
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन कर्मचारीतन्त्रको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालको आइतबार बिदाई कार्यक्रममा मन्त्री खरेलले राजनीतिक विश्वास र कर्मचारीको सहयोगबिना मुलुकको विकास हुन नसक्ने उल्लेख गरे।
सञ्चारमन्त्री खरेलले आफूले जिम्मेवारी सम्हालेको चार महिनामा मन्त्रालय र मातहत निकायका कर्मचारीबाट कुनैपनि असहयोग नभएको बरु सौहार्दपूर्ण व्यवहार तथा समन्वयात्मक ढंगले काम भएको स्पष्ट पारे।
मन्त्री खरेलले नियमित प्रक्रिया अनुसार सरुवा भएको स्पष्ट पार्दै सचिव अर्यालसँगको समन्वयको प्रशंसा गरे।
सचिव अर्यालले मन्त्रालयमा डेढ वर्षको अवधिमा आमसञ्चार, दूरसञ्चार, मुद्रण, चलचित्र, हुलाकलगायत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै त्यसको फलस्वरुप मन्त्रालयले उपलब्धि हासिल गरेको बताइन्।
उनले राष्ट्रको समग्र विकासका लागि नयाँ डिजिटल प्रविधि अपनाउनुपर्ने र राजनीतिज्ञ तथा कर्मचारी प्रशासनको विश्वास मजबुत बनाउनुपर्नेमा जोड दिइन्।
सञ्चार मन्त्रालयकी सचिव अर्याल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिव पदमा सरुवा भएकी हुन्।
सो अवसरमा सचिव अर्यालले आफ्नो कार्यकालमा दूरसञ्चार, रेडियो तथा टेलिभिजन दर्ता नवीकरण, सार्वजनिक सेवा प्रसारण, डिजिटल नेपाल फ्रेमवर्क, गोरखापत्र र राष्ट्रिय समाचार समितिका कानूनसम्बन्धी देखिएका धेरै समस्याहरू समाधान भएको जानकारी दिँदै अनलाइन समाचारलाई सत्यनिष्ठ र जिम्मेवार बनाउनुपर्ने बताइन्। रासस
प्रकाशित: ५ माघ २०८२, सोमबार