
काठमाडौं ।
गुगलको मातृ कम्पनी अल्फाबेट सोमबार छोटो समयका लागि ४ ट्रिलियन डलरको बजार मूल्यांकन पार गर्न सफल भएको छ। कृत्रिम बुद्धिमत्ता (एआई) मा कम्पनीले हालै अपनाएको स्पष्ट र आक्रामक रणनीतिले लगानीकर्ताहरूको शंका हटाउँदै अल्फाबेटलाई उच्च-दाउको प्रविधि प्रतिस्पर्धाको अग्रपंक्तिमा फर्काएको हो।
यस प्रगतिलाई पुष्टि गर्ने अर्को संकेतका रूपमा, अल्फाबेटले एप्पलका आगामी पुस्ताका एआई मोडेलहरू गुगलको ‘जेमिनी’ मा आधारित हुने बहुवर्षीय सम्झौता भएको जनाएको छ।
यसअघि नै रोयटर्सले यस वर्ष सामसुङ इलेक्ट्रोनिक्सले जेमिनी-सञ्चालित एआई फिचर भएका मोबाइल उपकरणहरूको संख्या दोब्बर बनाउने योजना बनाएको रिपोर्ट गरेको थियो।
गत साता अल्फाबेटले २०१९ यताकै पहिलो पटक एप्पललाई उछिन्दै बजार मूल्यांकनमा दोस्रो स्थान हासिल गरेको थियो। सन् २०२५ मा मात्रै अल्फाबेटको सेयर करिब ६५ प्रतिशतले उकालो लागेको छ, जसले ‘म्याग्निफिसेन्ट सेभेन’ भनेर चिनिने वालस्ट्रिटका शीर्ष कम्पनीहरूलाई समेत पछि पारेको छ।
लगानीकर्ताको धारणा परिवर्तन हुनुको मुख्य कारणमध्ये एक, पहिले खासै ध्यान नपाएको गुगल क्लाउड व्यवसायलाई तीव्र वृद्धिको इञ्जिनमा रूपान्तरण गर्नु हो। यससँगै, वारेन बफेटको बर्कशायर ह्याथावेबाट आएको दुर्लभ प्रविधि लगानी ले पनि विश्वास बढाएको विश्लेषकहरू बताउँछन्।
लाडेनबर्ग थाल्मान एसेट म्यानेजमेन्टका सीईओ फिल ब्लान्काटोका अनुसार, “म्याग्निफिसेन्ट सेभेनमध्ये पछिल्लो १२ महिनामा सबैभन्दा धेरै चकित पार्ने नाम नै अल्फाबेट हो। उनीहरू परम्परागत मोडेलभन्दा बाहिर निस्कँदै नयाँ क्षेत्रहरूमा प्रभाव जमाइरहेका छन्।”
उनका अनुसार नवप्रवर्तन नै अल्फाबेटलाई अन्य कम्पनीभन्दा अलग बनाउने मुख्य आधार बनेको छ, जसको असर आम्दानी तथ्यांकमा स्पष्ट देखिन थालेको छ।
जेमिनी ३ मोडेल ले सकारात्मक समीक्षाहरू पाएको छ, जसले जीपीटी-५ बाट केही प्रयोगकर्ता सन्तुष्ट नहुनुका कारण ओपनएआईमाथि दबाब बढाएको छ। उता, गुगल क्लाउडको तेस्रो त्रैमासिक आम्दानी ३४ प्रतिशतले बढेको छ भने पहिल्यै सम्झौता भइसकेका तर अझै आम्दानीमा नआएका अर्डरहरूको मूल्य १५५ अर्ब डलर पुगेको छ।
गुगलले आफ्नै आन्तरिक प्रयोगका लागि विकास गरेका एआई चिप्स बाह्य ग्राहकलाई भाडामा दिन थालेपछि क्लाउड व्यवसायको वृद्धि झन् तीव्र बनेको छ। यसैबीच, ‘द इन्फर्मेसन’ का अनुसार मेटा प्लेटफर्म्सले २०२७ देखि आफ्ना डेटा सेन्टरका लागि अल्फाबेटका चिप्स खरिद गर्न अरबौं डलर खर्च गर्ने विषयमा छलफल गरिरहेको छ।
अर्कोतर्फ, आर्थिक अनिश्चितता र कडा प्रतिस्पर्धाबीच पनि अल्फाबेटको विज्ञापन व्यवसाय स्थिर रूपमा टिकिरहन सफल भएको छ, जुन कम्पनीको मुख्य आम्दानी स्रोत हो।
अल्फाबेट ४ ट्रिलियन डलरको बजार मूल्यांकन छुने चौथो कम्पनी बनेको छ। यसअघि यो उपलब्धि एनभिडिया, माइक्रोसफ्ट र एप्पल ले हासिल गरिसकेका छन्।
यसका साथै, सेप्टेम्बरमा एक अमेरिकी न्यायाधीशले अल्फाबेटलाई टुक्र्याउने प्रस्ताव अस्वीकार गर्दै क्रोम ब्राउजर र एन्ड्रोइड प्रणालीमाथिको नियन्त्रण कायम राख्न अनुमति दिएको निर्णय ले पनि सेयर मूल्यलाई थप बल पुर्याएको छ।
प्रकाशित: ३० पुष २०८२, बुधबार