
काठमाडौं ।
मोबिलीले अटोमोबाइल सुरक्षा सुविधा र एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) का लागि कम्प्युटर भिजन चिप आपूर्ति गर्दै आफ्नो पहिचान र आम्दानी दुवै बनाएको हो।
इन्टेलको सहायक कम्पनी तथा सूचीकृत मोबिलीले पछि आफ्ना चिप र सफ्टवेयरमार्फत स्वचालित (अटोनोमस) ड्राइभिङ क्षेत्रमा पनि विस्तार गरेको थियो।
अब सह–संस्थापक तथा अध्यक्ष आम्नोन शाशुआले कम्पनीलाई आफूले “मोबाइलआई ३.०” भनेर परिभाषित गरेको नयाँ चरणतर्फ लैजाने भएका छन्, जसको केन्द्रमा रोबोटिक्स र ठूलो अधिग्रहण रहेको छ।
इजरायली कम्पनी मोबिलीले मंगलबार लस भेगासमा आयोजित कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) का क्रममा सन् २०२२ मा शाशुआकै सह–स्थापनामा सुरु भएको स्टार्टअप मेण्टी रोबोटिक्सलाई ९० करोड अमेरिकी डलरमा अधिग्रहण गर्ने सम्झौता भएको घोषणा गरेको हो।
सम्झौताअनुसार मोबाइलआईले करिब ६१ करोड २० लाख डलर नगद र अधिकतम २ करोड ६२ लाख साधारण सेयर दिएर मेण्टी रोबोटिक्स खरिद गर्ने टेकक्रञ्चले उल्लेख गरेको छ।
मेण्टीका अध्यक्ष, सह–संस्थापक तथा ठूलो सेयरधनीसमेत रहेका शाशुआले हितको द्वन्द्व टार्न मोबाइलआई बोर्डको छलफल र स्वीकृति प्रक्रियाबाट आफू अलग रहेको कम्पनीले जनाएको छ।
मोबिली बोर्ड र यसको सबैभन्दा ठूलो सेयरधनी इन्टेलले स्वीकृत गरिसकेको यो कारोबार पहिलो त्रैमासिकभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ। यसले सन् २०२६ मा मोबिलीको सञ्चालन खर्चमा एकल अंकको न्यून प्रतिशतले मात्र वृद्धि गर्ने अनुमान गरिएको छ।
“आज रोबोटिक्स र अटोमोटिभ एआईका लागि नयाँ अध्यायको सुरुआत भएको छ र यही नै मोबिली ३.० को प्रारम्भ हो,” शाशुआले भने। “मेण्टीको मानवरूपी रोबोटिक्समा भएको उपलब्धि, मोबिलीको अटोमोटिभ स्वचालन अनुभव र उन्नत एआईलाई उत्पादनमा रूपान्तरण गर्ने क्षमतालाई एकसाथ जोड्दा विश्वव्यापी रूपमा रोबोटिक्स र स्वचालित सवारीसाधनमा ‘फिजिकल एआई’ को विकासको नेतृत्व गर्ने अनौठो अवसर हामीसँग छ।”
मानवरूपी रोबोट विकास गरिरहेको मेण्टी रोबोटिक्स मोबिलीभित्र स्वतन्त्र इकाइका रूपमा सञ्चालन हुनेछ। शाशुआ दुवै कम्पनीमा निर्णायक भूमिका र सेयर स्वामित्वमा रहेकाले प्राविधिक र रणनीतिक सहकार्य व्यापक हुने अपेक्षा गरिएको छ।
मोबिलीका लागि यस अधिग्रहणको प्रत्यक्ष फाइदा स्पष्ट नदेखिए पनि पछिल्लो समय धेरै प्रविधि कम्पनीहरू मानवरूपी रोबोट क्षेत्रमा प्रवेश गरिरहेका छन्।
आधिकारिक रूपमा मोबिलीले यो अधिग्रहणले “फिजिकल आर्टिफिसियल इन्टेलिजेन्सतर्फ व्यवसायको दायरा निर्णायक रूपमा विस्तार गरेको” जनाएको छ। यसले सन्दर्भ र उद्देश्य बुझ्न सक्ने, मानिस र भौतिक संसारसँग स्वाभाविक रूपमा अन्तरक्रिया गर्न सक्ने प्रणाली विकासमा सहयोग पुर्याउने कम्पनीको दावी छ।
मोबिलीले सवारीसाधनलाई मार्ग पहिचान गर्न सहयोग गर्ने प्रविधिभन्दा अघि बढेर सोही क्षमतालाई मानवरूपी रोबोटमा पनि प्रयोग गर्न चाहेको संकेत दिएको छ।
कम्पनीका अनुसार उन्नत स्वचालित सवारी र एडीएएस प्रविधिबाट प्रेरित हालको अटोमोटिभ आम्दानी पाइपलाइन आगामी आठ वर्षमा २४.५ अर्ब डलर बराबरको छ जुन जनवरी २०२३ को तुलनामा ४० प्रतिशतभन्दा बढीले वृद्धि भएको हो।
तर उत्पादनस्तरमा पुग्ने मानवरूपी रोबोट विकास महँगो हुने निश्चित छ। यस्तो अवस्थामा मेण्टी रोबोटिक्सले मोबाइलआईको स्रोतसाधन—विशेषगरी उन्नत एआई तालिम पूर्वाधार (कम्प्युटिङ क्षमता)—प्रयोग गर्न पाउने भएकाले ठूलो फाइदा लिने अपेक्षा गरिएको छ।
यो अधिग्रहण घोषणा मोबाइलआईले अर्को दिन आफ्ना नयाँ पुस्ताका ह्यान्ड्स–फ्री एडीएएस चिपका लागि अर्को ठूलो ग्राहक पाएको जानकारी दिएपछि आएको हो।
कम्पनीले सोमबार विश्वका “शीर्ष १० अटोमेकर” मध्ये एकले ९० लाख आईक्यू६एच आधारित सराउण्ड एडीएएस प्रणाली खरिद गर्ने सम्झौता गरेको जनाएको थियो।
फक्सवागन समूहले पनि मार्चमा उक्त चिप प्रयोग गर्ने घोषणा गरिसकेको छ। हाल मोबाइलआईले भविष्यमा १ करोड ९० लाखभन्दा बढी आईक्यू६एच आधारित प्रणाली आपूर्ति हुने अनुमान गरेको छ।
प्रकाशित: २४ पुष २०८२, बिहीबार