अनुकूल चिप भन्सार शुल्कका लागि अमेरिकासँग वार्ता गर्ने दक्षिण कोरियाको तयारी

  • Technology Khabar | ५ माघ २०८२, सोमबार
अनुकूल चिप भन्सार शुल्कका लागि अमेरिकासँग वार्ता गर्ने दक्षिण कोरियाको तयारी
फाइल तस्बिर

काठमाडौं ।

दक्षिण कोरियाले मेमोरी चिप आयातमा लगाइने अमेरिकी भन्सार शुल्क (ट्यारिफ) सम्बन्धी अनुकूल सर्तका लागि अमेरिकासँग वार्ता गर्ने तयारी गरेको छ। राष्ट्रपति कार्यालयका प्रवक्ताले आइतबार टेलिभिजनमार्फत आयोजित ब्रिफिङमा यसबारे जानकारी दिएका हुन्।

प्रवक्ताका अनुसार गत वर्ष अमेरिका–दक्षिण कोरिया व्यापार सम्झौतासँग सम्बन्धित संयुक्त तथ्यपत्र सार्वजनिक गरिएको थियो, जसमा प्रमुख प्रतिस्पर्धी देशहरूको तुलनामा दक्षिण कोरियालाई अमेरिकी चिप ट्यारिफमा प्रतिकूल व्यवहार नगरिने सर्त समावेश छ।

रोयटर्सका अनुसार ट्रम्प प्रशासनले कृत्रिम बुद्धिमत्ता (एआई) चिपमा ट्यारिफ लगाउने घोषणा गरेपछि सो सन्दर्भमा सोधिएको प्रश्नको जवाफमा प्रवक्ताले यस्तो बताएका हुन्।

यसअघि शनिबार दक्षिण कोरियाका व्यापार मन्त्रीले उन्नत कम्प्युटिङ चिपमा लगाइने अमेरिकी ट्यारिफले दक्षिण कोरियाली कम्पनीहरूमा सीमित मात्र प्रभाव पार्ने बताएका थिए।

दक्षिण कोरियाका सामसङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्स विश्वका सबैभन्दा ठूला मेमोरी चिप उत्पादकमध्ये पर्छन्। यी कम्पनीहरू अमेरिकी ट्यारिफ नीतिबाट प्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने भएकाले सियोलले वासिङ्टनसँग कूटनीतिक तथा व्यापारिक समन्वयलाई तीव्र बनाउने संकेत गरेको छ।

प्रकाशित: ५ माघ २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार