के साँच्चै विश्वभर इन्टरनेट पूर्ण रूपमा बन्द हुन सक्छ? यस्तो छ तथ्य

  • Technology Khabar | ५ माघ २०८२, सोमबार
के साँच्चै विश्वभर इन्टरनेट पूर्ण रूपमा बन्द हुन सक्छ? यस्तो छ तथ्य
च्याटजीपीटीमार्फत् बनाइएको सांकेतिक तस्बिर

काठमाडौं ।

कमजोर इन्टरनेट गतिको झन्झट हामी सबैले भोगेका छौँ। काम गर्दा पहुँच अवरुद्ध हुनु वा मनपर्ने शो सबैभन्दा रोचक क्षणमा ‘बफर’ हुनु—यस्ता अनुभव सामान्य भइसकेका छन्।

विगतका केही ठूला आउटेजहरूले इन्टरनेट पनि कहिलेकाहीँ व्यापक समस्यामा पर्न सक्छ भन्ने देखाएका छन्। तर के कहिल्यै संसारभरकै इन्टरनेट एकैचोटि बन्द हुन सक्छ त?

इन्टरनेटलाई प्रायः “नेटवर्कहरूको नेटवर्क” भनिन्छ। यसमा घर, व्यवसाय, सार्वजनिक स्थान र अन्य थुप्रै प्रणालीहरू जोडिएका हुन्छन्। त्यसैले विश्वव्यापी इन्टरनेट बन्द हुनका लागि छोटो समयमै असंख्य पूर्वाधारहरूमा एकसाथ असर पर्नुपर्ने हुन्छ।

डार्टमाउथ कलेजका सूचना प्रणाली र सिद्धान्तमा विशेषज्ञ इन्जिनियरिङ प्राध्यापक जर्ज साइबेन्कोका अनुसार “यो सम्भव त छ, तर त्यसका लागि अत्यन्त ठूलो स्रोतसाधन वा असाध्यै दुर्लभ संयोगहरूको आवश्यकता पर्छ। त्यसैले यो निकै असम्भाव्य भए पनि सम्भव चाहिँ छ।”

इन्टरनेट सुरुदेखि नै “विविधता, अनियमितता र वितरित असिन्क्रोनसिटी” का आधारमा बनाइएको थियो, जसले गर्दा सम्पूर्ण प्रणाली नै एकैचोटि विफल हुनु अत्यन्त कठिन हुन्छ। साइबेन्को भन्छन्, “घर वा कार्यालयभित्रका स्थानीय नेटवर्कहरू त विश्वव्यापी इन्टरनेट असफल भए पनि काम गर्न सक्छन्।”

इन्टरनेटमार्फत सूचना आदान–प्रदान हुँदा—जस्तै, एउटा स्मार्टफोनबाट अर्कोमा सन्देश पठाउँदा—सूचना साना–साना ‘प्याकेट’ मा विभाजन हुन्छन्। ती प्याकेटहरू उपलब्ध सबैभन्दा छिटो मार्ग हुँदै गन्तव्यमा पुग्छन्। यदि कुनै मार्ग अवरुद्ध भयो भने पनि विकल्पहरू धेरै हुने भएकाले सन्देश गन्तव्यसम्म पुग्न सक्ने लाइभसाइन्सले उल्लेख गरेको छ।

यही संरचनाले भौतिक क्षति (जस्तै, समुद्रमुनि रहेको केबल काटिनु वा ठूलो इन्टरनेट हबमा बिजुली जानु) वा सफ्टवेयर समस्याका कारण सम्पूर्ण इन्टरनेट बन्द हुनबाट जोगाउँछ।

कहिलेकाहीँ क्लाउडप्लेयरजस्ता ठूला पूर्वाधार प्रदायक बन्द हुँदा असर केही घण्टामै सीमित रहन्छ र अन्य प्रणालीमा फैलिँदैन। यद्यपि, शक्तिशाली र अप्रत्याशित सौर्य आँधीजस्ता घटनाले ठूलो आउटेज ल्याएमा मर्मतमा समय लाग्न सक्छ।

तर धेरै सरकार र ठूला कम्पनीहरूसँग यस्ता अवस्थामा छिटो सेवा पुनःस्थापना गर्ने योजना हुन्छ—जसमा क्लाउड स्टोरेज र ब्याकअप पावर जेनरेटरजस्ता उपाय समावेश हुन्छन्।

अर्कोतर्फ केही देशहरूले ठूला प्रदर्शन वा अशान्तिका बेला जानाजानी इन्टरनेट बन्द गरेका उदाहरण छन्। यस्तो अवस्थामा बिजुली ग्रिड, फाइबर अप्टिक केबल जस्ता पूर्वाधार ध्वस्त पारिन्छ वा ‘थ्रोटलिङ’ गरेर इन्टरनेटको गति जानाजानी घटाइन्छ। तर यस्ता बन्द पनि प्रायः छिट्टै समाधान हुन्छन्।

अक्सफोर्ड इन्टरनेट इन्स्टिच्युटका वरिष्ठ फेलो विलियम डटनका अनुसार “मानिसहरूले इन्टरनेट कति छिटो पुनःस्थापना गर्न सक्छन् भन्ने देख्दा अचम्म लाग्छ। इन्टरनेट कति लचिलो छ भन्ने कुरा अझै पनि धेरैलाई चकित पार्छ।”

यद्यपि इन्टरनेट बन्द हुँदा असर केवल असुविधामा सीमित हुँदैन। अस्पतालका आईटी प्रणालीदेखि लिएर विद्युत् ग्रिड र ट्राफिक व्यवस्थापनजस्ता महत्वपूर्ण पूर्वाधारहरू इन्टरनेटमा निर्भर हुन्छन्। लामो समयसम्म सेवा अवरुद्ध भए गम्भीर परिणाम आउन सक्छ।

“स्वास्थ्य सेवा देखि युद्धसम्म इन्टरनेट जति–जति केन्द्रीय बन्दै गएको छ, त्यति नै यसको सुरक्षा र विश्वसनीयता अत्यन्त महत्वपूर्ण बन्दै गएको छ,” डटन भन्छन्। “छोटो समयका लागि भए पनि यस्ता आउटेज चिन्ताजनक हुन्छन्।”

इन्टरनेट फैलिँदै जाँदा यसको आधारभूत संरचना कमजोर पर्छ भन्ने डर पुरानै हो। तर डटनका अनुसार यो गलत बुझाइ हो। “जति धेरै नोडहरू थपिन्छन्, इन्टरनेट उति नै बलियो र लचिलो बन्छ। वृद्धि नै यसको कमजोरी होइन, शक्ति हो,” उनी भन्छन्। “पूर्ण रूपमा ढल्नु सैद्धान्तिक रूपमा सम्भव भए पनि, व्यवहारमा त्यस्तो हुने सम्भावना अत्यन्तै कम छ।”

प्रकाशित: ५ माघ २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार