
काठमाडौं ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र सामाजिक सुरक्षा कोषबिच राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीका विद्युतीय सेवा प्रयोग गर्नेसम्बन्धी समझदारी भएको छ।
त्यससम्बन्धी पत्रमा बुधबार कोषको कार्यालयमा पञ्जीकरण विभागका तर्फबाट महानिर्देशक नमराज घिमिरे र कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरेका हुन्।
दुई कार्यालयबिच भएको समझदारीपत्र अनुसार अब कोषले योगदानकर्तालाई सामाजिक सुरक्षा नम्बर जारी गर्ने, विवरण अद्यावधिक गर्ने तथा सेवा प्रवाह गर्नुअघि लाभग्राहीको पहिचान प्रमाणीकरण गर्दा राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमार्फत उपलब्ध हुने विद्युतीय सेवा प्रयोग गर्न सकिने कोषका सूचना अधिकारी रोशन कोजुले जानकारी दिए।
एमओयुमा राष्ट्रिय परिचय नम्बर (एनआइएन) आधारमा नागरिकको नाम, जन्ममिति, ठेगानालगायत जनसाङ्ख्यिक विवरण प्रमाणीकरण गर्ने, नागरिकको तथ्याङ्क उपलब्ध गराउने तथा जैविक विवरणको प्रमाणीकरण गर्ने सेवा उपलब्ध गराइने उल्लेख छ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार जैविक विवरणलाई प्रणालीमा रहेको तथ्याङ्कसँग भिडाएर नागरिकको पहिचान यकिन गरिने छ।
एमओयु अनुसार विदेशमा रहेका नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्रका लागि आवेदन तथा विवरण सङ्कलनको प्रक्रियामा सामाजिक सुरक्षा कोषलाई समेत संलग्न गराई कोषमा सूचीकरण गर्न समन्वय गरिने व्यवस्था गरेको सूचना अधिकारी कोजुले जानकारी दिए।
तथ्याङ्क सुरक्षा, प्रणाली पहुँच, प्रमाणीकरण तथा प्राविधिक सहयोगसम्बन्धी प्रावधान पनि समेटिएका छन्। एमओयु हस्ताक्षर भएको मितिदेखि लागु हुने र आपसी सहमतिमा परिमार्जन गर्न सकिने पनि उनले जानकारी दिए।
आजको गोरखापत्रबाट
प्रकाशित: २४ पुष २०८२, बिहीबार