
काठमाडौं ।
नासाको स्फियरएक्स टेलिस्कोपले ब्रह्माण्डको पहिलो पूर्ण आकाश नक्सा सार्वजनिक गरेको छ। यस नक्सामा १०० भन्दा बढी इन्फ्रारेड अवलोकनलाई जोडेर एउटै ठूलो नक्सा बनाइएको छ।
अन्तरिक्ष अवलोकन सुरु गरेको करिब ६ महिनापछि स्फियरएक्सले सम्पूर्ण आकाश समेटिएको पहिलो मोजाइक नक्सा सार्वजनिक गरेको हो। यो नक्सा स्फियरएक्सबाट अपेक्षित कम्तीमा चारवटा पूर्ण आकाश नक्सामध्ये पहिलो हो। १०० भन्दा बढी छुट्टाछुट्टै तस्बिरलाई जोडेर बनाइएको यस नक्साले रातको आकाशबारे अहिलेसम्मकै धेरै विस्तृत जानकारी दिने नासाको भनाइ छ।
नासाको वाशिङ्टनस्थित मुख्यालयमा रहेको खगोलभौतिकी विभागका कार्यवाहक निर्देशक शोन डोमागल–गोल्डम्यानले विज्ञप्तिमा भनेका छन्, “छ महिनामै स्फियरएक्सले संकलन गरेको जानकारी अचम्मलाग्दो छ। अन्य नासा मिसनका डाटासँग जोडेर प्रयोग गर्दा यसले हाम्रो ब्रह्माण्डलाई अझ राम्रोसँग बुझ्न मद्दत गर्नेछ।”
उनका अनुसार “हरेक खगोलविद्ले यसमा उपयोगी कुरा भेट्नेछन्,” र नासाका मिसनहरूले ब्रह्माण्ड कसरी सुरु भयो र कसरी परिवर्तन हुँदै आजको अवस्था आयो भन्ने आधारभूत प्रश्नको उत्तर खोज्न सहयोग गरिरहेका छन्।
लाइभसाइन्सका अनुसार स्फियरएक्सको पूरा नाम ‘स्पेक्ट्रो-फोटोमिटर फर द हिस्ट्री अफ द युनिभर्स, इपोक अफ द रिआयोनाइजेशन, एण्ड आइसेज एक्सप्लोरर’ हो। आकार र लागतका हिसाबले सानो भए पनि यो टेलिस्कोप ब्रह्माण्डको सुरुवाती विस्तारदेखि ग्रहहरूमा जीवनको सम्भावना बनाउने हिउँजस्ता पदार्थको अध्ययनसम्मका ठूला रहस्य बुझ्नका लागि बनाइएको हो।
स्फियरएक्सको मुख्य विशेषता यसको व्यापक दृश्य क्षमता हो। यसले प्रत्येक छ महिनामा सम्पूर्ण आकाश अवलोकन गर्छ र आउने प्रकाशलाई मानव आँखाले नदेख्ने १०२ वटा फरक–फरक इन्फ्रारेड तरंगलम्बाईमा विभाजन गर्छ।
डिसेम्बर २०२५ मा सार्वजनिक गरिएको पहिलो नक्साले करोडौँ आकाशगंगाको त्रि–आयामिक स्थिति देखाउन र तारा, धुलो तथा अन्य खगोलीय वस्तुको विस्तृत अध्ययन गर्न सहयोग गर्नेछ।
डोमागल–गोल्डम्यानका अनुसार, “हामीसँग सम्पूर्ण आकाशका १०२ वटा नयाँ नक्सा छन्, प्रत्येक फरक तरंगदैर्ध्यमा, जसमा देखिने वस्तुहरूबारे छुट्टै जानकारी छ।”
स्फियरएक्स सन् २०२५ मार्च १२ मा प्रक्षेपण गरिएको थियो र एक महिनाभित्रै ब्रह्माण्ड अवलोकन सुरु गरेको थियो। यसको पहिलो तस्बिरमै एक लाखभन्दा बढी आकाशगंगा र तारा देखिएका थिए, जसले यान अपेक्षित रूपमा काम गरिरहेको पुष्टि गरेको थियो।
दुई वर्षे योजनाबद्ध मिसनअन्तर्गत ४८८ मिलियन डलर लागतको यो टेलिस्कोपले प्रत्येक छ महिनामा सम्पूर्ण आकाश स्क्यान गर्नेछ र ४५ करोडभन्दा बढी आकाशगंगाबाट डाटा संकलन गर्नेछ। नासाका अनुसार स्फियरएक्सले दैनिक करिब ३ हजार ६ सय तस्बिर खिच्नेछ, र प्रत्येक नयाँ आकाश नक्सा अघिल्लो नक्सामाथि थपिँदै झन् धमिलो खगोलीय विवरण देखाउनेछ।
स्फियरएक्सकी उप–परियोजना प्रबन्धक बेथ फाबिन्स्कीले “छोटो समयमा यति धेरै जानकारी संकलन गर्नु अद्भुत हो,” भन्दै यसलाई धेरै रंग देख्न सक्ने क्षमताका कारण “टेलिस्कोपहरूको म्यान्टिस श्रिम्प” जस्तै भनेकी छन्।
स्फियरएक्सको मुख्य वैज्ञानिक लक्ष्यहरूमध्ये एक ब्रह्माण्डीय ‘इन्फ्लेसन’ अध्ययन गर्नु हो। यो बिग बैङ्गपछि एकदमै छोटो समयमा भएको तीव्र विस्तार हो, जसले ब्रह्माण्डलाई समथर बनायो र आज आकाशगंगा कसरी फैलिएका छन् भन्नेमा प्रभाव पार्ने सूक्ष्म ढाँचाहरू छोड्यो। यस्ता ढाँचाको ठूलो स्तरमा अध्ययन गरेर ब्रह्माण्डको प्रारम्भिक विकासका भौतिक नियमबारे वैज्ञानिकले थप जानकारी पाउने अपेक्षा गरिएको छ।
यसका साथै स्फियरएक्सले मिल्की वे आकाशगंगाभित्र ग्यास र धुलोका ठूला बादल अध्ययन गरेर पानी, कार्बन डाइअक्साइड र अन्य जमेको पदार्थले ढाकिएका कण खोज्नेछ, जसले ग्रह र सम्भावित जीवनको आधार तयार गरेको हुन सक्छ।
तर स्फियरएक्सले काम गरिरहँदा अन्तरिक्ष अवलोकनमा अर्को चुनौती पनि बढ्दो छ। हालै नेचर जर्नलमा प्रकाशित अध्ययनअनुसार भविष्यमा कक्षामा रहने ठूलो संख्याका उपग्रहका कारण स्फियरएक्स, हबल स्पेस टेलिस्कोप तथा अन्य योजनाबद्ध अन्तरिक्ष वेधशालाका ९६ प्रतिशतभन्दा बढी तस्बिर प्रभावित हुन सक्छन्।
स्फियरएक्सको प्रत्येक तस्बिर पूर्ण चन्द्रमाभन्दा करिब २०० गुणा ठूलो आकाश क्षेत्र समेट्ने भएकाले, प्रायः हरेक तस्बिरमा गुडिरहेको उपग्रहको रेखा देखिन सक्ने अध्ययनले देखाएको छ। अहिले करिब १५ हजार उपग्रह रहेकामा सन् २०३० को अन्त्यसम्म यो संख्या १० लाख पुग्न सक्ने अनुमान गरिएको छ।
खगोलविद्हरूले एक पटक धमिलो खगोलीय संकेत ढाकिएपछि हराएको वैज्ञानिक जानकारी पूर्ण रूपमा फिर्ता ल्याउन नसकिने भएकाले यसको असर दीर्घकालीन हुन सक्ने चेतावनी दिएका छन्।
प्रकाशित: २५ पुष २०८२, शुक्रबार