अत्याधुनिक क्यामरामार्फत बाघ गणना: तीन कम्पनीका क्यामराले यसरी दिनेछन् नतिजा

  • Technology Khabar | २३ पुष २०८२, बुधबार
अत्याधुनिक क्यामरामार्फत बाघ गणना: तीन कम्पनीका क्यामराले यसरी दिनेछन् नतिजा

काठमाडौं ।

नेपालमा राष्ट्रिय बाघ गणना जारी रहँदा विभिन्न तीन कम्पनीका अत्याधुनिक क्यामरा प्रयोगमा छन्। प्यान्थेरा, कडिब्याग र ब्राउनिङ कम्पनीका स्वचालित क्यामरामार्फत बाघको अध्ययन/अनुसन्धान भइरहेको छ।

उज्यालो मौसम र दिउँसो मात्रै होइन विशेष सेन्सरजडित क्यामराले मध्य रातमा पनि वन्यजन्तुको प्रष्ट रंगीन तस्बिर कैद गर्न सक्छन्। राति सक्रिय हुने जीवजन्तुको तस्बिर क्यामराले सहजै कैद गर्ने भएकाले नतिजा प्राप्त गर्न सजिलो हुने संरक्षणकर्मीहरूको अनुभव छ।

वन्यजन्तुसँग जोडिने अन्य अनुसन्धानमा पनि नेपालसहित अन्य देशहरूले पनि स्वचालित क्यामरा प्रयोग गर्दै आएका छन्। यही ३ पुसदेखि चितवन राष्ट्रिय निकुञ्जबाट आरम्भ भएको बाघ गणनामा एक हजार एक सय हाराहारी क्यामरा प्रयोग भइरहेका राष्ट्रिय अभियानको नेतृत्व लिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले जनाएको छ।

बाघ गणनाका लागि एक सय ५० जना गणक तथा प्राविधिक फिल्डमा खटिएका छन्। क्यामरा ट्याक गर्न, तथ्यांक संकलन र अन्य उपकरणको प्रयोग विधि सिकाउन गणकहरूलाई यही १ र २ पुसमा तालिम तथा अनुशिक्षण दिइएको थियो।

गणकलाई क्यामरा जडान गर्न र निकाल्न एक साताको समय लाग्छ भने ट्यापिङका लागि क्यामरा कम्तीमा १५ दिन एकै ठाउँमा राखिन्छ। गणकहरूले स्थानअनुसार आठदेखि १२ वटा ग्रिडसम्म राखिएका क्यामराको दैनिक अनुगमन गर्छन्।

चितवन र पर्सा निकुञ्जलाई एउटा ब्लक बनाएर गणना भइरहँदा पहिलो चरणको गणना सकिएको छ। पहिलो चरणका लागि दुवै निकुञ्जमा दुई सय ८६ वटा ग्रिड बनाएर गणना अघि बढाइएको छ। एउटा ग्रिडमा एक जोडी स्वचालित सेन्सरजडित क्यामरा राखिएका छन्।

चितवन निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार औसतमा दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड मानेर गणना भइरहेको छ।

बाघ ओहोर/दोहोर गर्ने सम्भावित माग पहिचान गरेर दायाँ, बाँया र मध्य भेगबाट तस्बिर कैद हुनेगरी क्यामरा ट्याक गरिएका थापा मगरले बताए। ‘दुवैतर्फबाट तस्बिर खिच्न मिल्नेगरी क्यामरा जडान गरिएको छ’, उनले भने, ‘क्यामरा नजिकका तस्बिर लिन कुनै समस्या हुँदैन। सात/आठ मिटर टाढासम्मबाट बाघ वा अन्य जीवजन्तु हिँड्दै गर्दा क्यामरामा तस्बिर रेकर्ड भइहाल्छ।’

हरेक बाघका शरीरका पाटा फरक–फरक हुने गर्छन्। गणक र विज्ञहरूले विभिन्न कोणबाट बाघको तस्बिर तथा शरीरमा भएका पाटाका आधारमा संख्या यकिन गर्छन्। यही विधिबाट बाघका भाले र पोथी पनि पहिचान गरिन्छ।

बाघ गणनामा प्रयोग भइरहेका क्यामरामा १६ देखि ३२ जीबीसम्मका मेमोरी कार्ड राखिएकाले तत्कालै मेमोरी भरिँदैन। एकदेखि दुई दिनको फरकमा गणकले क्यामरामा कैद भएका तस्बिरलाई ल्यापटप र अन्य डिभाइसमा सार्ने गर्छन्। अहिले प्रयोगमा रहेका धेरैजसो क्यामरा फ्लास फाल्ने प्रकृतिका छन् भने कतिपय फ्लास नफाल्ने पनि छन्।

नेपालले स्वचालित क्यामरा ट्याप विधिबाट बाघ गणना गर्न थालेको सन् २००९ देखि हो। त्यसयता हरेक चार वर्षको अन्तरमा नेपालले राष्ट्रियस्तरमा बाघ गणना गर्दै आएको छ। अहिलेको गणना करिब तीन महिनासम्म जारी रहन्छ। यो गणना चितवन, पर्सा निकुञ्जसहित क्रमशः बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि केन्द्रित रहने छ।

यसअघि (सन् २०२२)को गणनामा नेपालमा तीन सय ५५ वटा वयस्क बाघ पहिचान भएका थिए। त्यसबेला चितवनमा एक सय २८, बर्दियामा एक सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा वयस्क बाघ भेटिएका थिए।

यसपटकको गणनाका लागि तीन करोड रूपैयाँ हाराहारी खर्च हुने वन्यजन्तु विभागको ठहर छ। जनशक्ति परिचालन, मेमोरी कार्ड, टेन्ट, सिल्पिङ ब्यागलगायत लजिस्टिक सामानका लागि यो रकम खर्च हुने बताइएको छ। क्यामरा पुरानै प्रयोग भइरहेकाले यसपटकको गणना तीन करोड रूपैयाँ हाराहारी सकिने विभागको प्रक्षेपण छ।

क्यामरा पुरानै

यसपटकको गणनामा प्रयोगमा भइरहेका क्यामरा हालसालै खरिद गरिएका होइनन्। विगतमा बाघ गणना र अन्य वन्यजन्तुको अध्ययन/अनुसन्धानमै प्रयोग हुँदै आएका क्यामरा प्रयोगमा रहेका विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले जनाएको छ। यो निकायले लामो समयदेखि बाघ र अन्य जीवजन्तुको अध्ययन/अनुसन्धानमा आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ।

डब्लुडब्लुएफ नेपालका वन्यजन्तु कार्यक्रम प्रमुख शशांक पौडेलका अनुसार वन्यजन्तुको अध्ययन/अनुसन्धानमा प्रयोग हुने क्यामराले औसतमा सात वर्ष राम्रो नतिजा दिने गरेका छन्। क्यामरा नयाँ नै किन्नुपर्छ भन्ने होइन’, उनले भने, ‘कुनै कारणले तोडफोड भयो भने अलग कुरा हो। होइन भने १० वर्ष हाराहारी पनि क्यामराले राम्रो काम गर्छ, रिजल्टमा कुनै शंका हुँदैन।’

नेपालले अहिले बाघ गणनामा प्रयोग गरिरहेको क्यामराको प्रतिमूल्य ४० हजार रूपैयाँ हाराहारीको हो। राष्ट्रियस्तरको यो अभियानमा राष्ट्रिय प्रकृति संरक्षण कोष, जुलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपाल, नेपाली सेना र अन्य संरक्षण साझेदार संघ/संस्था पनि आवद्ध रहने गर्छन्।

तोडफोड हुन्छन् २० प्रतिशत क्यामरा

 राष्ट्रियव्यापी गणनामा औसतमा एक हजार हाराहारी क्यामरा प्रयोग हुँदै आएका छन्। गणनामा प्रयोग हुनेमध्ये कतिपय क्यामरा तोडफोड पनि हुने गर्छन्। कतिपय ठाउँमा मान्छेले र कतिपय ठाउँमा जीवजन्तुबाट क्यामरामा क्षति हुने गरेको संरक्षणकर्मी पौडेलले बताए।

विगतका अध्ययन/अनुसन्धानलाई आधार मान्दा औसतमा २० प्रतिशत क्यामरा पूर्ण वा आंशिक रूपमा क्षति हुने उनले बताए। पौडेलले भने, ‘नियोजित रूपमा र अन्जानमा मान्छेबाटै क्यामरा तोडिन्छन्। अन्य जीवजन्तुको तुलनामा हात्तीबाट क्यामरामा क्षति हुँदै आएको छ।’

विगतमा वन्यजन्तुको चोरीशिकारमा सक्रिय रहने व्यक्तिहरूबाट क्यामरा चोरी र तोडफोड भएका थिए। अन्य निकुञ्जको तुलनामा चितवनमा यस्ता घटना दोहोरिएका थिए।

क्यामराको खास प्रयोजन थाहा नपाएकाहरू पनि क्यामरा खोल्ने र निकाल्ने प्रयास गर्दा क्षति हुने गर्छन्। यस्ता घटना न्यूनीकरण गर्न यसपटकदेखि ट्याक गरिएका क्यामराको प्रयोजन र अन्य विशेषतासहितको विवरण क्यामरामै टाँसिएको विभागले जनाएको छ।

आरम्भ एनालग क्यामरामार्फत

नेपालमा क्यामरामार्फत वन्यजन्तुको अनुसन्धान अभ्यास चार दशकअघि आरम्भ भएको हो। चितवन निकुञ्जभित्र टाइगर टप्स रिसोर्टसहितका लज/होटल परिसर आसपासबाट एनालग क्यामराको प्रयोग गरेर वन्यजन्तुको अध्ययन तथा अनुगमन अभ्यास भएको थियो।

डब्लुडब्लुएफ नेपालका एक वरिष्ठ संरक्षणकर्मी भन्छन्, ‘सन् १९८० को दशकमा एनालग क्यामराबाट तस्बिर लिएपछि स्टुडियोमा रिल धुलाएर तस्बिर हेर्दै वन्यजन्तुको अवस्था आँकलन हुने गथ्र्यो। समयअनुसारको प्रविधिलाई नेपालले पच्छ्याएको थियो। अहिले डिजिटल प्रविधिले धेरै सजिलो बनाएको छ।’

वन्यजन्तुको चहल–पहल रातको समयमा बढी हुने भएकाले एनालग क्यामराका तस्बिरहरू दिउँसोजस्तो प्रष्ट नहुँदा संरक्षणकर्मीहरूले हुबहु नतिजा थाहा पाउन मुस्किल हुन्थ्यो। रातको समयमा तस्बिर खिच्न जोखिम समेत हुने भएकाले त्यो बेला फिल्डको अनुगमन समूह बनाएर दिउँसो मात्रै हुने गरेको संरक्षणकर्मीहरू स्मरण गर्छन्।

प्रकाशित: २३ पुष २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार