आर्म होल्डिङ्सले सुरु गर्यो ‘फिजिकल एआई’ नामको नयाँ युनिट

  • Technology Khabar | २५ पुष २०८२, शुक्रबार
आर्म होल्डिङ्सले सुरु गर्यो ‘फिजिकल एआई’ नामको नयाँ युनिट
तस्बिर: रोयटर्स

काठमाडौं ।

चिप प्रविधि कम्पनी आर्म होल्डिङ्सले रोबोटिक्स बजारमा आफ्नो उपस्थिति विस्तार गर्न ‘फिजिकल एआई’ नामको नयाँ युनिट सुरु गरेको छ। कन्जुमर इलेक्ट्रोनिक्स शो सीईएसमा रोबोटलाई यस वर्षको मुख्य विषय बनाइएका बेला कम्पनीका अधिकारीहरूले यो जानकारी दिएका हुन्।

रोबोटिक्समा केन्द्रित नयाँ युनिट बनाउने निर्णय सीईएसमा मानवरूपी रोबोटसँग सम्बन्धित गतिविधि र घोषणाहरू तीव्र बनेको समयमा आएको हो। लस भेगासमा भइरहेको यस ठूलो प्रविधि प्रदर्शनीमा ठूला र साना कम्पनीहरूले कार बनाउने, शौचालय सफा गर्ने र पोकर खेल बाँड्ने जस्ता काम गर्न सक्ने रोबोटहरू प्रदर्शन गरेका छन्, यद्यपि ती रोबोटहरूको गति निकै ढिलो देखिएको छ।

रोयटर्सका अनुसार आर्म ले कम्पनीको पुनर्संरचना गर्दै पहिलोपटक ‘फिजिकल एआई’ युनिट बनाएको हो। अब आर्म ले तीनवटा मुख्य व्यवसायिक क्षेत्रमा काम गर्नेछ—क्लाउड एण्ड एआई, एज (जसमा मोबाइल र पीसी उत्पादन पर्छन्) र फिजिकल एआई, जसअन्तर्गत यसको अटोमोटिभ व्यवसाय रहनेछ।

फिजिकल एआई को केन्द्रमा रोबोट र अटोमोबाइल रहनेछन्, किनभने यी दुवैले सेन्सर प्रविधि र अन्य हार्डवेयर धेरै हदसम्म साझा गर्छन्। टेस्लाजस्ता अटोमेकरहरूले गोदाम र कारखानाका काम स्वचालित बनाउन रोबोट विकास गरिरहेका छन्।

बेलायतमा आधारित आर्मले आफैं चिप बनाउँदैन। यसले स्मार्टफोन, ल्यापटप र डाटा सेन्टर चिपमा प्रयोग हुने आधारभूत प्रविधि उपलब्ध गराउँछ। कम्पनीले आफ्ना डिजाइन प्रयोग गर्दा लाइसेन्स शुल्क र रोयल्टीबाट आम्दानी गर्छ।

फिजिकल एआईमा बढाइएको ध्यान कम्पनीको समग्र व्यवसाय विस्तार रणनीतिको हिस्सा हो। करिब चार वर्षअघि सीईओ बनेका रेने हासपछि आर्मले नयाँ प्रविधिको मूल्य बढाउने उपाय विकास गरेको छ र आफ्नै पूर्ण चिप डिजाइन बनाउने विषयमा पनि विचार गरिरहेको छ।

नयाँ युनिटका प्रमुख ड्र्यु हेन्रीका अनुसार फिजिकल एआई समाधानले “कामलाई आधारभूत रूपमा सुधार गर्न, अतिरिक्त समय बचत गर्न” मद्दत गर्न सक्छ र यसले कुल गार्हस्थ उत्पादनमा पनि उल्लेखनीय प्रभाव पार्न सक्छ। आर्म का मुख्य मार्केटिङ अधिकृत आमी बदानीका अनुसार यो युनिटमा रोबोटिक्सका लागि समर्पित कर्मचारी थपिनेछन्।

अटोमोटिभ र रोबोटिक्सलाई एउटै युनिटमा राख्नुको कारण शक्ति खपत, सुरक्षा र विश्वसनीयताजस्ता ग्राहक आवश्यकताहरू दुवै क्षेत्रमा समान हुनु हो। केही अटोमेकरहरू मानवरूपी रोबोटिक्सतर्फ पनि अघि बढिरहेका छन्।

ग्राहकबारे सोध्दा हेन्रीले भने, “हामी सबैसँग काम गर्छौं।” आर्म आधारित चिप विश्वभर दर्जनौँ अटोमेकर र हुण्डाईको स्वामित्वमा रहेको बोस्टन डाइनामिक्सजस्ता रोबोटिक्स कम्पनीले प्रयोग गरिरहेका छन्।

बोस्टन डाइनामिक्स र हुण्डाईले हालै उत्पादनका लागि तयार एटलस मानवरूपी रोबोट सार्वजनिक गरेका छन्, जसलाई कोरियाली अटोमेकरले सन् २०२८ देखि अमेरिकाका कारखानामा प्रयोग गर्न थाल्ने जनाएको छ।

प्रकाशित: २५ पुष २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार