ओशेनले बनायो श्रेणी–५ को आँधीमा तथ्याङ्क सङ्कलन गर्ने पहिलो महासागरीय रोबोट

  • Technology Khabar | ४ माघ २०८२, आईतवार
ओशेनले बनायो श्रेणी–५ को आँधीमा तथ्याङ्क सङ्कलन गर्ने पहिलो महासागरीय रोबोट

काठमाडौं ।

अनाहिता लावर्याक एयरोस्पेस इन्जिनियर बन्ने लक्ष्यमा थिइन्, तर स्वचालित रोबोटिक्ससम्बन्धी एक प्रतियोगितामा आएको अनुभूतिले उनको करियरले फरक मोड लियो। त्यही अनुभवबाट प्रेरित हुँदै उनले महासागरसम्बन्धी डेटा सङ्कलन गर्ने रोबोटहरूको फ्लीट निर्माण गर्ने कम्पनी ओशेन स्थापना गरिन्।

२०२१ मा अनुभवी नाविकसमेत रहेकी लावर्याकले माइक्रोट्रान्स्याट च्यालेञ्जमा सहभागी हुन एक रोबोट निर्माण गरिन्। यो प्रतियोगितामा सहभागीहरूले पालचालित स्वायत्त साना रोबोट अटलान्टिक महासागर पार गराउने प्रयास गर्छन्।

तर अन्य सहभागीझैँ उनी पनि सफल हुन सकिनन्। “यी सबै प्रयास असफल हुनुका दुई ठूला कारण छन् भन्ने मलाई महसुस भयो,” लावर्याकले भनिन्। “पहिलो, महासागरमा साना रोबोट टिकाइराख्नु अत्यन्तै गाह्रो छ। दोस्रो, मौसम कस्तो हुन्छ वा समुद्रको अवस्था कस्तो छ भन्ने बुझ्न पर्याप्त महासागरीय डाटा नै छैन।”

त्यसपछि हराइरहेको महासागर डाटा खोज्न लावर्याक ओशियनोलोजी इन्टरनेशनलजस्ता सम्मेलनहरूमा पुगिन्। त्यहाँ उनले यो डाटा प्रभावकारी रूपमा सङ्कलन गर्ने उपाय कसैले पनि राम्रोसँग विकास नगरेको पत्ता लगाइन्। उल्टै कतिपयले आफैंले डाटा सङ्कलन गरिदिन पैसा तिर्न सकिन्छ कि भनेर सोध्न थाले।

“मानिसहरू पैसा तिर्न तयार छन् भने यसलाई व्यवस्थित रूपमा सङ्कलन गर्ने उपाय बनाउन सकिन्छ,” भन्ने निष्कर्षमा पुगेपछि उनले अप्रिल २०२२ मा विद्युत् इन्जिनियर सियारन डाउड्ससँग मिलेर ओशेन स्थापना गरिन्।

टेकक्रञ्चका अनुसार कम्पनीले अहिले सी-स्टार्स नामका स्वायत्त साना महासागरीय रोबोटहरूको फ्लीट बनाउँछ, जुन लगातार १०० दिनसम्म समुद्रमा टिक्न सक्छन् र समूहमा परिचालन गरेर महासागरसम्बन्धी डाटा सङ्कलन गर्छन्।

तर सुरुआत सानो थियो। लावर्याकका अनुसार कम्पनी सुरु गर्दा उनीहरूले तुरुन्तै भेन्चर क्यापिटल नलिने निर्णय गरे। बरु आफ्नै बचत जोडेर २५ फिट लामो एउटा पालडुङ्गा किने, बेलायतको सबैभन्दा सस्तो मरिनामा बसे र त्यसैलाई परीक्षण प्लेटफर्मका रूपमा प्रयोग गरे। दुई वर्षसम्म उनीहरूले किनारमै रोबोट सुधार गर्दै सिधै समुद्रमा परीक्षण गर्दै आए।

“गर्मी मौसममा त ठीकै हुन्छ,” लावर्याकले भनिन्। “समस्या के हो भने रोबोट सबै मौसममा काम गर्नुपर्छ। जाडोको आँधी चलेको बेला २५ फिटको पालडुङ्गा लिएर समुद्रमा जानु जोखिमपूर्ण हुन्छ। त्यसले केही साहसिक अनुभव पनि दियो—त्यसबारे धेरै भन्न चाहन्नँ, तर केही रोचक घटनाहरू अवश्य भए।”

प्रविधि विकास चुनौतीपूर्ण थियो, किनकि ठूला रोबोट सिधै सानो बनाएर मात्र समाधान हुँदैन। यी रोबोट सस्तो, ठूलो संख्यामा परिचालन गर्न मिल्ने र लामो समयसम्म स्वायत्त रूपमा डाटा सङ्कलन गर्न सक्षम हुनैपर्थ्यो। लावर्याकका अनुसार धेरै कम्पनीहरूले यी तीनमध्ये दुई पक्ष मात्र सफलतापूर्वक मिलाएका छन्। ओशेन ले तीनै पक्ष सन्तुलनमा ल्याउन सकेपछि रक्षा र सरकारी निकायहरूबाट चासो बढ्न थाल्यो।

दुई वर्षअघि अमेरिकी नेशनल ओशेनिक एण्ड एटमस्फियरिक एडमिनिस्ट्रेशन (एनओएए) को ध्यान पनि ओशेन तर्फ गएको थियो तर त्यो बेला प्रविधि अझै पूर्ण रूपमा तयार थिएन। सन् २०२५ को आँधी मौसम सुरु हुनुभन्दा दुई महिना अघि बेलायतका जाडो आँधीहरूमा सफल परीक्षणपछि एनओएएले फेरि सम्पर्क गर्‍यो।

यसपटक ओशेन ले अवसर गुमाएन र १५ भन्दा बढी सी-स्टार्स तयार पारेर पठायो। तीमध्ये पाँच रोबोट अमेरिकी भर्जिन आइल्याण्ड्स नजिक तैनाथ गरिए जहाँ हरिकन हम्बर्टो जाने एनओएएको पूर्वानुमान थियो। लावर्याकका अनुसार सुरुमा आँधी आउनुअघिसम्म मात्र डाटा सङ्कलन हुने अपेक्षा थियो। तर तीन रोबोटले केही भाग गुमाए पनि पूरा आँधी सहँदै निरन्तर डाटा सङ्कलन गरे।

यसरी उनका अनुसार श्रेणी–५ को शक्तिशाली आँधीभित्रै डाटा सङ्कलन गर्ने विश्वकै पहिलो महासागरीय रोबोट बनेका छन्।

हाल कम्पनी इङ्ग्ल्यान्डको प्लाइमाउथस्थित समुद्री प्रविधि केन्द्रमा सरेको छ र मौसम तथा रक्षा प्रयोजनका लागि बेलायती सरकारसहित विभिन्न संस्थासँग ठेक्का पाउन थालेको छ। बढ्दो मागलाई सम्बोधन गर्न अब कम्पनीले छिट्टै भेन्चर क्यापिटल उठाउने योजना बनाएको लावर्याकले बताइन्।

प्रकाशित: ४ माघ २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...