
काठमाडौं ।
बाजुराको बुढीगङ्गा नगरपालिका-४, बानेगाउँमा टावरले काम नगरेर नेटवर्क राम्रो नहुँदा मोबाइल चलाउन कठिन हुने गरेको छ।
खप्तडछेडेदह र बुढीगङ्गा नगरपालिकाका स्थानीयलाई नेटवर्कको सहज हुने गरेर नेपाल टेलिकमले बानेगाउँको डाँडामा टावर निर्माण गरेको भए पनि यहाँका स्थानीयलाई भने त्यो टावरबाट राम्रो नेटवर्क आउन सकेको छैन।
पहिला यहाँ नजिक टेलिकमको टावर निर्माण नहुँदा यहाँका स्थानीयलाई फोन गर्दा नेटवर्कको समस्या हुने गर्थ्यो। त्यही समस्या समाधान गर्न केही वर्षअघि टेलिकमले बानेगाउँको माथि डाँडामा टावर निर्माण गरेको हो।
लामो समयदेखि नेटवर्कको समस्या भोग्दै गरेका यहाँका स्थानीय गाउँमै टावर निर्माण हुँदा राम्रोसँग फोन गर्न पाउने आसमा रहेका थिए। उनीहरूको त्यो आस भने अहिले आसमै सीमित बनेको छ। पहिला यहाँ टावर नहुँदा यहाँका स्थानीयले छिमेकी पालिका त्रिवेणी नगरपालिका-४ को तोलीमा राखेको नेपाल टेलिकमको टावरको भरमा फोनमा कुरा गर्ने गरेका थिए।
अहिले गाउँमै टावर राखे पनि यहाँका स्थानीयलाई समस्या हुने गरेको छ। गाउँमै राखेको टेलिकमको टावरले नेटवर्कमा समस्या हुन थालेपछि अहिले यहाँका स्थानीय निराश बनेका छन्।
गाउँमा टेलिकमको टावर थिएन फोन राम्रोसँग लाग्थ्यो तर अहिले गाउँमा टावर निर्माण भएपछि झन् नेटवर्कमा समस्या हुने गरेको बुढीगङ्गा नगरपालिकाका- ४, बानेगाउँकी स्थानीय गोमती कटुवालले बताइन्। उनले भनिन्, “तोलीको टावरले गाउँमा राम्रोसँग फोन लाग्ने गर्थ्यो।
अहिले गाउँमा टावर निर्माण गरेपछि फोन लाग्ने ठाउँमा पनि फोन नलाग्ने भयो। यो समस्या गत वर्षदेखि आउन थालेको हो।” कटुवालले थपिन्, “यहाँको यो समस्याका लागि हामीले टेलिकम शाखा बाजुरालाई धेरै पटक कुरा गरेका थियौं तर त्यस बारेमा केही सुनुवाइ भएको छैन।”
बानेगाउँवासीलाई फोनको नेटवर्कमा सहज हुने गरेर सबटावर राखेको तर त्यो टावरले नेटवर्कमा थप सहज नगरेको उनको भनाइ छ। “पहिला त्यहाँ टावरले राम्रोसँग काम गरेको थियो। अहिले केही समस्या आएको हुन सक्छ। त्यसका लागि हामीलाई त्यहाँका स्थानीयले यहाँ टेलिकमको टावरमा समस्या भएको भन्ने विषय बारेमा हामीलाई पत्राचार गर्नु पर्छ,” नेपाल टेलिकम शाखा बाजुराका प्रमुख ईश्वर सिंहले बताए। गोरखापत्रबाट
प्रकाशित: २२ पुष २०८२, मंगलवार