
काठमाडौं ।
एप्पलले बुधबार जेपीमोर्गन चेजलाई एप्पल कार्डको नयाँ जारीकर्ता बनाएको घोषणा गरेको छ। यससँगै गोल्डम्यान शाख्सको स्थान JPMorgan Chase ले लिनेछ। एप्पलका अनुसार यो परिवर्तन प्रक्रिया पूरा हुन करिब २४ महिना लाग्न सक्छ।
बैंकिङ साझेदार फेरिए पनि एप्पल कार्डले भुक्तानीका लागि मास्टरकार्ड नेटवर्क नै प्रयोग गर्नेछ। उपभोक्ताका लागि हालका लागि कुनै परिवर्तन नहुने एप्पलले जनाएको छ। नयाँ कार्डका लागि आवेदन दिने प्रयोगकर्ताका हकमा पनि अहिले केही फरक पर्दैन।
जेपीमोर्गनका अनुसार यस सम्झौतामार्फत २० अर्ब डलरभन्दा बढी कार्ड ब्यालेन्स चेजमा सर्नेछ। वालस्ट्रीट जर्नलका अनुसार गोल्डम्यान शाख्सले यो ब्यालेन्स करिब १ अर्ब डलर घाटामा हस्तान्तरण गर्दैछ।
टेकक्रञ्चका अनुसार गोल्डम्यान शाख्सले सन् २०२५ को चौथो त्रैमासिकका लागि अग्रिम खरिद प्रतिबद्धतासँग सम्बन्धित क्रेडिट घाटाका कारण २ अर्ब २० करोड डलर बराबरको प्रावधान राख्ने अपेक्षा गरेको छ।
एप्पल र गोल्डम्यान शाख्स बीचको साझेदारी अन्त्य हुने चर्चा केही वर्षदेखि चलिरहेको थियो। गत वर्ष वाल स्ट्रीट जर्नलले जेपीमोर्गन एप्पलको नयाँ साझेदार बन्ने सम्भावना रहेको रिपोर्ट गरेको थियो।
एप्पलले सन् २०१९ मा गोल्डम्यान शाख्ससँग साझेदारी गरेर एप्पल कार्ड सार्वजनिक गरेको थियो। यस कार्डमा ढिला शुल्क वा जरिवाना ब्याजदर लाग्दैन। एप्पल कार्डले एप्पल र केही छानिएका साझेदारबाट गरिएको खरिदमा ३ प्रतिशतसम्म दैनिक क्यासब्याक दिन्छ। एप्पल पे प्रयोग गर्दा २ प्रतिशत र भौतिक कार्ड प्रयोग गर्दा १ प्रतिशत क्यासब्याक पाइन्छ।
प्रकाशित: २५ पुष २०८२, शुक्रबार