
काठमाडौं ।
इटलीको टेलिकम कम्पनी टेलिकम इटालिया मोबाइल (टीआईएम) र फास्टवेब+भोडाफोनले फाइभजी नेटवर्क विस्तारका लागि आरएएन र्यान अर्थात् रेडियो फ्रिक्वेन्सी नेटवर्क साझेदारी सम्झौता गरेका छन्। यस सम्झौताले कम जनघनत्व भएका क्षेत्रमा फाइभजी कभरेज बढाउन र लागत घटाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
दुवै कम्पनीले बुधबार साझेदारीको घोषणा गरेका हुन्। तर सम्झौताका विस्तृत सर्तहरू अझै टुंगो लागिसकेका छैनन्। उनीहरूले यस वर्षको दोस्रो त्रैमासिकसम्म अन्तिम सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरेका छन्। साथै सरकार, प्रतिस्पर्धा नियामक र दूरसञ्चार प्राधिकरणबाट स्वीकृति लिनुपर्ने भएकाले काम तत्काल सुरु हुने छैन।
कम्पनीहरूका अनुसार यो कदमले इटालीमा फाइभजी विस्तारको गति भने बढाउनेछ।
टेलिकम्स डटकमका अनुसार कम्पनीहरूले धेरै विवरण सार्वजनिक नगरे पनि इटालीको आर्थिक पत्रिका सोल २४ ओरका अनुसार ३५ हजारभन्दा कम जनसंख्या भएका नगरपालिका लक्षित गरिनेछ।
इटाली २० वटा क्षेत्रमा विभाजित छ, जसमा प्रत्येक कम्पनीले १०–१० क्षेत्रमा पूर्वाधार विकास गर्नेछ र त्यो पूर्वाधार अर्को कम्पनीले पनि प्रयोग गर्न सक्नेछ। सन् २०२८ को अन्त्यसम्म करिब १५ हजार ५०० वटा फाइभजी साइट स्थापना गर्ने लक्ष्य राखिएको छ।
यस परियोजनाले ती क्षेत्रमा दोहोरो पूर्वाधार निर्माण गर्नुपर्ने अवस्थाबाट कम्पनीहरू जोगिनेछन् जुन क्षेत्र कभर गर्न महँगो र चुनौतीपूर्ण मानिन्छ।
संयुक्त विज्ञप्तिमा कम्पनीहरूले भनेका छन्, “यसबाट सिर्जना हुने कार्यक्षमताले कम जनघनत्व भएका, सेवा कम पुगेका क्षेत्रमा उच्च गुणस्तरको फाइभजी नेटवर्क विस्तार गर्न सम्भव हुनेछ, जसले घरपरिवार र व्यवसाय दुवैका लागि सेवा गुणस्तर र डिजिटल समावेशिता सुधार गर्नेछ।”
कम्पनीहरूले यो परियोजनाले इटालीको डिजिटल रूपान्तरण, युरोपेली डिजिटल दशकका लक्ष्यअनुसार प्रतिस्पर्धात्मकता वृद्धि र उपभोक्ता तथा व्यवसायलाई लाभ पुग्ने पनि बताएका छन्।
लागत पक्षलाई पनि कम्पनीहरूले उल्लेख गरेका छन्। उनीहरूको भनाइमा, कार्यान्वयन लागत घट्दा नयाँ पुस्ताको मोबाइल प्रविधिमा थप लगानीका लागि स्रोत खुला हुनेछ।
कम्पनीहरूका अनुसार अन्तिम सम्झौतामा अप्रत्याशित कुरा नआए आवश्यक स्वीकृति पाउन खासै समस्या नआउने विश्वास गरिएको छ। उनीहरूले यो मोडेल युरोपेली संघका अन्य देशहरूमा पनि व्यापक रूपमा प्रयोग भइरहेको बताएका छन्।
इटालीमै पनि यस्तै मोडेल लागू भइसकेको उदाहरण छ। तीन वर्षअघि विण्ड ट्रे र इलियाडले थोक फाइभजी नेटवर्क सम्झौता गरेर जेफिरो नेट नामक ५०–५० साझेदारी कम्पनी स्थापना गरेका थिए जसले पुग्न गाह्रो क्षेत्रमा फाइभजी पूर्वाधार विस्तार गरिरहेको छ।
त्यसैले सेवा कम पुगेका इटालीका क्षेत्रका मोबाइल प्रयोगकर्ताले निकट भविष्यमा फाइभजी सेवा पाउने अपेक्षा गर्न सक्ने देखिएको छ।
प्रकाशित: २५ पुष २०८२, शुक्रबार