
काठमाडौं ।
विश्वकै सबैभन्दा ठूलो व्यक्तिगत कम्प्युटर निर्माता चीनको लेनोभोले मंगलबार अमेरिकी एआई चिप अग्रणी एनभिडियासँग सहकार्य गरेको जनाएको छ।
एआई क्षेत्रमा आफूलाई स्थापित गर्ने लक्ष्यसहित लेनोभोले एआई क्लाउड सेवा प्रदायकहरूलाई छिटो डाटा सेन्टर सञ्चालनमा ल्याउन सहयोग गर्ने उद्देश्यले यो साझेदारी गरेको हो।
सर्भर पनि उत्पादन गर्दै आएको लेनोभोले लस भेगासमा आयोजित कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) मा उक्त घोषणा गरेको हो। सो अवसरमा कम्पनीले एआई प्लेटफर्म, कन्सेप्ट डिभाइसहरू तथा मोटोरोलाअन्तर्गतको पहिलो फोल्डेबल स्मार्टफोनसमेत प्रदर्शन गरेको छ।
डाटा सेन्टर कार्यक्रमअन्तर्गत लेनोभोले एनभिडियाका कम्प्युटिङ प्लेटफर्मसँगै आफ्नो तरल-चिस्यान (लिक्विड-कुल्ड) हाइब्रिड एआई पूर्वाधार उपलब्ध गराउने जनाएको छ। यसले एआई क्लाउड प्रदायकहरूलाई डेटा सेन्टर तैनाथीको समय घटाएर केही ‘हप्तामै’ सीमित गर्न मद्दत गर्ने लेनोभोलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख छ।
“एनभिडियासँगको लेनोभो एआई क्लाउड गिगाफ्याक्ट्रीले स्केलेबल एआई फ्याक्ट्री डिजाइनका लागि नयाँ मापदण्ड स्थापित गरेको छ, जसले विश्वकै सबैभन्दा उन्नत एआई वातावरणलाई कीर्तिमानी समयमा तैनाथ गर्न सक्षम बनाउँछ,” लेनोभोका प्रमुख कार्यकारी अधिकृत याङ युआनछिङले एनभिडियाका सीईओ जेन्सेन हुआङसँगै दिएको मन्तव्यमा भने।
याङले ‘किरा’ नामक व्यक्तिगत एआई प्रणाली पनि सार्वजनिक गरेका छन्। लेनोभो र मोटोरोलाका पीसी, स्मार्टफोन, ट्याब्लेट र वेयरेबल उपकरणहरूमा पृष्ठभूमिमै काम गर्न सक्ने गरी डिजाइन गरिएको यो प्रणालीले एक्सपिडियाजस्ता ट्राभल कम्पनीहरूका सेवासमेत उपलब्ध गराउन सक्ने लेनोभोले जनाएको छ।
यसका साथै लेनोभोले कन्सेप्ट एआई चस्मा पनि प्रदर्शन गरेको छ। यससँगै अलिबाबा र सामसुङ इलेक्ट्रोनिक्स पनि उक्त क्षेत्रमा सक्रिय देखिएका छन्। लेनोभोले ‘प्रोजेक्ट म्याक्सवेल’ अन्तर्गत विकास गरिरहेको एआई सहायक वेयरेबल उपकरण पनि प्रस्तुत गरेको छ, जसले प्रयोगकर्तालाई वास्तविक समयमा सहयोग प्रदान गर्नेछ।
प्रकाशित: २४ पुष २०८२, बिहीबार