सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउने गतिविधि नगर्न गृह मन्त्रालयको आग्रह

  • Technology Khabar | २२ पुष २०८२, मंगलवार
सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउने गतिविधि नगर्न गृह मन्त्रालयको आग्रह
सांकेतिक तस्बिर। फ्रिपिक डटकमको सहयोगमा।

काठमाडौं ।

गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउने गतिविधि नगर्न आग्रह गरेको छ। मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्‍याउने किसिमका घटना नगर्न सचेत गराएको हो।

सामाजिक सञ्जालको दुरुपयोग गरी निश्चित समुदाय एवं धर्मलक्षित अवैधानिक गतिविधि गर्ने, आपसी सामाजिक सद्भावमा खलल पुर्‍याउने, अमर्यादित व्यवहार प्रदर्शन गर्ने, धार्मिकस्थलमा तोडफोड, आगजनी, लुटपाट जस्ता हिंसात्मक एवं सामाजिक द्वेष फैलाउने व्यक्ति तथा समूहलाई कारबाहीको दायरामा ल्याउने प्रक्रिया अघि बढेको मन्त्रालयले स्पष्ट पारेको छ।

“विभिन्न जातजाति, धर्म र सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, गाली बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवं सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुनेजस्ता घृणाजन्य अभिव्यक्ति दिनु दण्डनीय अपराध हो”, गृह मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयले जोकोही व्यक्ति तथा समूहले जहाँसुकै रहेर कानूनद्वारा वर्जित र दण्डनीय गतिविधि गरे गराए पनि  कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ।

मन्त्रालयले शान्ति सुरक्षा एवं धार्मिक सहिष्णुता कायम गर्न आवश्यक संयमता, सजगता र सतर्कता अपनाउन सबैलाई आग्रहसमेत गरेको छ।-रासस

प्रकाशित: २२ पुष २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार