ओपनएआईको वार्षिक आम्दानी २० अर्ब डलर नाघ्यो: सीएफओ

  • Technology Khabar | ७ माघ २०८२, बुधबार
ओपनएआईको वार्षिक आम्दानी २० अर्ब डलर नाघ्यो: सीएफओ
फाइल तस्बिर

काठमाडौं ।

ओपनएआईकी प्रमुख वित्तीय अधिकृत (सीएफओ) साराह फ्रायरले आइतबार प्रकाशित ब्लग पोस्टमा सन् २०२५ मा कम्पनीको वार्षिकीकृत आम्दानी २० अर्ब अमेरिकी डलर नाघेको जानकारी दिएकी छन्।

यो आम्दानी सन् २०२४ मा रहेको ६ अर्ब डलरबाट उल्लेखनीय रूपमा बढेको हो, जसको वृद्धि कम्प्युटिङ क्षमताको विस्तारसँग नजिकबाट सम्बन्धित रहेको उनले बताएकी छन्।

ब्लगअनुसार ओपनएआईको कम्प्युटिङ क्षमता सन् २०२४ मा ०.६ गिगावाटबाट बढेर सन् २०२५ मा १.९ गिगावाट पुगेको छ। माइक्रोसफ्ट समर्थित ओपनएआईका साप्ताहिक र दैनिक सक्रिय प्रयोगकर्ता संख्या निरन्तर नयाँ कीर्तिमान कायम गरिरहेको फ्रायरले उल्लेख गरेकी छन्।

गत साता ओपनएआईले उच्च प्रविधि विकास लागत धान्नका लागि एआई च्याटबोट च्याटजिपिटीबाट आम्दानी बढाउने उद्देश्यसहित अमेरिकाका केही प्रयोगकर्तालाई विज्ञापन देखाउन सुरु गर्ने घोषणा गरेको थियो।

रोयटर्सका अनुसार एक्सियोसले सोमबार प्रकाशित गरेको समाचारअनुसार ओपनएआईका नीति प्रमुख क्रिस लेहेनले कम्पनीले सन् २०२६ को दोस्रो अर्धवार्षिकमा आफ्नो पहिलो हार्डवेयर उपकरण सार्वजनिक गर्ने दिशामा “सही बाटोमा” रहेको बताएका छन्।

फ्रायरका अनुसार ओपनएआईको प्लेटफर्मले पाठ, तस्बिर, आवाज, कोड र एपीआई समेट्छ। आगामी चरणमा निरन्तर रूपमा सञ्चालन हुने, समयक्रममा सन्दर्भ (कन्टेक्स्ट) कायम राख्ने र विभिन्न उपकरणमा स्वतः कार्य गर्न सक्ने एजेन्ट र वर्कफ्लो स्वचालनमा केन्द्रित हुने योजना रहेको उनले बताइन्।

सन् २०२६ का लागि कम्पनीले विशेषगरी स्वास्थ्य, विज्ञान र उद्यम (इन्टरप्राइज) क्षेत्रमा “व्यावहारिक अपनत्व” लाई प्राथमिकता दिने फ्रायरले स्पष्ट पारिन्।

उनले ओपनएआईले सम्पत्ति स्वामित्वभन्दा साझेदारीमा केन्द्रित हुँदै विभिन्न सेवा प्रदायक र हार्डवेयर प्रकारअनुसार लचिलो सम्झौता संरचना अपनाएर “हल्का” ब्यालेन्स सिट कायम राखिरहेको पनि जानकारी दिएकी छन्।

प्रकाशित: ७ माघ २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...