लुम्बिनीमा पहिलोपटक ‘लुम्बिनी टेक मन्थ’: एक महिनाभरि विविध आईटी वर्कशप आयोजना हुने

  • Technology Khabar | २८ पुष २०८२, सोमबार
लुम्बिनीमा पहिलोपटक ‘लुम्बिनी टेक मन्थ’: एक महिनाभरि विविध आईटी वर्कशप आयोजना हुने

काठमाडौं ।

सीएसआईटी एसोसियशन अफ बुटवल मल्टिपल क्याम्पसले प्रविधि, युवा सीप विकास र व्यक्तित्व विकासमा केन्द्रित रहेर विभिन्न गतिविधिहरू समावेश गरी लुम्बिनी प्रदेश क्षेत्रमा पहिलोपटक एक महिना लामो आईटी वर्कशप, लुम्बिनी टेक मन्थ २०८२ आयोजना गर्न लागेको छ।

कार्यक्रममा कोड वीक, नो कोड वीक र पर्सनल डेभलपमेन्ट वीक सञ्चालन हुनेछन्। कोड वीकमा प्रोग्रामिङ र डिजिटल प्रविधिसम्बन्धी तालिम रहनेछन् भने नो कोड वीकमा कोडिङ नलेज नचाहिने अन्य टुल्सहरुमार्फत डिजिटल समाधानको खोजी र विकाससम्बन्धी सेसनहरू हुनेछन्।

पर्सनल डेभलपमेन्ट वीकमा करियर गाइडिङ, नेतृत्व विकास, सार्वजनिकरुपमा बोल्ने कला तथा व्यक्तित्व विकाससम्बन्धी कार्यक्रमहरू समावेश हुने जनाइएको छ।

यसै क्रममा सहभागीहरूको लागि टेक ट्रेजर हन्ट पनि आयोजना हुनेछ। योसँगै यस महिनापछि डाटा फेलोशिप प्रोग्राम पनि आयोजना गरिने छ जस अन्तर्गत डाटाक्याम्प र डाटाक्याम्प डोनेट को सहकार्यमा उत्कृट १०० सहभागी विद्यार्थीहरु लाई निःशुल्क छात्रवृत्ति प्रदान गरिनेछ।

कार्यक्रममा देशका उत्कृष्ट विद्यार्थीहरू सहभागी हुने अनुमान गरिएको छ भने आयोजकहरूले उच्च स्तरीय तालिम र प्राविधिक सेसनको व्यवस्था गरी विद्यार्थी र युवालाई प्रविधि तथा नवप्रवर्तनतर्फ आकर्षित गर्ने प्रयास गरेको जनाइएको छ।

यो कार्यक्रम बुटवल बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको संघ सीएसआईटी एसोसियशन अफ बीएमसीद्वारा आयोजना गर्न लागिएको हो भने यस कार्यक्रमको शीर्ष प्रायोजक डीयरहाइभ टेक्नोलोजिज र सह(प्रायोजकको रूपमा आरएनडीहाइभ रहेको जनाइएको छ।

एजुकेशन पार्टनरको रूपमा गिटहब एजुकेशन र डाटाक्याम्प रहेको छन् भने यस कार्यक्रमको संरक्षकको रूपमा तिलोत्तमा नगरपालिका रहेको जनाइएको छ।

कार्यक्रम सुरुको तीन हप्ता अनलाइन माध्यमबाट अनलाइन वर्कशप सञ्चालन हुनेछ भने एक हप्ता भौतिक रुपमा उमाई गार्डेन रिसोर्टमा सञ्चालन गर्न लागिएको छ।

कार्यक्रमको समापन समारोहमा विभिन्न क्ष्त् कम्पनी तथा कार्यक्षेत्रका विज्ञहरूद्वारा स्पिकिङ सेसन सञ्चालन गरिनेछ। साथै त्रिभुवन विश्वविद्यालयका डिन तथा प्रध्यापकहरू र उद्योगका विज्ञबीच पाठ्यक्रम र वास्तविक कार्यक्षेत्रबीचको अन्तरबारे अन्तरक्रिया साथै चर्चा गर्ने प्यानल डिस्कसन समेत आयोजना गरिनेछ।

कार्यक्रमसम्बन्धी थप विवरण र दर्ता प्रक्रिया https://techmonth.csitabmc.com/ मार्फत उपलब्ध रहेको जनाइएको छ।

 

प्रकाशित: २८ पुष २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार