
काठमाडौं ।
सेलुलर र नन–टेरेस्ट्रियल नेटवर्क (एनटीएन) एकीकरणबारे विश्वभर चासो बढिरहेका बेला स्विडेन भने यस विषयमा केही फरक धारमा उभिएको देखिएको छ।
स्विडेनको पोस्ट एन्ड टेलिकम अथोरिटी (पीटीएस) ले हालको बजार अवस्थाको विश्लेषण गर्दा स्विडेनमा स्याटेलाइट डाइरेक्ट–टु–डिभाइस (डीटूडी) प्रविधि कार्यान्वयनमा ढिलाइ गराउने थुप्रै कारण देखिएको जनाएको छ। नियामकको निष्कर्षअनुसार स्विडेनमा यस्तो सेवा सुरु हुन कम्तीमा पनि पाँच वर्ष लाग्ने सम्भावना छ।
“विश्लेषणले स्विडेनमा उन्नत स्याटेलाइट–आधारित डीटूडी सेवाको माग अनिश्चित छ भन्ने देखाउँछ।
सेवा क्षमतामा सीमितता, मोबाइल फोनको तयारी अवस्था, साथै मोबाइल र स्याटेलाइट अपरेटरबीचको सहकार्यसम्बन्धी अन्योलका कारण यो प्रविधि कम्तीमा पाँच वर्षपछि मात्र यथार्थ बन्ने अपेक्षा गरिएको छ,” पीटीएसले जनाएको छ।
यी निष्कर्षलाई थप स्पष्ट पार्दै नियामक निकायले स्विडेन र उसका नर्डिक छिमेकी मुलुकहरूमा मोबाइल कभरेज सामान्यतया राम्रो रहेको र कभरेज नपुगेका क्षेत्रहरूमा जनघनत्व कम भएकाले स्याटेलाइट कभरेज तथा सेवामा लगानी औचित्यहीन देखिने बताएको छ।
टेलिकम्स डटकमका अनुसार दुर्गम क्षेत्रमा आपतकालीन सञ्चार तथा संकटका बेला वैकल्पिक (रेडन्डेन्सी) कनेक्टिभिटी जस्ता फाइदा भए पनि “समग्र रूपमा स्विडेन र नर्डिक क्षेत्रमा डीटूडी सेवाका लागि माग–आधारित बजार विकास हुन्छ कि हुँदैन भन्ने विषय अनिश्चित नै छ,” पीटीएसले उल्लेख गरेको छ।
यसैगरी स्याटेलाइट–आधारित डीटूडी प्रविधिमा प्रगति भए पनि सीमित नेटवर्क क्षमताका कारण हाल उपलब्ध सेवाहरू आधारभूत खालका मात्र रहेका छन्, जसमा मुख्यतया टेक्स्ट सन्देश र न्यून–गतिको डाटा समावेश छन्।
पीटीएसले स्याटेलाइट उद्योगले दाबी गरेजस्तो विश्वव्यापी कभरेज व्यवहारमा सीमित रहेको पनि औंल्याएको छ। विशेषगरी पृथ्वीको उत्तरी भूभागसम्म पर्याप्त कभरेज दिन सक्ने अपरेटरहरूको संख्या निकै कम रहेको नियामकको भनाइ छ।
“उत्तरी युरोपमा कभरेजको समस्या समाधान भए पनि सम्पूर्ण नर्दन युरोपमा उन्नत डीटूडी सेवा दिन सक्ने एक मात्र स्याटेलाइट अपरेटर रहने जोखिम छ जसले एकाधिकारको अवस्था सिर्जना गर्न सक्छ,” पीटीएसले चेतावनी दिएको छ।
यस कारण पीटीएसले सन् २०२७ मा पुनः बाँडफाँड हुने २ गिगाहर्ज मोबाइल स्याटेलाइट सेवा ब्यान्डमा कभरेजसम्बन्धी दायित्व समावेश गर्न युरोपेली संघ (ईयू) का नीति–निर्मातालाई आग्रह गरेको छ। हाल यो ब्यान्डका इजाजतपत्र भायसाट र इकोस्टारसँग छन्, जसको म्याद आगामी मेमा सकिँदैछ।
“यस्तो नियमन लागू भएमा नर्डिक क्षेत्रमा एकभन्दा बढी स्याटेलाइट अपरेटरले उन्नत डीटूडी कभरेज उपलब्ध गराउन सक्नेछन् र मोबाइल अपरेटरलाई पूरक स्याटेलाइट कभरेजका लागि सम्झौता गर्दा विकल्प रहनेछ,” नियामकले जनाएको छ।
मोबाइल फ्रिक्वेन्सी ब्यान्डमा आधारित स्याटेलाइट डीटूडी सेवाको हकमा भने पीटीएसका अनुसार स्याटेलाइट अपरेटरहरूले बढी एकाधिकारयुक्त स्पेक्ट्रम प्रयोगको माग गरिरहेका छन्, जसले शहरी क्षेत्रमा भू-सतही (टेरेस्ट्रियल) नेटवर्क सेवाको गुणस्तरमा नकारात्मक असर पार्न सक्छ।
“स्याटेलाइट डीटूडी र मोबाइल नेटवर्क सेवाबीच सह–अस्तित्व, जस्तै हस्तक्षेपबाट जोगाउने उपायसम्बन्धी ईयूस्तरको समन्वय प्रक्रिया चलिरहेको छ, र यो प्रक्रिया कम्तीमा सन् २०२८ अघि पूरा हुने सम्भावना छैन,” पीटीएसले जनाएको छ।
स्याटेलाइट डीटूडी बजारप्रतिको विश्वव्यापी उत्साहको सन्दर्भमा पीटीएसको यो विश्लेषण केही असहज लाग्ने खालको छ।
पछिल्लो साता मात्रै बेलायतस्थित स्याटेलाइट कम्पनी ओपन कोसमोसले लिच्टेनस्टाइनबाट मूल्यवान केए–ब्यान्ड स्पेक्ट्रम सुरक्षित गरेको उत्सव मनाएको थियो भने अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी) ले स्पेसएक्सलाई थप ७,५०० स्टारलिङ्क स्याटेलाइट प्रक्षेपणको अनुमति दिएको थियो।
यसैबीच सीईएस प्रदर्शनीमा सामसुङ र कीसाइटले व्यावसायिक–स्तरको मोडेम प्रयोग गरी लाइभ स्याटेलाइट–टु–स्याटेलाइट मोबिलिटी प्रदर्शन गर्दै डीटूडी कनेक्टिभिटीमा नयाँ उपलब्धि दावी गरेका थिए। गत डिसेम्बरको अन्त्यतिर बहरेनले व्यावसायिक डीटूडी सेवाको सुरुवातको घोषणा पनि गरिसकेको छ।
तर पीटीएसको विश्लेषणले स्पष्ट पारेझैं, स्याटेलाइट र स्थलीय नेटवर्क एकीकरणप्रतिको उत्साह जति देखिन्छ त्यति सर्वव्यापी भने नहुन सक्छ।
प्रकाशित: ७ माघ २०८२, बुधबार