इन्डोनेसियाले यौनिक डिपफेकका कारण ग्रोकमा पहुँच रोक्यो

  • Technology Khabar | २८ पुष २०८२, सोमबार
इन्डोनेसियाले यौनिक डिपफेकका कारण ग्रोकमा पहुँच रोक्यो

काठमाडौं ।

इन्डोनेसियाली अधिकारीहरूले शनिबार एक्सएआईको च्याटबोट ग्रोकमा पहुँच अस्थायी रूपमा अवरुद्ध गरेको बताएका छन्। सरकारी अधिकारीहरूले यौनिक, एआई-बाट बनाइएका तस्बिरहरूको बाढीप्रति प्रतिक्रिया जनाउँदै अहिलेसम्मकै कडा कदममध्ये यो एक हो।

यस्ता सामग्री ग्रोकले सामाजिक सञ्जाल एक्समा प्रयोगकर्ताको अनुरोधमा पोस्ट गरेको बताइएको छ, जसमा प्रायः वास्तविक महिलाहरू र नाबालकहरूलाई देखाइन्छ र कतिपयमा आक्रमण तथा दुरुपयोगसमेत देखाइन्छ। (एक्स र एक्सएआई एउटै कम्पनीअन्तर्गत पर्छन्।)

गार्डियनसहितका सञ्चारमाध्यमसँग साझा गरिएको विज्ञप्तिमा इन्डोनेसियाकी सञ्चार तथा डिजिटल मन्त्री मेउत्या हाफिदले भनिन्, “सरकारले गैर-सहमतिको यौनिक डिपफेकलाई मानव अधिकार, मर्यादा र डिजिटल क्षेत्रमा नागरिकको सुरक्षामाथिको गम्भीर उल्लङ्घनका रूपमा हेर्छ।”

मन्त्रालयले यस विषयमा छलफल गर्न एक्स का अधिकारीहरूलाई बोलाएको पनि बताइएको छ।

टेकक्रञ्चका अनुसार गत एक सातामा विभिन्न सरकारहरूको प्रतिक्रिया फरक-फरक देखिएको छ। भारतको आईटी मन्त्रालयले ग्रोकबाट अश्लील सामग्री उत्पादन हुन नदिन एक्सएआई लाई कदम चाल्न आदेश दिएको छ। युरोपेली आयोगले ग्रोक सम्बन्धी सबै कागजात सुरक्षित राख्न कम्पनीलाई निर्देशन दिएको छ, जसले सम्भावित अनुसन्धानको संकेत गरेको छ।

संयुक्त अधिराज्यमा सञ्चार नियामक अफकमले “अनुसन्धान आवश्यक पर्न सक्ने सम्भावित अनुपालन समस्याहरू छन् कि छैनन् भनेर छिटो मूल्याङ्कन गर्ने” बताएको छ। प्रधानमन्त्री केयर स्टार्मरले एक अन्तर्वार्तामा अफकमलाई कारबाही गर्न “पूर्ण समर्थन” रहेको बताएका छन्।

अमेरिकामा भने ट्रम्प प्रशासन यस विषयमा मौन देखिएको छ। एक्सएआईका सीईओ एलन मस्क ट्रम्पका प्रमुख दाता हुन् र उनले गत वर्ष प्रशासनको विवादास्पद ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी’ नेतृत्व गरेका थिए। यता डेमोक्र्याटिक सिनेटरहरूले एप्पल र गुगललाई एक्स लाई आफ्ना एप स्टोरबाट हटाउन आग्रह गरेका छन्।

एक्सएआई ले सुरुमा ग्रोक खातामार्फत पहिलो-व्यक्ति शैलीको माफी पोस्ट गर्दै उक्त पोस्टले बाल यौन दुर्व्यवहार सामग्रीसम्बन्धी “नैतिक मापदण्ड र सम्भवतः अमेरिकी कानुन” उल्लङ्घन गरेको स्वीकार गरेको थियो।

त्यसपछि एक्समा एआई तस्बिर-निर्माण सुविधा भुक्तानी गर्ने प्रयोगकर्तामा सीमित गरियो, तर ग्रोक एपमा भने यो प्रतिबन्ध लागू नभएको र जो-कोहीले तस्बिर बनाउन सक्ने अवस्था कायम रहेको बताइएको छ।

बेलायत सरकारले अन्य एआई तस्बिर-निर्माण उपकरणविरुद्ध किन कारबाही नगरेको भन्ने पोस्टको जवाफमा मस्कले लेखेका छन्, “उनीहरूलाई सेन्सरशिपका लागि जे पनि बहाना चाहिएको छ।”

प्रकाशित: २८ पुष २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...