
काठमाडौं ।
जिल्लाको बेदकोट नगरपालिका भएर बग्ने चौधरनदीको मुख्य सहायक राधानदीमा ‘रडार लेभल सेन्सर’ (आरएलएस) जडान गरिएको छ । बाढीको पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यका साथ नदीमा जलस्तर मापन गर्ने आधुनिक आरएलएस प्रविधि जडान गरिएको हो ।
इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन, डिसिए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए), कञ्चनपुरको साझेदारीमा सञ्चालित ‘स्मार्ट’ परियोजनाअन्तर्गत उक्त प्रविधि जडान गरिएको परियोजनाका संयोजक राजकुमार सुनारले बताए। उनका अनुसार प्रविधि जडानमा जल तथा मौसम विज्ञान कार्यालय अत्तरिया र बेदकोट नगरपालिकाको सहकार्य रहेको छ ।
नदीमा जडान गरिएको रडार लेभल सेन्सरले नदीको जलस्तरको वास्तविक तथ्याङ्क (रियल टाइम डाटा) सङ्कलन गरी तत्काल जानकारी उपलब्ध गराउने संयोजक सुनारले जानकारी दिए। “यसबाट बर्खायाममा आउन सक्ने सम्भावित बाढीको पूर्वसूचना समयमा प्राप्त हुने र तल्लो तटीय क्षेत्रका नागरिकको जीउधनको सुरक्षामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ”, उनले भने।
सेन्सर जडान भएपछि बेदकोटसँगै भीमदत्त नगरपालिका र बेलडाँडी गाउँपालिका क्षेत्रका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई समयमा बाढीबारे सचेत गराउन मद्दत पुग्ने संयोजक सुनारले बताए । “अहिले प्रविधि जडान मात्रै गरिएको छ”, उनले भने, “यसलाई जल तथा मौसम विज्ञानको प्रणालीमा आबद्ध गर्ने कार्य वर्षा सुरु हुनुअगावै पूरा हुन्छ । त्यसपछि नदीको जलस्तर विभागको वेबसाइटबाट प्रत्यक्ष हेर्न सकिनेछ ।”
प्रकाशित: २४ पुष २०८२, बिहीबार