
काठमाडौं ।
युरोपेली संघ (ईयू) ले महत्वपूर्ण पूर्वाधारबाट चिनियाँ निर्मित उपकरणहरू क्रमशः हटाउन बाध्यकारी व्यवस्था ल्याउने तयारी गरिरहेको छ। यस कदमले ह्वावे र जेडटीईजस्ता कम्पनीहरूलाई दूरसञ्चार सञ्जाल र सौर्य ऊर्जासम्बन्धी प्रणालीबाट बाहिर राख्ने फाइनान्सियल टाइम्सले शनिबार जनाएको छ।
हाल उच्च जोखिम मानिएका आपूर्तिकर्तालाई सीमित गर्ने व्यवस्था स्वैच्छिक रहेको भए पनि ईयूको साइबर सुरक्षा प्रस्तावले यसलाई सदस्य राष्ट्रहरूका लागि अनिवार्य बनाउने सम्भावना रहेको रिपोर्टमा उल्लेख छ। यसबारे जानकारी दिएका अधिकारीहरूको नाम खुलाइएको छैन।
स्पेन र जर्मनीजस्ता ठूला बजारका केही दूरसञ्चार कम्पनीहरूले यसअघि यस्ता उपाय लागू गर्न प्रतिरोध जनाउँदै आएका थिए।
रिपोर्टअनुसार प्रस्ताव मंगलबार प्रस्तुत गरिनेछ। चिनियाँ उपकरण हटाउने समयसीमा भने ईयू लाई पर्ने जोखिम, सम्बन्धित क्षेत्रको संवेदनशीलता, वैकल्पिक आपूर्तिकर्ताको उपलब्धता तथा लागतलाई ध्यानमा राखेर तय गरिने रोयटर्सले उल्लेख गरेको भए पनि तत्काल स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको भने छैन। यस विषयमा युरोपेली आयोग, चीनको वाणिज्य मन्त्रालय, ह्वावे र जेडटीईले प्रतिक्रिया दिएका छैनन्।
गत डिसेम्बरमा युरोपका केही सरकारहरूले चिनियाँ उपकरण प्रयोगप्रति कडा धारणा अपनाउँदै गएपछि र युरोपमा फाइभजीको विस्तार सुस्त भएपछि ह्वावेले पूर्वी फ्रान्समा हालै सम्पन्न गरेको आफ्नै प्लान्टको भविष्यबारे पुनर्विचार गरिरहेको समाचार बाहिरिएको थियो।
संयुक्त राज्य अमेरिकाले सन् २०२२ मै ह्वावे र जेडटीईका नयाँ दूरसञ्चार उपकरणहरूलाई स्वीकृति दिन प्रतिबन्ध लगाइसकेको छ र युरोपेली साझेदारहरूलाई पनि त्यस्तै कदम चाल्न प्रोत्साहन गर्दै आएको छ।
प्रकाशित: ५ माघ २०८२, सोमबार