
काठमाडौं ।
म्याग्दीको मालिका गाउँपालिका-६ दरवाङका सुजन गौतमले अमेरिकाको ‘अलाबाबा’ राज्यमा रहेको ‘युनिभर्सिटी अफ अलाबामा इन हन्ट्सभिल’ बाट अन्तरिक्ष विज्ञान विषयमा विद्यावारिधि उपाधि हासिल गरेका छन्।
गौतमले पृथ्वीनजिक हुने सौर्यवायुको चक्र र अन्तरग्रहीय झट्काको प्रभाव शिर्षकमा अनुसन्धान गरी विद्यावारिधी हासिल गरेका हुन्। उनको अनुसन्धान सूर्यबाट निस्कने सौर्यवायु र त्यसमा हुने अस्थिरता तथा सौर्यवायुमा हुने झट्काले अन्तरिक्ष वातावरणमा पार्ने प्रभावसम्बन्धी गहिरो वैज्ञानिक विश्लेषणमा केन्द्रित रहेको छ ।
विश्वविद्यालयमा रहेको अन्तरिक्ष विज्ञान विभाग तथा अमेरिकाको प्रतिष्ठित अनुसन्धान केन्द्र ‘सेन्टर फर स्पेस प्लाज्मा एण्ड एरोनमिक रिसर्च’ मा विश्वप्रसिद्ध वैज्ञानिक प्राडा ग्यारी जैंकको निर्देशनमा रहेर अनुसन्धान सम्पन्न गरेका हुन्।
गौतमले अध्ययन अवधिमा अन्तरराष्ट्रियस्तरमा उच्चस्तरीय वैज्ञानिक जर्नलमा थुप्रै अनुसन्धानपत्र प्रकाशित गर्नुका साथै विभिन्न अन्तरराष्ट्रिय वैज्ञानिक सम्मेलनमा आफ्ना अनुसन्धान प्रतिवेदन प्रस्तुत गरिसकेका छन्। “ग्रामीण क्षेत्रको सामान्य परिवारबाट सुरु भएको मेरो यात्रा आज यहाँसम्म आइपुग्दा धेरै सङ्घर्ष, धैर्य र निरन्तर मेहनतको लगानी छ”, सुजनले भने, “यो सफलता मेरो मात्र नभएर परिवार, साथीभाइ, आफन्त, शिक्षक र शुभेच्छुकहरूको साझा उपलब्धि हो ।”
सूर्य र अन्तरिक्षमा हुने गतिविधिले पृथ्वीको सेटेलाइट सिस्टम (भूउपग्रह प्रणाली), रेडियो सञ्चार, मौसम र दैनिक जीवनमा असर पार्ने भएकाले सानैदेखिको रुचिअनुसार जटिल र चुनौतीपूर्ण भए पनि अन्तरिक्ष विज्ञानको अनुसन्धानमा लागेको गौतमले बताए।
“सूर्यसँग सम्बन्धित कैयन अनुत्तरित प्रश्नहरू छन्, जो बुझ्न सारा विश्वका वैज्ञानिकहरू लगिपरेका छन्, मलाई पनि त्यही जिज्ञाशाले यो क्षेत्रमा तानेको हो”, उनले भने, “मेरो कामले भविष्यमा सौर्य आँधी, अन्तरिक्ष मौसम र तिनको प्रभावलाई अझ राम्रोसँग बुझ्न मद्दत गर्नेछ ।”
अन्तरिक्ष विज्ञान तथा सौर्यवायुसम्बन्धी अनुसन्धानलाई निरन्तरता दिने गौतमको योजना छ । त्रिभुवन विश्वविद्यालयबाट भौतिक शास्त्र विषयमा स्नातक र स्नाकोत्तर पूरा गरेर सन् २०२२ मा पूर्ण छात्रवृत्तिमा अध्ययनका लागि अमेरिकाको ‘युनिभर्सिटी अफ आलाबामा इन हन्ट्सभिलको ‘डिपार्टमेन्ट अफ स्पेस साइन्स’मा गएका थिए।
गौतमले अमेरिकाको उक्त विश्व विद्यालयको अध्ययन केन्द्रमा ‘सेन्टर फर स्पेस प्लाज्मा एण्ड एरोनोमिक रिसर्च’मा अनुसन्धान सहायकका रूपमा आफ्ना अनुसन्धान गर्दै आएका छन्। गौतमको नेतृत्वमा अनुसन्धानकर्ता अशोक शिल्वाल, वासु बराल र डा विनोद अधिकारीको टोलीले सन् १९६८ देखि सन् २०२३ सम्मको पोखरा र काठमाडौँको मासिक वर्षाको तथ्याङ्कलाई सौर्य गतिविधिको सम्बन्धका आधारमा अध्ययन गरी एक वर्षअघि प्रतिवेदन प्रकाशन भएको थियो। रासस
प्रकाशित: २४ पुष २०८२, बिहीबार