टी–मोबाइलद्वारा डिजिटल बिजनेस सपोर्ट सिस्टम/अपरेसन सपोर्ट सिस्टमका लागि नेटक्र्याकरसँग सहकार्य

  • Technology Khabar | ३ माघ २०८२, शनिबार
टी–मोबाइलद्वारा डिजिटल बिजनेस सपोर्ट सिस्टम/अपरेसन सपोर्ट सिस्टमका लागि नेटक्र्याकरसँग सहकार्य
फाइल तस्बिर

काठमाडौं ।

 अमेरिकी दूरसञ्चार कम्पनी टी–मोबाइलले डिजिटल बीएसएस/ओएसएस (बिजनेस सपोर्ट सिस्टम/अपरेसन सपोर्ट सिस्टम) तथा क्लाउड समाधानका लागि नेटक्र्याकरसँग सहकार्य गरेको छ।

टेलिकम्स डटकमका अनुसार नेटक्र्याकरको डिजिटल बीएसएस/ओएसएस र क्लाउड समाधानले टी–मोबाइललाई ग्राहक अनबोर्डिङ सरल बनाउन, सञ्चालन प्रक्रियालाई सुव्यवस्थित गर्न र “डिजिटल–फर्स्ट” व्यवसायिक मोडेल सक्षम बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

टी–मोबाइलले नेटक्र्याकरको क्लाउड–नेटीभ डिजिटल बीएसएस/ओएसएस प्रयोग गर्नेछ, जसबाट विशेषगरी कम्पनीको होलसेल व्यवसायमा थप लचकता, नवप्रवर्तन र ग्राहक अनुभवमा सुधार आउने बताइएको छ।

दुवै कम्पनीबीच विगत केही वर्षदेखि सहकार्य हुँदै आएको जनाइएको छ। क्लाउड–नेटीभ प्लेटफर्ममा सरेसँगै “टी–मोबाइलले कार्यान्वयनमा प्रमाणित डिजिटल आधार तयार गरिरहेको छ, जसले साझेदारलाई नयाँ आम्दानी स्रोत छिटो र सुरक्षित रूपमा हासिल गर्न सहयोग गर्छ,” विज्ञप्तिमा उल्लेख छ।

कम्पनीका अनुसार टी–मोबाइलका ग्राहकले “लचकदार डिजिटल इकोसिस्टम” बाट फाइदा लिनेछन्, जसले सेवा सुरु गर्ने समय महिनौँबाट घटाएर केही हप्तामै झार्नेछ। साथै प्रत्येक अन्तरक्रियामा बलियो सुरक्षा र गोपनीयता संरक्षण समावेश गरिनेछ।

यो साझेदारीले भविष्यमा एआई–आधारित व्यक्तिगत सेवा (एआई-ड्रिभन पर्सनलाइजेशन), उन्नत फाइभजी मनिटाइजेशन र इन्टरनेट अफ थिङ्स (आईओटी) सेवाका नयाँ अवसर खोल्ने पनि दुवै कम्पनीको भनाइ छ।

“क्लाउड युगमा टी–मोबाइलसँगको हाम्रो सफल साझेदारीलाई विस्तार गर्न पाउँदा हामी गर्व महसुस गर्छौँ,” Netcracker का प्रमुख प्रविधि अधिकृत (सीटीओ) बब टाइटसले भने। “यो सहकार्य लचकदार र सुरक्षित विकास रणनीति सक्षम बनाउने विषय हो। क्लाउडको मापन क्षमता, एनालिटिक्स र स्वचालनलाई संयोजन गरेर हामी टी–मोबाइलको होलसेल व्यवसायलाई आजको बजारले अपेक्षा गर्ने डिजिटल–फर्स्ट सेवा प्रदान गर्न सहयोग गरिरहेका छौँ।”

यसैबीच, गत वर्ष अगस्टमा टी–मोबाइलले अमेरिकी दूरसञ्चार कम्पनी यूएससेलुलर अधिग्रहण प्रक्रिया पूरा गरेको थियो। अमेरिकी न्याय मन्त्रालयको एन्टिट्रस्ट विभागले जुलाईमा अनुमति दिएपछि अधिग्रहण अघि बढेको हो।

सम्झौताअनुसार टी–मोबाइलले यूएससेलुलर का सम्पूर्ण वायरलेस सञ्चालन, त्यसका ग्राहक र स्टोरहरू, साथै केही निर्दिष्ट स्पेक्ट्रम सम्पत्ति करिब ४.३ अर्ब डलरमा अधिग्रहण गरेको थियो। समायोजनपछि उक्त रकममध्ये २.६ अर्ब डलर नगद र करिब १.७ अर्ब डलर ऋण समावेश थियो।

प्रकाशित: ३ माघ २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...