
काठमाडौं ।
बागमती प्रदेश सरकारले गत भदौमा भएको जेनजी समूहको आन्दोलनका क्रममा जलेका सवारीसाधनको कर मिनाहा दिने निर्णय गरेको छ। प्रदेश सरकारको मन्त्रीपरिषद्को निर्णय अनुसार आन्दोलनमा जलेका तथा क्षति भएका सवारीसाधनलाई कर छुट दिने र ढिलाइ भएको जरिबाना मिनाहा गर्ने भएको हो।
मन्त्रीपरिषद्को गत पुस १६ गतेको बैठकको निर्णय अनुसार आन्तरिक मामिला तथा योजना मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गरेको हो।
राजपत्रमा प्रकाशित सूचना अनुसार जेनजी प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडका कारण पूर्ण रूपमा क्षति भएका सवारीसाधनको लगत कट्टा (दर्ता खारेज) गर्ने प्रयोजनका लागि चालु आर्थिक वर्ष २०६२/६३ को सवारीसाधन र र नवीकरण दस्तुर छुट दिइने छ।
यस्तो सुविधा सरकारी, सार्वजनिक संस्थान, समिति, पर्यटकीय तथा निजी सवारीसाधनले समेत पाउने छन्। जसका लागि सम्बन्धित धनीले प्रहरी मुचुल्कालगायत पूर्ण क्षति पुष्टि हुने आवश्यक प्रमाण कागजात पेस गर्नुपर्ने छ। सार्वजनिक सवारीसाधनको हकमा भने सवारीसाधन कर र नवीकरण दस्तुरका अतिरिक्त जाँचपास नवीकरण दस्तुर र बाटो इजाजतपत्र ( रुट पर्मिट) नवीकरण दस्तुरमा छुट दिने निर्णय गरिएको छ।
गत भदौ २३ र २४ गते भएको जेनजी समूह प्रदर्शनका कारण यातायात व्यवस्था कार्यालयको सेवाप्रवाह अवरुद्ध भएको थियो। उक्त अवधिमा कर वा दस्तुर तिर्ने अन्तिम म्याद परेका सवारीसाधनको हकमा सरकारले विशेष राहतको व्यवस्था गरेको छ।
राजपत्रमा उल्लेख भए अनुसार सेवा अवरुद्ध भएका कारण समयमा दस्तुर बुझाउन नपाएका सवारी धनीले आगामी २०५२ माघ मसान्तभित्र दस्तुर बुझाउन आएमा प्रचलित कानुनबमोजिम लाग्ने जरिबाना र थप जरिबाना पूर्ण रूपमा छुट दिइने छ। सो सुविधा बाटो इजाजतपत्र र जाँचपासको नवीकरण दस्तुरमा लाग्ने जरिबानाको हकमा लागू हुने पत्रमा उल्लेख छ।
प्रकाशित: २४ पुष २०८२, बिहीबार