
काठमाडौं ।
उबरले एपमार्फत बुक गरिएको चालकबाट आफू यौन दुर्व्यवहारको सिकार भएको दावी गर्ने एक महिलाले दायर गरेको मुद्दामा यसै साता अमेरिकाको एरिजोना राज्यको फिनिक्समा मुद्दा सामना गर्ने भएको छ।
यो मुद्दा उबरले आफ्ना चालकबाट भएका कथित यौन दुर्व्यवहारका घटनामा आफूलाई कानुनी जिम्मेवारीबाट जोगाउने प्रयासको पहिलो ठूला परीक्षणका रूपमा हेरिएको छ। यस्ता हजारौं मुद्दा अहिले अमेरिकी संघीय अदालतमा विचाराधीन छन्।
रोयटर्सका अनुसार ओक्लाहोमाकी बासिन्दा जेलीन्न डिनले सन् २०२३ मा, एरिजोनामा भएको भनिएको घटनाको एक महिनापछि, उबरविरुद्ध मुद्दा दायर गरेकी थिइन्। उनका अनुसार, उबरलाई आफ्ना चालकहरूबाट भइरहेका यौन दुर्व्यवहारको लहरबारे जानकारी हुँदाहुँदै पनि यात्रुहरूको सुरक्षाका लागि आधारभूत कदम चालिएको थिएन।
यस्ता आरोपले लामो समयदेखि उबरलाई पछ्याउँदै आएको छ र यसले सञ्चारमाध्यम तथा अमेरिकी कंग्रेसको ध्यान पनि तानेको छ। उबर यस्तै आरोपसहित ३,००० भन्दा बढी मुद्दाको सामना गरिरहेको छ, जसलाई संघीय अदालतमा एकै ठाउँमा समेटिएको छ।
डिनको मुद्दालाई ‘बेलवेथर’ अर्थात् परीक्षण मुद्दाका रूपमा हेरिएको छ, जसको फैसला भविष्यमा सम्भावित सामूहिक सम्झौता वा समाधानका लागि अन्य मुद्दाको मूल्य निर्धारणमा प्रयोग हुन सक्छ।
मुद्दाको नतिजाले उबरको वित्तीय अवस्थामाथि असर पार्न सक्ने र यसको सुरक्षा रेकर्डलाई नजिकबाट हेर्दै आएका नियामक तथा लगानीकर्तासँगको सम्बन्ध जटिल बनाउन सक्ने अनुमान गरिएको छ।
उबरले भने आफ्ना प्लेटफर्म प्रयोग गर्ने चालकको आपराधिक क्रियाकलापका लागि आफू जिम्मेवार हुन नसक्ने दाबी गर्दै आएको छ। कम्पनीका अनुसार, पृष्ठभूमि जाँच र यौन दुर्व्यवहारसम्बन्धी विवरण सार्वजनिक गर्ने काम पर्याप्त छन्।
उबरले चालकहरू आफ्ना कर्मचारी नभई स्वतन्त्र ठेकेदार भएको बताउँदै आएको छ र उनीहरूको कानुनी हैसियत जे भए पनि, चालकको जिम्मेवारीको दायराबाहिर पर्ने कामका लागि कम्पनीलाई दोषी ठहर गर्न नमिल्ने तर्क गरेको छ।
डिनका प्रतिनिधिहरूले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेका छन्।
मुद्दा सुरु हुनुअघि जारी गरिएको विज्ञप्तिमा उबरका प्रवक्ताले यौन दुर्व्यवहारसम्बन्धी हरेक उजुरीलाई कम्पनीले गम्भीरतापूर्वक लिने र हानि रोक्न नयाँ प्रविधिमा लगानी जारी राखेको बताएका छन्। “सुरक्षा उबरको आधार हो, र प्लेटफर्ममा रहेका मानिसहरूको सुरक्षा गर्ने हाम्रो प्रतिबद्धता कहिल्यै रोकिने छैन,” प्रवक्ताले भने।
डिनले दायर गरेको मुद्दाअनुसार उनी मदिरा सेवनको अवस्थामा आफ्नो प्रेमीको घरबाट होटल जान उबर चालक बुक गरेकी थिइन्। मुद्दामा उल्लेख भएअनुसार यात्राका क्रममा चालकले हैरानीजनक प्रश्न सोधेका थिए र पछि गाडी रोकेर उनलाई बलात्कार गरेको आरोप लगाइएको छ।
संघीय अदालतका मुद्दाबाहेक उबर क्यालिफोर्निया राज्य अदालतमा पनि ५०० भन्दा बढी यस्ता मुद्दाको सामना गरिरहेको छ। क्यालिफोर्नियामा अहिलेसम्म भएको एकमात्र सुनुवाइमा, सेप्टेम्बरमा जूरीले यात्रुको सुरक्षाका लागि उबरले अपनाएका उपायमा लापरबाही भएको ठहर गरे पनि त्यो लापरबाहीले महिलालाई भएको हानिमा निर्णायक भूमिका खेलेन भनेर फैसला सुनाएको थियो।
उबरले यसअघि पनि चालक छनोटमा कमजोरी र यात्रु सुरक्षाभन्दा कम्पनीको वृद्धिलाई प्राथमिकता दिएको संस्कृतिको आरोपसहित विभिन्न सुरक्षा विवाद सामना गर्दै आएको छ।
पछिल्ला वर्षहरूमा उबरले सुरक्षालाई प्रमुख एजेन्डा बनाउँदै आएको छ। कम्पनीले अमेरिकाका सुरक्षा प्रतिवेदन सार्वजनिक गर्ने, एपभित्र यात्रा प्रमाणीकरण, भिडियो तथा अडियो रेकर्डिङ, असामान्य गतिविधि पहिचान गर्ने प्रणाली लागू गर्ने र पीडित सहायता समूहसँग सहकार्य गरी चालक तालिम सुधार गर्ने जस्ता कदम चालेको छ।
उबरको प्रतिस्पर्धी लिफ्ट पनि राज्य र संघीय अदालतमा यस्तै मुद्दाको सामना गरिरहेको छ, तर ती मुद्दालाई संघीय स्तरमा एकीकृत गरिएको छैन।
डिनको मुद्दामा सुनुवाइ ढिल्याउन उबरले प्रयास गरेको थियो।
कम्पनीले डिनका वकिलले “प्रत्येक करिब आठ मिनेटमा उबरलाई यौन अपराधको सूचना पुग्छ” भन्ने विज्ञापन अभियान चलाएर न्यायाधीश मण्डललाई प्रभावित बनाएको आरोप लगाएको थियो।
उबरले ती दाबी पूर्ण रूपमा गलत भएको जनाएको थियो। तर सामूहिक मुद्दाको निगरानी गरिरहेका र डिनको मुद्दा पनि सुन्ने अमेरिकी जिल्ला न्यायाधीश चार्ल्स ब्रेयरले उबरको माग अस्वीकार गर्दै मुद्दा अगाडि बढ्ने आदेश दिएका छन्।
प्रकाशित: २९ पुष २०८२, मंगलवार