चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणनामा राखिएका सातवटा क्यामरामा क्षति

  • Technology Khabar | २५ पुष २०८२, शुक्रबार
चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणनामा राखिएका सातवटा क्यामरामा क्षति
च्याटजीपीटीमार्फत् निर्मित सांकेतिक तस्बिर

काठमाडौं ।

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका सातवटा क्यामरामा क्षति पुगेको छ।  पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणनाका क्रममा राखिएका पाँच क्यामरा हराएका छन् भने दुई क्यामरा हात्तीले फुटाएको हो।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार बाघ गणनामा राखिएका क्यामेरामध्ये तीन थुम्सी क्षेत्रमा र दुईवटा तमासपुर क्षेत्रमा राखिएका क्यामरा हराएका हुन्। टाइगर टप्स क्षेत्रमा रहेका दुई क्यामेर हात्तीले फुटाएको उनले बताए। करिब २८६ ग्रिडमा क्यामरा राखेर बाघ गणना गरिएको थियो।

मगरका अनुसार पहिलो भागको गणनाको काम सकेर क्यामरा उठाउने क्रममा तीन स्थानमा राखिएका क्यामरा हराएको र हात्तीले क्षति पु¥याएको हो।

चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर बाघ गणना सुरु गरिएको छ। उनका अनुसार त्रिवेणी, अमलटारी, कसरा हुँदै बरणडाभार क्षेत्रलाई पहिलो भाग बनाएर गणना गरिएको थियो।

अहिले दोस्रो भागमा बाघ गणनाको कार्य सुरु गरिएको छ। दोस्रो भागमा १३ वटा क्याम्प बनाएर गणकहरु खटिएका छन्। यस भागअन्तर्गत सौराहा, खगेन्द्रमल्ली हुँदै लोथर प्रतापपुर र हर्दासम्म, बोटे सिमारा, स्वमेश्वर, बगई, अम्बुवा हुँदै शिकारी बाससम्मको क्षेत्रमा क्यामेरा जडान गरेर गणना गरिएको छ।

सो भागलाई ३३६ ग्रिडमा विभाजन गरेर बाघ गणना गरिएको छ। गणनामा १५० गणक खटिएका छन्। थापाका अनुसार एउटा भागमा दुई साता क्यामरा राखेर बाघ गणना गरिने छ।

चितवन–पर्सा ब्लकमा ९५८ ग्रिड बनाएर बाघ गणना गरिँदै छ। यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो। सो गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ बाघ भेटिएका थिए।-रासस

प्रकाशित: २५ पुष २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार