गत वर्ष बेलायतका प्रयोगकर्ताले स्ट्रिमिङ मनोरञ्जनमा खर्च गरे १३ अर्ब पाउन्ड

  • Technology Khabar | २७ पुष २०८२, आईतवार
गत वर्ष बेलायतका प्रयोगकर्ताले स्ट्रिमिङ मनोरञ्जनमा खर्च गरे १३ अर्ब पाउन्ड
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

बेलायतका प्रयोगकर्ताले स्ट्रिमिङ मनोरञ्जनमा १३ अर्ब पाउन्ड खर्च गरेका छन्। इन्टरटेनमेन्ट रिटेलर्स एसोसिएसन (ईआरए) ले सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार बेलायतमा गत वर्ष संगीत, खेल र भिडियोसम्बन्धी स्ट्रिमिङ सेवा तथा रिटेलरहरूले कुल १३.३ अर्ब पाउन्ड आम्दानी गरेका छन्। यो बजारका लागि अहिलेसम्मकै उच्च कीर्तिमान हो।

यो आम्दानी २०२४ को तुलनामा ७.१ प्रतिशतले बढेको हो। यो वृद्धि दर अघिल्लो वर्षको ३.३ प्रतिशतभन्दा दोब्बरभन्दा बढी हो। सन् २०२० मा कोभिड–१९ महामारीका कारण २४ प्रतिशतभन्दा बढी वृद्धि भएकोपछि यो सबैभन्दा ठूलो वार्षिक वृद्धि हो।

यसले स्ट्रिमिङ मनोरञ्जन सेवा प्रदायकहरू राम्रो गरिरहेका छन् भन्ने मात्र होइन, नेटवर्क लगानीका विषयमा बेलायतका टेलिकम अपरेटरहरू पनि ढुक्क बस्न नहुने देखाउँछ।

ईआरएका अनुसार स्ट्रिमिङ मनोरञ्जनबाट आएको आम्दानी वृद्धि सन् २०२५ का लागि बेलायतको बजेट उत्तरदायित्व कार्यालयले अनुमान गरेको १.५ प्रतिशत जीडीपी वृद्धिभन्दा चार गुणाभन्दा बढी हो। पछिल्लो १० वर्षमा मनोरञ्जन बिक्री १२० प्रतिशतभन्दा बढीले बढेको छ भने सोही अवधिमा बेलायती अर्थतन्त्र केवल १२ प्रतिशतले मात्र बढेको छ।

ईआरएकी प्रमुख कार्यकारी किम बेलेले प्रविधि, लगानी र नवप्रवर्तनको संयोजनका कारण स्ट्रिमिङ सेवाले मनोरञ्जन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याएको बताइन्। उनले कठिन आर्थिक अवस्थाबीच पनि स्ट्रिमिङ सेवा र रिटेलरहरूले उपभोक्ता खर्चको ठूलो हिस्सा लिन सफल भएको र यसले संगीतकार, फिल्म निर्माता तथा गेम डेभलपरका लागि आम्दानी बढाएको भनिन्।

भिडियो बजारको सबैभन्दा ठूलो खण्ड बनेको छ। यसले ८ प्रतिशत वृद्धिसँगै ५.४४ अर्ब पाउन्ड आम्दानी गरेको छ। कुल आम्दानीमध्ये ४.९ अर्ब पाउन्ड भिडियो–अन–डिमान्ड स्ट्रिमिङ सेवाबाट आएको ईआरए ले जनाएको छ।

फिल्म डाउनलोडबाट आम्दानी २०२ मिलियन पाउन्ड पुगेको छ भने डीभीडी र ब्लु–रेजस्ता भौतिक भिडियो बिक्री ८ प्रतिशतले घटेर १४८.९ मिलियन पाउन्डमा झरेको छ। तर यो गिरावट दर २०१० यताकै सबैभन्दा कम हो।

ईआरए का अनुसार स्ट्रिमिङ कम्पनीहरूको लगानी र नवप्रवर्तनका कारण भिडियो व्यवसाय सन् २००४ को डीभीडी बजार उत्कर्षकालको तुलनामा झन्डै दोब्बर आकारको भएको छ।

खेल (गेम्स) खण्ड पनि भिडियोभन्दा धेरै पछि छैन। यसले ५.३७ अर्ब पाउन्ड आम्दानी गरेको छ, जुन ७.४ प्रतिशत वृद्धि हो र २०२० यताकै सबैभन्दा छिटो वृद्धि दर हो। मोबाइल र ट्याब्लेट गेम्सबाट आम्दानी ८.८ प्रतिशतले बढेर १.८८ अर्ब पाउन्ड पुगेको छ।

कन्सोल गेम डाउनलोड ११.५ प्रतिशतले बढेर ८५७.६ मिलियन पाउन्ड पुगेको छ भने भौतिक कन्सोल गेम बिक्री १ प्रतिशतले घटेर करिब ३१९ मिलियन पाउन्डमा झरेको छ।

ईआरए ले गेम्सलाई मनोरञ्जन क्षेत्रमा पहुँचभन्दा स्वामित्वमा आधारित अन्तिम ठूलो क्षेत्रका रूपमा वर्णन गरेको छ। कुल गेम आम्दानीमध्ये ४५ प्रतिशत प्रयोगकर्ताले किनेका गेम्सबाट आउँछ, जबकि संगीतमा यो अनुपात १६.६ प्रतिशत र भिडियोमा ७.२ प्रतिशत मात्र रहेको टेलिकम्स डटकमले उल्लेख गरेको छ।

संगीत क्षेत्रले २.४५ अर्ब पाउन्ड आम्दानी गर्दै ४.२ प्रतिशत वृद्धि दर्ता गरेको छ। यसमध्ये २ अर्ब पाउन्डभन्दा बढी स्ट्रिमिङ सदस्यताबाट आएको हो। भौतिक संगीत बिक्री भने ११.५ प्रतिशतले बढेर ३६८.१ मिलियन पाउन्ड पुगेको छ, जसले बजारमा १५ प्रतिशत हिस्सा ओगटेको छ, जुन सन् २०२१ यताकै उच्च हो।

प्रकाशित: २७ पुष २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार