
काठमाडौं ।
ओपनएआईले बुधबार ‘च्याटजीपीटी हेल्थ’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यसले प्रयोगकर्तालाई आफ्नो स्वास्थ्यसम्बन्धी विषयमा च्याटजीपीटीसँग छुट्टै ठाउँमा कुराकानी गर्ने सुविधा दिनेछ।
अहिलेदेखि नै धेरै मानिसले च्याटजीपीटीमा स्वास्थ्य र चिकित्सासम्बन्धी प्रश्न सोधिरहेका छन्।
ओपनएआईका अनुसार हरेक हप्ता २३ करोडभन्दा बढी प्रयोगकर्ताले स्वास्थ्य र वेलनेससम्बन्धी प्रश्न सोध्छन्। तर च्याटजीपीटी हेल्थ ले यस्ता कुराकानीलाई अन्य सामान्य च्याटबाट अलग राख्छ। यसो गर्दा प्रयोगकर्ताको स्वास्थ्यसम्बन्धी सन्दर्भ सामान्य कुराकानीमा नआउने कम्पनीको भनाइ छ।
यदि प्रयोगकर्ताले हेल्थ सेक्शन बाहिर स्वास्थ्यसम्बन्धी कुरा सुरु गरे भने, एआईले उनीहरूलाई हेल्थ मा जान सुझाव दिनेछ।
हेल्थ भित्र कुराकानी गर्दा एआईले प्रयोगकर्ताले सामान्य च्याटमा गरेका केही कुरालाई सन्दर्भका रूपमा प्रयोग गर्न सक्छ। उदाहरणका लागि, कसैले म्याराथन प्रशिक्षण योजना बनाउन मद्दत मागेको छ भने, हेल्थ मा फिटनेस लक्ष्यबारे कुरा गर्दा एआईलाई उनी धावक हुन् भन्ने जानकारी हुनेछ।
टेकक्रञ्चका अनुसार च्याटजीपीटी हेल्थले एप्पल हेल्थ, फङ्शन र माइफिटनेसपल जस्ता वेलनेस एपबाट व्यक्तिगत जानकारी वा मेडिकल रेकर्डसँग पनि जोडिन सक्नेछ। ओपनएआई का अनुसार हेल्थ भित्रका कुराकानीलाई मोडेल प्रशिक्षणका लागि प्रयोग गरिने छैन।
ओपनएआईकी एप्लिकेशन सीईओ फिद्जी सिमोले ब्लग पोस्टमा च्याटजीपीटी हेल्थलाई स्वास्थ्य सेवामा रहेका उच्च लागत, पहुँचको कमी, डाक्टरको अत्यधिक व्यस्तता र निरन्तर उपचारको अभावजस्ता समस्याको जवाफका रूपमा हेरेको बताएकी छन्।
स्वास्थ्य प्रणालीमा कमजोरी भए पनि चिकित्सा सल्लाहका लागि एआई च्याटबोट प्रयोग गर्दा नयाँ चुनौतीहरू पनि देखिन्छन्। च्याटजीपीटी जस्ता ठूलो भाषा मोडेलहरूले सबैभन्दा सम्भावित जवाफ दिन्छन्, सबैभन्दा सही जवाफ होइन, किनभने यस्ता मोडेलमा सत्य–असत्य छुट्याउने क्षमता हुँदैन। एआईले गलत जानकारी दिन सक्ने जोखिम पनि रहन्छ।
ओपनएआईका आफ्नै सेवा सर्तमा पनि च्याटजीपीटी “कुनै पनि स्वास्थ्य अवस्थाको निदान वा उपचारका लागि प्रयोग गर्नका लागि बनाइएको होइन” भनेर उल्लेख गरिएको छ।
यो सुविधा आगामी केही हप्ताभित्र प्रयोगकर्तामाझ उपलब्ध हुने अपेक्षा गरिएको छ।
प्रकाशित: २५ पुष २०८२, शुक्रबार