क्यानडाले चीनमा निर्मित ईभीका लागि ढोका खोलेसँगै टेस्ला प्रारम्भिक विजेता बन्ने सम्भावना

  • Technology Khabar | ६ माघ २०८२, मंगलवार
क्यानडाले चीनमा निर्मित ईभीका लागि ढोका खोलेसँगै टेस्ला प्रारम्भिक विजेता बन्ने सम्भावना
फाइल तस्बिर

काठमाडौं ।

क्यानडाले चिनियाँ निर्मित विद्युतीय सवारीसाधन (ईभी) मा लाग्दै आएको १०० प्रतिशत महसुल हटाउने निर्णय गरेसँगै टेस्ला त्यसबाट फाइदा उठाउने पहिलो अटोमेकरमध्ये पर्न सक्ने विज्ञहरूले बताएका छन्।

शाङ्घाईस्थित कारखानाबाट क्यानडामा गाडी पठाउने प्रारम्भिक तयारी र क्यानडाभर फैलिएको बिक्री सञ्जाल टेस्लाको मुख्य फाइदा मानिएको छ।

गत शुक्रबार घोषणा गरिएको सम्झौताअनुसार क्यानडाले चीनबाट वार्षिक ४९ हजारसम्म सवारीसाधन आयात गर्न अनुमति दिनेछ, जसमा ‘मोस्ट फेभर्ड नेसन’ आधारमा ६.१ प्रतिशत महसुल लाग्नेछ। क्यानडाका प्रधानमन्त्री मार्क कार्नीका अनुसार यो कोटा पाँच वर्षभित्र बढेर ७० हजार सवारीसाधनसम्म पुग्न सक्छ।

तर सम्झौतामा समावेश एक प्रावधानअनुसार कुल कोटाको आधा हिस्सा ३५ हजार क्यानडियन डलर (करिब २५,१८९ अमेरिकी डलर) भन्दा कम मूल्यका सवारीसाधनका लागि छुट्याइनेछ। टेस्लाका सबै मोडलहरूको मूल्य यो सीमाभन्दा माथि छ।

रोयटर्सका अनुसार चिनियाँ अटोमेकरहरू निर्यात विस्तार गर्ने अवसर खोजिरहेका बेला टेस्लालाई भने अग्रता छ। सन् २०२३ मै टेस्लाले शाङ्घाईस्थित आफ्नो विश्वकै सबैभन्दा ठूलो र लागत-कुशल कारखानामा क्यानडाका लागि विशेष मोडल वाई उत्पादन र निर्यात गर्ने व्यवस्था गरेको थियो।

सोही वर्ष टेस्लाले शाङ्घाईबाट क्यानडामा मोडल वाई पठाउन थालेपछि भ्यानकुभर बन्दरगाहमार्फत चीनबाट क्यानडामा हुने सवारी आयात वार्षिक रूपमा ४६० प्रतिशतले बढेर ४४,३५६ पुगेको थियो।

तर क्यानडाले चीनको राज्य-निर्देशित ‘अधिक उत्पादन’ नीतिको प्रतिकार गर्ने भन्दै २०२४ मा १०० प्रतिशत महसुल लगाएपछि टेस्लाले ती निर्यात रोकेको थियो। त्यसपछि उसले अमेरिकाका र बर्लिनस्थित कारखानाबाट क्यानडामा मोडल वाई पठाउन थालेको हो। यद्यपि सस्तो मोडल ३ जस्ता भेरियन्टहरू मुख्यतया चीनमै उत्पादन हुने गर्छन्।

“नयाँ सम्झौताले ती निर्यात छिट्टै पुनः सुरु गर्न सक्ने सम्भावना देखिन्छ,” अटोफोरकास्ट सोलुसन्सका उपाध्यक्ष साम फियोरानीले बताएका छन्।
क्यानडामा टेस्लाका ३९ वटा स्टोर छन् भने बीवाईडी र निओजस्ता चिनियाँ प्रतिस्पर्धीहरूको त्यहाँ हालसम्म बिक्री उपस्थिति छैन।

साथै, टेस्लाका चारवटा मात्र मुख्य मोडल भएकाले बजार रणनीति छिटो लागू गर्न सक्ने क्षमता पनि उसकै पक्षमा रहेको विश्लेषण गरिएको छ।

“थोरै मोडल, सीमित भेरियन्ट र सरल उत्पादन लाइन भएकाले टेस्लाले लागत दक्षता हासिल गर्न कुनै पनि देशमा बनेका गाडी कुनै पनि बजारमा सजिलै बेच्न सक्छ,” शाङ्घाईस्थित अटोफोरसाइटका प्रबन्ध निर्देशक येल झाङले बताएका छन्। टेस्लाले रोयटर्सको टिप्पणी अनुरोधमा तत्काल प्रतिक्रिया दिएको छैन।

यसअघि क्यानडामा चीनमा बनेका सवारी निर्यात गर्ने अन्य ब्रान्डमा गीली समूहको स्वामित्वमा रहेका भोल्भो र पोलस्टार पनि पर्थे। यी कम्पनीहरूले पनि प्रतिक्रिया दिएका छैनन्।

चिनियाँ ईभी ब्रान्डका लागि अवसर

मूल्यसम्बन्धी प्रावधानले भने चिनियाँ ब्रान्डलाई केही सहजता दिने अपेक्षा गरिएको छ। “यसका मुख्य लाभग्राही चिनियाँ अटोमेकर र किफायती सवारी खोजिरहेका क्यानडेली उपभोक्ता हुनेछन्,” फियोरानीले भने।

ग्लोबलडाटाका चीन बजार पूर्वानुमान प्रमुख जोन जेङका अनुसार यो कोटाले ठूलो चिनियाँ-क्यानडेली जनसंख्या रहेको क्यानडामा चिनियाँ कार निर्माता कम्पनीहरूलाई बजार परीक्षण गर्ने अवसर पनि दिनेछ।

क्यानडाले आगामी तीन वर्षभित्र चिनियाँ कम्पनीसँग संयुक्त लगानी वा साझेदारीमार्फत चिनियाँ प्रविधि प्रयोग गरेर क्यानडामै विद्युतीय सवारी उत्पादन गर्ने सम्भावनाबारे छलफल गरिरहेको क्यानडेली सार्वजनिक प्रसारक सीबीसीले जनाएको छ। चीनको सबैभन्दा ठूलो ईभी निर्माता बीवाईडीको ओन्टारियोमा विद्युतीय बस एसेम्बली प्लान्ट पहिल्यै सञ्चालनमा छ।

क्यानडाको यो निर्णयप्रति ट्रम्प प्रशासनका अधिकारीहरूले आलोचना गरेका छन्। यसअघि बाइडेन प्रशासनले सन् २०२४ मा चिनियाँ ईभीमा महसुल चार गुणा बढाएर १०० प्रतिशत पुर्‍याउँदै अमेरिकामा ती सवारीको प्रवेश लगभग बन्द गरिदिएको थियो।

प्रकाशित: ६ माघ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार