
काठमाडौं ।
गुगलले जेमिनीको लागि पर्सनल इन्टेलिजेन्स प्रस्तुत गरेको छ। पर्सनल इन्टेलिजेन्स सक्रिय गरेपछि यो अप्ट–इन सुविधाले जीमेल, युट्युब, गुगल सर्च र गुगल फोटोज जस्ता एपहरूबाट जानकारी सुरक्षित रूपमा जडान गर्दछ भने जेमिनीले उक्त जानकारी प्रयोगकर्तासँगको कुराकानीमा प्रयोग गर्न सक्छ।
पर्सनल इन्टेलिजेन्स अर्को हप्तामा अमेरिकामा योग्य गुगल एआई प्रो र एआई अल्ट्रा ग्राहकहरूमा रोल आउट हुँदैछ। साथै यो सुविधाले वेब, एन्ड्रोइड र आईओएसमा काम गर्दछ।
अमेरिकामा अब जेमिनी एप वा वेबसाइटमा गएर त्यसपछि सेटिङहरू भित्र पर्सनल इन्टेलिजेन्समा गएर यो सुविधा प्राप्त भएको छ कि छैन भनेर हेर्न सकिने छ। साथै त्यहाँ प्रयोगकर्ताले जेमिनीमा जडान गर्न चाहेको एपहरू चयन गर्न सक्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रयोगकर्ताको प्रश्नहरूको जवाफ दिनको लागि इमेल र फोटोहरू जस्ता प्रयोगकर्ताको व्यक्तिगत वस्तुहरूबाट विशिष्ट विवरणहरू प्राप्त गर्नु पर्सनल इन्टेलिजेन्सको मुख्य शक्ति भएको बताइएको छ। यो सुविधाले “अद्वितीय रूपमा अनुकूलित उत्तरहरू” प्रदान गर्नको लागि टेक्स्ट, फोटो र भिडियोमा काम गर्दछ भनि गुगलले बताएको छ।
पर्सनल इन्टेलिजेन्स सक्षम गरेपछि जेमिनीले प्रयोगकर्ताको विशिष्ट अनुरोधहरूको जवाफ दिन र प्रयोगकर्ताको लागि काम गर्न प्रयोगकर्ताको डाटा पहुँच गर्दछ। उक्त डाटा “पहिले नै गुगलमा सुरक्षित रूपमा रहने भएकोले प्रयोगकर्ताले आफ्नो अनुभवलाई निजीकृत गर्न सुरु गर्न संवेदनशील डाटा अन्यत्र पठाउनु नपर्ने थप उल्लेख गरिएको छ।
प्रयोगकर्ताले पर्सनलाईजेसन (निजीकरण) बिना जेमिनीसँग कुराकानी गर्न अस्थायी च्याटहरू प्रयोग गर्न सक्ने छन्। जेमिनीले प्रयोगकर्ताको स्वास्थ्य जस्ता संवेदनशील डाटाको बारेमा सक्रिय धारणाहरू बनाउनबाट बच्ने “लक्ष्य” राखेको छ। “यद्यपि यदि प्रयोगकर्ताले सोधेको खण्डमा भने उक्त डाटा बारे छलफल गर्नेछ”।
गुगलले जेमिनीलाई प्रयोगकर्ताको जीमेल इनबक्स वा गुगल फोटो लाइब्रेरीमा “सिधा” प्रशिक्षित नगर्ने वाचा गरेको छ। त्यसको सट्टा “समयसँगै कार्यक्षमता सुधार गर्न जेमिनीमा विशिष्ट प्रम्प्टहरू र मोडेलको प्रतिक्रियाहरू जस्ता सीमित जानकारीमा प्रशिक्षित गरिने” थप उल्लेख गरिएको छ।
प्रकाशित: ३ माघ २०८२, शनिबार