
काठमाडौं ।
सीईएस २०२६ मा आयोजित आफ्नो कीनोट भाषण एएमडीकी अध्यक्ष तथा सीईओ लिसा सुले “सबैका लागि एआई” भन्ने सन्देशसहित सुरु गरेकी छन्। उनका अनुसार, कम्प्युटिङको भविष्य एआई–सञ्चालित व्यक्तिगत कम्प्युटर (एआई पीसी) तर्फ अग्रसर हुँदैछ।
यही दृष्टिकोणअनुसार एएमडीले नयाँ एआई प्रोसेसरहरूको शृङ्खला सार्वजनिक गरेको छ। सेमिकन्डक्टर क्षेत्रको यो दिग्गज कम्पनीले सोमबार वार्षिक सीईएस सम्मेलनमा एएमडी राइजेन एआई ४०० सिरिज प्रोसेसर सार्वजनिक गरेको हो, जसलाई कम्पनीले एआई–सक्षम पीसी चिपहरूको पछिल्लो संस्करण भनेको छ।
एएमडी का अनुसार, नयाँ राइजेन एआई ४०० सिरिज प्रोसेसरले प्रतिस्पर्धी चिपहरूको तुलनामा १.३ गुणा छिटो मल्टिटास्किङ र १.७ गुणा बढी छिटो कन्टेन्ट क्रिएसन क्षमताहरू प्रदान गर्छ। यी नयाँ चिपहरूमा १२ वटा सीपीयू कोर (मुख्य प्रोसेसरभित्रका व्यक्तिगत प्रोसेसिङ युनिट) र २४ वटा थ्रेड (निर्देशनका स्वतन्त्र स्ट्रिम) समावेश छन्।
यो चिप राइजेन एआई ३०० सिरिजको अपग्रेड हो, जुन २०२४ मा घोषणा गरिएको थियो। एएमडी ले राइजेन प्रोसेसर शृङ्खलाको उत्पादन सन् २०१७ देखि सुरु गरेको टेकक्रञ्चले उल्लेख गरेको छ।
एएमडीका क्लाइन्ट बिजनेसका वरिष्ठ उपाध्यक्ष तथा महाप्रबन्धक राहुल टिकूका अनुसार कम्पनीले हाल २५० भन्दा बढी एआई पीसी प्लेटफर्म मा आफ्नो विस्तार गरिसकेको छ। यो संख्या अघिल्लो वर्षको तुलनामा दुई गुणा वृद्धि भएको उनले बताए।
“आगामी वर्षहरूमा एआई व्यक्तिगत तहदेखि कम्प्युटिङका हरेक स्तरमा गाँसिने बहु–तहयुक्त संरचना बन्नेछ,” टिकूले भने। “हाम्रा एआई पीसी र डिभाइसहरूले हामी कसरी काम गर्छौं, कसरी खेल्छौं, कसरी सिर्जना गर्छौं र कसरी एक–अर्कासँग जोडिन्छौं भन्ने कुरामा रूपान्तरण ल्याउनेछन्।”
एएमडी ले यसै अवसरमा एएमडी राइजेन ७ ९८५०xथ्रीडी प्रोसेसर पनि सार्वजनिक गरेको छ, जुन कम्पनीको पछिल्लो गेमिङ–केन्द्रित प्रोसेसर हो।
“तपाईं जोसुकै हुनुहोस् र दैनिक रूपमा प्रविधि जसरी प्रयोग गर्नुहुन्छ, एआईले साधारण कम्प्युटिङलाई पुनःपरिभाषित गरिरहेको छ,” टिकूले थपे। “तपाईंले प्रत्येक दिन आफ्नो पीसीसँग हजारौं अन्तरक्रिया गर्नुहुन्छ। एआईले सन्दर्भ बुझ्न, सिक्न, स्वचालन ल्याउन, गहिरो तर्क गर्न र प्रत्येक व्यक्तिका लागि व्यक्तिगत अनुकूलन प्रदान गर्न सक्छ।”
राइजेन एआई ३०० सिरिज वा राइजेन राइजेन ७ ९८५०xथ्रीडी प्रोसेसर समावेश भएका पीसीहरू २०२६ को पहिलो त्रैमासिक मा बजारमा उपलब्ध हुने एएमडीले जनाएको छ।यसका साथै कम्पनीले आफ्नो रेडस्टोन रे ट्रेसिङ प्रविधिको नयाँ संस्करण पनि घोषणा गरेको छ।
प्रकाशको भौतिक व्यवहारको नक्कल गर्ने यो प्रविधिले प्रदर्शन वा गतिमा असर नपारी अझ राम्रो भिडियो गेम ग्राफिक्स प्रदान गर्ने एएमडीको दाबी छ।
प्रकाशित: २३ पुष २०८२, बुधबार