इन्टरनेट उपग्रह कन्ष्टेलेसन अन्तर्गत भएको दोस्रो प्रक्षेपण हो । यसअघि छ दिनअघि सोही स्थलबाट १८औँ समूहका उपग्रहहरू प्रक्षेपण गरिएको थियो।
चीनको १५औँ पञ्चवर्षीय योजना (सन् २०२६–२०३०) अन्तर्गत अन्तरिक्ष क्षेत्रलाई देशको औद्योगिक प्रणाली र वास्तविक अर्थतन्त्रको महत्वपूर्ण हिस्सा मानिएको छ। उच्च कार्यक्षमता, बजारमुखी नवप्रवर्तन र ठूलो मात्रामा उत्पादन क्षमता भएका व्यावसायिक अन्तरिक्ष कम्पनीहरूले चीनको अन्तरिक्ष विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्।
सोमबार प्रक्षेपित उपग्रहहरू बेइजिङस्थित व्यावसायिक कम्पनी ग्यालेक्सीस्पेसले विकास गरेको हो । उक्त कम्पनीले हालसम्म स्टारलिङ्क–जस्तै उपग्रह सञ्जाल निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
ग्यालेक्सीस्पेसका प्रमुख मोडेल डिजाइनर हु झाओका अनुसार नयाँ उपग्रहहरूमा कम्पनीद्वारा विकास गरिएका अत्याधुनिक प्रविधिहरू जडान गरिएको छ जसले उत्पादन दक्षता उल्लेखनीय रूपमा बढाएको छ।
विशेषज्ञहरूका अनुसार उक्त उपग्रह कन्ष्टेलेसनहरूले स्मार्टफोन–उपग्रह प्रत्यक्ष जडान तथा भविष्यको सिक्सजी अन्तरिक्ष–भू सूचना सञ्जाल निर्माणमा महत्वपूर्ण आधार प्रदान गर्नेछन्।-रासस/सिन्ह्वा
प्रकाशित: ७ माघ २०८२, बुधबार