
काठमाडौं ।
डेलको एक्सपीएस १४ को मूल्य अब २,००० डलरभन्दा माथि पुगेको छ। एएमडीका एक कार्यकारीले यस वर्ष पर्सनल कम्प्युटर निर्माता कम्पनीहरूले पूरै नयाँ प्रणाली बनाउनुको साटो टुक्राटुक्रा रूपमा अपग्रेड गर्ने सम्भावना बढी रहेको बताएका छन्।
उता एनभिडिया र एएमडीका नयाँ एआई सुपरकम्प्युटरहरूले र्याम बजार ठूलो मात्रामा खपत गरिरहेका छन्। सीईएस २०२६ मा कम्प्युटिङ उद्योगका लागि चुनौतीपूर्ण वर्ष आउँदैछ भन्ने कुरा स्पष्ट देखिन्थ्यो, जसको असर उपभोक्ता वस्तुहरूमा मूल्य वृद्धि र सीमित उपलब्धताका रूपमा देखिन सक्छ।
वास्तवमा पछिल्ला केही महिनामा र्यामको मूल्य एकाएक बढेपछि अवस्था पहिल्यै स्पष्ट भइसकेको थियो। एआई डाटा सेन्टरबाट बढेको मागका कारण र्यामको मूल्य चर्किएको हो। सीईएसमा ब्लुमबर्गसँग कुरा गर्दै सामसुङका मार्केटिङ प्रमुख वोनजिन लीले भने, “सेमिकन्डक्टर आपूर्तिमा समस्या आउँदैछ, र यसले सबैलाई असर गर्नेछ। मूल्य अहिले नै बढिरहेका छन्।”
इन्ग्याजेटका अनुसार डेलका नयाँ एक्सपीएस १४ र एक्सपीएस १६ यी दबाबको असर देखिने प्रारम्भिक प्रणालीमध्ये पर्छन्। गत वर्षका मोडेलहरू क्रमशः १,६९९ र १,८९९ डलरबाट सुरु हुन्थे, र सुरुमा नयाँ मोडेल अझै सस्ता भएर १,६५० र १,८५० डलरबाट सुरु हुने भनिएको थियो।
तर पछि डेलले अप्रत्याशित मूल्य वृद्धि घोषणा गर्यो। अब एक्सपीएस १४ को सुरुआती मूल्य २,०५० डलर पुगेको छ भने एक्सपीएस १६ को २,२०० डलर पुगेको छ।
पहिलाका मोडेलहरूलाई २,००० डलरभन्दा माथि कन्फिगर गर्नु असामान्य थिएन, तर प्रवेश-स्तरका मोडेल नै त्यही मूल्यबाट सुरु हुनु अचम्मको कुरा भएको लेखकले उल्लेख गरेका छन्। यसैबीच, एप्पलले भने आफ्नो १४-इन्च म्याकबुक प्रोको १,५९९ डलरको मूल्यमा कुनै परिवर्तन गरेको छैन। यद्यपि, डेलको मूल्य अझै पनि २,४९९ डलर पर्ने १६-इन्च म्याकबुक प्रोभन्दा कम नै छ।
डेस्कटप बजारतर्फ एएमडीका कर्पोरेट उपाध्यक्ष तथा क्लाइन्ट च्यानल व्यवसायका महाप्रबन्धक डेभिड म्याकाफीले कम्पनीका एएम४ र एएम5 प्लेटफर्म लामो समयसम्म टिक्ने भएकाले गेमरहरूका लागि फाइदाजनक हुन सक्ने बताए। यसले नयाँ र्याम किट र मदरबोर्ड नकिनीकनै सीपीयू अपग्रेड गर्न सकिने भएकाले महँगो र्यामको असर कम गर्न मद्दत गर्छ।
उनले इन्ग्याजेट र अन्य सञ्चारमाध्यमसँगको समूह अन्तर्वार्तामा भने, “२०२६ मा पूर्ण प्रणाली परिवर्तनभन्दा बढी कम्पोनेन्ट अपग्रेड गर्ने प्रवृत्ति देखिन सक्छ। अहिले पनि धेरै गेमर प्लेटफर्ममा २६०० जस्ता पुराना पिनाकल रिज वा ३००० सिरिजका सीपीयू चलिरहेका छन्। त्यही एएम४ सकेट र मदरबोर्डमा ५००० सिरिजका प्रोसेसरमा जानु नै ठूलो सुधार हो।”
र्याम बजारको अस्थिरता नहुँदा पनि म्याकाफीका अनुसार अहिले पनि एएमडीको करिब ३० देखि ४० प्रतिशत व्यवसाय एएम४ प्लेटफर्ममै आधारित छ।
जीपीयू मूल्य वृद्धि सम्भावनाबारे सोध्दा उनले भने, “र्याम मूल्यको असर नपर्ने कुनै पनि उत्पादन छैन। पछिल्ला दुई महिनामा देखिएको अस्थिरता अभूतपूर्व नै हो।”
उनले आगामी तीनदेखि ६ महिनाभित्र मूल्यहरू स्थिर हुने अपेक्षा व्यक्त गरे, तर त्यसको कारणबारे थप बताएनन्। साथै, उनले थ्रीडी भी-क्याश भएको एएमडीका एक्सथ्रीडी चिपहरू ढिलो र्यामबाट धेरै प्रभावित नहुने पनि उल्लेख गरे। एल२ र एल३ क्यासको ठूलो मात्रा भएकाले कम आदर्श मेमोरी गतिको असर कम हुने उनको भनाइ थियो।
म्याकाफीले र्यामको अवस्थाबारे खुलेर बोल्नु उल्लेखनीय मानिएको छ। सीईएस अघि सोधिएका डेल र एसरसहित कुनै पनि पीसी निर्माताले मेमोरी उद्योगको अस्थिर अवस्थाबारे टिप्पणी गर्न मानेका थिएनन्। सम्भवतः उनीहरू नयाँ प्रणालीको मूल्य निर्धारण गर्नु अघि अवस्था शान्त हुने अपेक्षामा थिए। अन्ततः, उनीहरू सीमित हुँदै गएको र्याम आपूर्तिमै निर्भर छन्।
सीईएसमा देखिएको अर्को महत्वपूर्ण प्रश्न भनेको सबै र्याम कहाँ जाँदैछ भन्ने हो। एनभिडियाले आफ्नो नयाँ भेरा रुबिन एआई सुपरकम्प्युटर घोषणा गर्यो, जसले ३६ वटा भेरा सीपीयू मार्फत ५४ टेराबाइटसम्म र्याम र ७२ वटा जीपीयू मार्फत २०.७ टेराबाइट मेमोरी समर्थन गर्छ।
एएमडीले पनि ७२ वटा एएमडी इन्स्टिङ्ट एङ्गआई४५५एक्स जीपीयू सहित ३१ टेराबाइटसम्म मेमोरी समर्थन गर्ने हेलिअस एआई र्याक घोषणा गर्यो। एआई मोडेल निर्माण र इन्फरेन्सिङका लागि बढ्दो कम्प्युटिङ मागलाई हेर्दा यस्ता विशाल प्रणालीप्रति माग अझै उच्च रहने देखिन्छ।
प्रकाशित: २८ पुष २०८२, सोमबार