नेपाली नानो स्याटेलाइट बोकेको भारतीय रकेट आफ्नो लक्षित बाटोबाट विचलित, स्याटेलाइटको अवस्था समेत अज्ञात

  • Technology Khabar | २८ पुष २०८२, सोमबार
नेपाली नानो स्याटेलाइट बोकेको भारतीय रकेट आफ्नो लक्षित बाटोबाट विचलित, स्याटेलाइटको अवस्था समेत अज्ञात

काठमाडौं ।

नेपाली विद्यार्थीहरूले तयार पारेको नानो स्याटेलाइट “मुनाल”लाई अन्तरिक्षमा लाने रकेट प्रक्षेपण असफल भएको आशंका गरिएको छ। उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो भूउपग्रह नेपालको अन्तरिक्ष प्रविधि विकास यात्रामा ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ।

उक्त नानो स्याटेलाइट भारतीय रकेटमार्फत अन्तरिक्षमा आज प्रक्षेपण हुनुपर्नेमा उक्त रकेट आफ्नो तोकिएको कक्षबाट बहिरिएसँगै प्रक्षेपण असफल भएको आशंका गरिएको हो।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरोले) ले वर्षको आफ्नो पहिलो अन्तरिक्ष अभियान लन्च गरेको हो । भारतीय समयअनुसार, जनवरी १२, २०२६ मा बिहान १०:१७ बजे श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट नेपालको मुनालसहित १६ ओटा अन्य भूउपग्रहहरू अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो। उक्त रकेटले नेपालसहित ब्राजिल, बेलायत, स्पेन, अमेरिकाका अन्य पेलोडहरु समेत बोकेको भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन्।

यद्यपि, पीएसएलभी-सी६२ (PSLV-C62) रकेट अन्तरिक्षमा आफ्नो लक्षित मार्गबाट ​​विचलित भएको इसरोले सामाजिक सञ्जाल एक्समार्फत घोषणा गरेको छ।

इसरो प्रमुख डा. वी. नारायणनले भने, “पहिलो र दोस्रो चरणको अन्त्यसम्म पीएसएलभी रकेटको प्रदर्शन सामान्य थियो। यद्यपि, तेस्रो चरणको अन्त्यमा रकेटको घुम्ने गतिमा थोरै गडबडी देखियो, त्यसपछि यो विचलित भयो। हामी डाटा विश्लेषण गरिरहेका छौं।”

यस बिचमा नेपाली नानो स्याटेलाइट कक्षमा पुग्यो कि पुगेन भन्ने कुनै अहिलेसम्म जानकारी छैन्।

यस विषयमा बुझ्नका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका सचिव डा रवीन्द्रप्रसाद ढकालसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल फोन अफ रहेको छ। नास्टका उपकुलपति प्राध्यापक डा. दिलिप सुब्बाका साथमा ढकालसमेत सोही प्रक्षेपणका लागि भारत गएको नास्टका एक कर्मचारीले जानकारी दिए।

पीएसएलभी रकेटको ६४ औं उडान

पीएसएलभीलाई विश्वको सबैभन्दा भरपर्दो प्रक्षेपण यानहरू मध्ये एक मानिन्छ। चन्द्रयान-१, मंगलयान, र आदित्य-एल १ जस्ता मिसनहरू यससँगै प्रक्षेपण गरिएको छ। यो समग्रमा पीएसएलभीको ६४ औं उडान पनि थियो। यो भारतको पृथ्वी अवलोकन भूउपग्रह निर्माण र प्रक्षेपण गर्ने नवौं व्यावसायिक अभियान हो।

यो भारतको निजी अन्तरिक्ष क्षेत्रको लागि महत्त्वपूर्ण मानिएको छ, किनकि यो पहिलो पटक कुनै भारतीय निजी कम्पनीले पीएसएलभी अभियानमा यति महत्त्वपूर्ण हिस्सेदारी लिएको छ। यो अभियान इसरोको व्यावसायिक शाखा न्यू स्पेस इन्डिया लिमिटेड (एनएसआईएल) द्वारा संचालित छ।

यस अभियानमा रक्षा अनुसन्धान र विकास संगठन (DRDO) द्वारा विकसित अन्वेषा भूउपग्रह पनि समावेश रहेको थियो। यो उन्नत इमेजिङ सुविधाहरूले सुसज्जित एक गुप्तचर भूउपग्रह हो, जुन सटीक निगरानी र नक्साङ्कनको लागि डिजाइन गरिएको हो।

भारतको पहिलो अर्बिटल एआई इमेजिङ उपग्रह एमओआई १ पनि यस अभियानको सबैभन्दा महत्त्वपूर्ण भूउपग्रह थियो। यो भारतको पहिलो अर्बिटल एआई इमेजिङ प्रयोगशाला हो, जुन हैदराबादमा आधारित स्टार्टअप कम्पनीहरू टेकमीटूस्पेस र इओन स्पेस ल्याबद्वारा विकसित गरिएको हो।

प्रकाशित: २८ पुष २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...