
काठमाडौं ।
मानव जीवनका हरेक पक्षमा एआई भित्र्याउने ठूला प्रविधि कम्पनीहरूको निरन्तर प्रयाससँगै सामसङले सीईएस मा सोच्नै नपर्ने नयाँ उत्पादनहरूको श्रृंखला सार्वजनिक गरेको छ। यसमा टिभी, फ्रिज, ड्राइ–क्लिनर, भ्याकुम र स्टिम क्लिनरसम्म समावेश छन्, र यी सबैमा कुनै न कुनै रूपमा एआई प्रयोग गरिएको छ।
सामसङका नयाँ टिभीहरूमा अब भिजुअल एआई कम्प्यानिअन (भीएसी) नामक सुविधा उपलब्ध गराइएको छ। यसले के हेर्ने भन्ने मात्र होइन, कुन संगीत सुन्ने र के खाने भन्नेबारे पनि सुझाव दिन सक्छ। सामसङका अनुसार भीएसीले टिभीमा देखिने परिकारको आधारमा रेसिपी खोज्न सक्ने र प्रयोगकर्ताको स्वास्थ्य तथा फिटनेस लक्ष्यसँग मेल खाने खाना सिफारिस गर्न सक्ने क्षमता राख्छ।
खानाकै सन्दर्भमा, सामसङले आफ्नो फ्यामलिली हब स्मार्ट फ्रिजलाई पनि गुगल जेमिनीद्वारा सञ्चालित एआई भिजनसहित अपग्रेड गरेको छ जसले फ्रिजभित्र के–के सामग्री छन् भन्ने ट्र्याक गर्न सहयोग गर्नेछ। केही मोडेलहरूले त “व्हाट्स फर टुडे?” नामक सुविधामार्फत उपलब्ध सामग्रीका आधारमा रेसिपी सुझाव पनि दिनेछन्।
टेलिकम्स डटकमका अनुसार अन्य सुविधाहरूमा साप्ताहिक फुड रिपोर्ट पनि समावेश गरिएको छ, जसले सबैभन्दा बढी प्रयोग हुने सामग्री र सकिन लागेका वस्तुहरू देखाउनेछ। साथै, प्रयोगकर्ताको खानपान बानीको सारांश पनि प्रस्तुत गरिनेछ, जसले बारम्बार स्न्याक खाने जस्ता अस्वस्थ बानी नियन्त्रण गर्न मद्दत गर्न सक्ने बताइएको छ।
फ्यामिलि हबले भिडियो रेसिपीलाई क्रमिक कुकिङ गाइडमा स्वतः रूपान्तरण गर्न सक्छ, जुन प्रयोगकर्ताले खाना बनाउने गतिसँगै अघि बढ्छ। यसमा भ्वाइस आईडी सुविधा पनि दिइएको छ, जसले परिवारका फरक–फरक सदस्य छुट्याउन सक्छ।
यसका अतिरिक्त सामसङले बीस्फोक एआई एयरड्रेसर पनि सार्वजनिक गरेको छ, जुन घरमै प्रयोग गर्न मिल्ने ड्राइ–क्लिनिङ प्रणाली हो। यसले कपडाको दुर्गन्ध हटाउने र सर्टलाई सल नपर्ने बनाउने दावी गरिएको छ।
प्रकाशित: २२ पुष २०८२, मंगलवार