
काठमाडौं ।
विभिन्न माध्यमबाट हुने भ्रमपूर्ण र मिथ्यापूर्ण सूचनाको प्रवाहलाई रोक्नुपर्नेमा सम्बन्धित क्षेत्रका विज्ञसहित सरोकारवालाहरूले जोड दिएका छन्।
गण्डकी प्रदेश, प्रेस रजिष्ट्रारको कार्यालयले बिहिबार पोखरामा आयोजना गरेको ‘भ्रमपूर्ण र मिथ्यापूर्ण सूचनासम्बन्धी’ अन्तरक्रियाका वक्ताहरूले मिथ्यापूर्ण सूचनाले व्यक्ति, परिवार र सिङ्गो समाजलाई नै हानि पुर्याउने बताएका हुन्।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले मिथ्या सूचनाले समाजलाई दिग्भ्रमित पारिरहेको बताए। “गलत र मिथ्या सूचना फैलँदा त्यसले सामाजिक सद्भाव बिगार्छ, द्वन्द्व बढाउँछ”, उनले भने, “नागरिकलाई सत्यतथ्यपूर्ण सूचना सही समयमा दिनुपर्छ।” सूचना प्रविधिको विकाससँगै मिथ्या सूचनाबाट समाजलाई जोगाउनुपर्ने चुनौती थपिएको मन्त्री थापाले बताए।
गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेले मिथ्यापूर्ण सूचनालाई चिर्न र सत्यतथ्य सूचना प्रवाहमा सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेको बताए। उनले समुदायस्तरमा सञ्चार साक्षरताको आवश्यकता रहेको बताए।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले राज्यका सबै अङ्गले नागरिक हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने धारणा राखिन्। उनले सही समयमा सही सूचना पाउनबाट नागरिकलाई बञ्चित गर्न नहुनेमा जोड दिइन्। नागरिकलाई भरपर्दो र विश्वसनीय सूचना प्रवाह गर्ने दायित्व सञ्चारमाध्यमलगायत सबै निकाय र क्षेत्रको भएको प्रजिअ शर्माले बताइन्।
नेपाल पत्रकार महासङ्घ, कास्कीका अध्यक्ष माधव बरालले मिथ्या सूचनाले समाजलाई गलत ढङ्गले निर्देशित गर्ने बताए। सामाजिक सञ्जाललगायत डिजिटल माध्यमबाट भ्रामक सूचना छिटो फैलन गरेको उनको भनाइ छ ।
कार्यक्रममा गैरसरकारी महासङ्घ, कास्कीका अध्यक्ष इन्दिरा पौडेल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य वासुदेव मिश्रलगायतका वक्ताले भ्रमपूर्ण र मिथ्यापूर्ण सूचनाले समाजमा पुर्याउने नकारात्मक असरका बारेमा धारणा राखेका थिए।
कार्यक्रममा सेन्टर फर मिडिया रिसर्चका निर्देशक उज्ज्वल आचार्य, बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटा र गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीले प्रस्तुतीकरण गरेका थिए। रासस
प्रकाशित: १ माघ २०८२, बिहीबार