
काठमाडौं ।
वेमोले आफ्नो जीकर रोबोट्याक्सीको नाम परिवर्तन गरेको छ। कम्पनीले चिनियाँ अटोमेकर जीकर ले बनाएको मिनिभ्यानजस्तो सवारीसाधनलाई पछिल्ला तीन वर्षदेखि परीक्षण र परिमार्जन गर्दै आएको थियो। अब व्यावसायिक सेवामा ल्याउनु अघि यसको नयाँ नाम राखिएको हो।
पहिले जीकर आरटी भनेर चिनिने यो रोबोट्याक्सी अब ‘ओजाई’ नामले चिनिनेछ। ‘ओह–हाइ’ उच्चारण गरिने यो नाम अमेरिकाको लस एन्जलस माथि रहेको टोपाटोपा पहाड क्षेत्रमा पर्ने ओजाई गाउँबाट लिइएको हो, जुन कला र स्वास्थ्यप्रतिको ध्यानका लागि परिचित छ।
वेमो का प्रवक्ता क्रिस बोनेलीका अनुसार अमेरिकी प्रयोगकर्ता जीकर ब्रान्डसँग खासै परिचित नभएकाले नाम परिवर्तन गरिएको हो। यो ब्रान्डिङ यात्रुको अनुभवसम्मै पुग्ने बताइएको छ। भविष्यमा यात्रु ओजाई मा चढ्दा रोबोट्याक्सीले “ओह हाई” भन्दै नामसहित अभिवादन गर्नेछ।
वेमोले जीली होल्डिङ ग्रुप अन्तर्गतको जीकरसँग सन् २०२१ मा साझेदारी गरेको थियो। त्यसको एक वर्षपछि लस एन्जलसमा आयोजित कार्यक्रममा विशेष रूपमा डिजाइन गरिएको रोबोट्याक्सीको अवधारणा सार्वजनिक गरिएको थियो। यो सवारी जीकर को एसईए-एम प्लेटफर्ममा आधारित थियो जुन रोबोट्याक्सी र लजिस्टिक्स जस्ता भविष्यका सवारीका लागि बनाइएको हो।
सुरुवाती नमुनामा स्टेयरिङ ह्वील थिएन। तर सीईएस २०२६ मा देखाइएको ओजाईमा भने स्टेयरिङ ह्वील राखिएको छ।
विकास र परीक्षणका क्रममा यो रोबोट्याक्सी फिनिक्स र सान फ्रान्सिस्कोजस्ता सहरमा चलाएर सुधार गरिएको हो। गत वर्ष सीईएसमा वेमो ले यसलाई जीकर आरटी नाममै प्रस्तुत गर्दै १३ वटा क्यामेरा, चार वटा लिडार, छ वटा रडार, बाहिरी अडियो रिसिभर र साना सेन्सर वाइपरहरूजस्ता हार्डवेयर देखाएको थियो।
हार्डवेयर उही भए पनि सवारीको रङ परिवर्तन गरिएको छ। पहिले नीलो झल्को भएको रङ अब चाँदीजस्तो बनाइएको वेमोले जनाएको छ।
यी सबै अन्तिम परिमार्जन व्यावसायिक सेवा सुरु गर्नुअघि गरिएको हो। हाल वेमो का कर्मचारी तथा उनका परिवार र साथीहरूले सान फ्रान्सिस्को र फिनिक्समा यो रोबोट्याक्सी प्रयोग गर्न पाएका छन्, जुन सर्वसाधारणका लागि सेवा सुरु हुनु अघि गरिने अन्तिम चरणमध्ये एक हो।
वेमो तीव्र रूपमा विस्तार भइरहेको छ। हाल एटलान्टा, अस्टिन, लस एन्जलस, फिनिक्स र सान फ्रान्सिस्कोमा रोबोट्याक्सी सेवा दिइरहेको कम्पनीले आगामी एक वर्षभित्र थप एक दर्जन सहरमा सेवा विस्तार गर्ने योजना बनाएको छ। ती सहरमा डेनभर, लस भेगास र लन्डन पनि समावेश छन्।
प्रकाशित: २४ पुष २०८२, बिहीबार