
काठमाडौं ।
मानव जातिको अन्तरिक्ष अन्वेषण प्रयास विस्तार हुँदै जाँदा निजी कम्पनीहरूले निर्माण गरेका रोबोटिक अन्तरिक्षयानहरूको संख्या पनि बढ्दै गएको छ। तीमध्ये धेरैले २०२६ मा चन्द्रमामा अवतरण गर्ने प्रयास गर्ने तयारी गरिरहेका छन्।
चन्द्र अन्वेषणका हिसाबले २०२६ अत्यन्तै महत्वपूर्ण वर्ष बन्ने देखिएको छ। व्यावसायिक मिसनहरूको संख्या बढ्दै जाँदा पृथ्वीको प्राकृतिक उपग्रहमा पुग्ने प्रयास तीव्र बन्दै गएको छ।
समग्रमा हेर्दा चन्द्रमाका लागि यो वर्ष निकै व्यस्त रहनेछ। नासाले आर्टेमिस–२ मिशनमार्फत मानवलाई चन्द्रमाको वरिपरि पठाउने योजना बनाएको छ जसको प्रक्षेपण फेब्रुअरी २०२६ भन्दा चाँडो नहुने अनुमान गरिएको छ।
उता चीनले पनि सोही वर्षको दोस्रो आधामा आफ्नो रोबोटिक अन्तरिक्षयान छाङ’ए–७ मार्फत चन्द्रमाको दक्षिणी ध्रुव क्षेत्रमा अवतरण गरी पानीको बरफ खोज्ने लक्ष्य राखेको छ।
स्पेस डटकमका अनुसार तर चन्द्रमातर्फ लक्ष्य बनाउनेमा राष्ट्रिय अन्तरिक्ष एजेन्सीहरू मात्र सीमित छैनन्। निजी व्यावसायिक कम्पनीहरूले पनि रोबोटिक ल्यान्डरहरूको श्रृंखलामार्फत चन्द्रमामा उपस्थित हुने प्रयास गरिरहेका छन्, जसलाई मानवजातिको लागि बजार–आधारित र दीर्घकालीन चन्द्र उपस्थितिको सुरुवातका रूपमा हेरिएको छ। तल २०२६ मा चन्द्र अवतरण प्रयास गर्ने तयारीमा रहेका व्यावसायिक मिशनहरू (प्रक्षेपण तालिका र मिशन तयारीमा निर्भर रहने गरी) उल्लेख गरिएको छः
ब्लू ओरिजिन: ब्लू मुन पाथफाइन्डर मिशन–१
जेफ बेजोसको कम्पनी ब्लू ओरिजिन ले चन्द्रमामा आफ्नो पहिलो प्रयासस्वरूप ब्लू मुन मार्क–१ पाथफाइन्डर मिशन अघि बढाउन लागेको छ। कम्पनीका अनुसार यो रोबोटिक ल्यान्डर २०२६ को सुरुवाततिरै, फ्लोरिडाको केप क्यानाभेरलबाट न्यु ग्लेन रकेटमार्फत प्रक्षेपण हुने अपेक्षा गरिएको छ।
न्यु ग्लेन रकेटले हालै नासाको एस्केपेड मार्स मिशन सफलतापूर्वक प्रक्षेपण गरेपछि नोभेम्बरमा यो जानकारी सार्वजनिक गरिएको हो।
यो मिशन ब्लू मुन मार्क–१ कार्गो ल्यान्डरको प्रविधि परीक्षणका लागि डिजाइन गरिएको हो। यसमा सटीक अवतरण प्रणाली र प्रोपल्सन प्रविधिको प्रदर्शन गरिनेछ, जसले भविष्यमा नासा तथा व्यावसायिक पेलोडहरूलाई चन्द्र सतहमा पुर्याउने आधार तयार गर्नेछ। ल्यान्डरले अधिकतम ६,६०० पाउन्ड (करिब ३,००० किलोग्राम) तौलसम्मको कार्गो बोक्न सक्ने क्षमता राख्छ।
ल्यान्डरले चन्द्रमाको दक्षिणी ध्रुव क्षेत्रमा अवतरण गर्ने लक्ष्य राखेको छ। यसमा नासाको स्काल्प्स पेलोड पनि समावेश हुनेछ, जसले अवतरणका क्रममा ल्यान्डरको इन्जिनबाट निस्कने ग्यासले चन्द्र सतहमा पार्ने प्रभावबारे अध्ययन गर्नेछ।
यो मिशन ब्लू ओरिजिनका लागि निकै महत्वपूर्ण छ, किनकि कम्पनी नासाको ह्युमन ल्यान्डिङ सिस्टम (एचएलएस) कार्यक्रमअन्तर्गत प्रमुख ठेकेदार हो। ब्लू मुन ल्यान्डरमार्फत यसै दशकको अन्त्यतिर अन्तरिक्षयात्रीहरूलाई चन्द्रमामा अवतरण गराउने लक्ष्य राखिएको हुँदा, मार्क–१ पाथफाइन्डरलाई अभ्यास मिशनका रूपमा लिइएको छ।
फायरफ्लाइ: ब्लू घोस्ट एम२
टेक्सासस्थित फायरफ्लाइ एयरोस्पेस ले चन्द्रमामा पुनः फर्किने तयारी गरिरहेको छ। नजिकैको चन्द्र सतहमा रहेको मारे क्रिसियम क्षेत्रमा ब्लू घोस्ट सफलतापूर्वक अवतरण गरेको एक वर्षपछि, कम्पनीले ब्लू घोस्ट एम२ मिशन अघि बढाउन लागेको हो।
यो मिशन फायरफ्लाइलाई नियमित र दोहोरिने व्यावसायिक चन्द्र डेलिभरी सेवा प्रदायक बनाउने दिशातर्फको अर्को चरण हो। ब्लू घोस्ट एम२ नासाको कमर्सियल लुनार पेलोड सर्भिसेस (सीएलपीएस) कार्यक्रमअन्तर्गत सञ्चालन हुनेछ, जसमा व्यावसायिक तथा अन्तर्राष्ट्रिय पेलोडहरू पनि समावेश हुनेछन्।
ब्लू घोस्ट एम२ लाई २०२६ को दोस्रो त्रैमासिकभन्दा चाँडो नभई, स्पेसएक्सको फाल्कन–९ रकेटमार्फत प्रक्षेपण गर्ने योजना छ। मिशनले चन्द्रमाको टाढाको भागमा अवतरण गर्ने लक्ष्य राखेको छ, जुन उपलब्धि ङ’ए–४ (२०१९) र छाङ’ए–६ (२०२४) मार्फत हालसम्म चीनले मात्र हासिल गरेको छ।
६ वटा सरकारी तथा व्यावसायिक पेलोडमध्ये संयुक्त अरब इमिरेट्सको राशिद रोभर–२ र भोल्टा स्पेस को वायरलेस पावर रिसिभर पनि यस मिशनमा रहनेछन्।
यसै मिशनमार्फत युरोपियन स्पेस एजेन्सी (ईएसए) को लुनार पाथफाइन्डर अर्बिटर पनि चन्द्र कक्षामा पठाइनेछ, जसलाई फायरफ्लाइको एलिट्रा अर्बिटल ट्रान्सफर भेहिकलले कक्षामा तैनाथ गर्नेछ।
एलिट्राले ब्लू घोस्ट एम२ को १० दिनको सञ्चालन अवधिमा सञ्चार रिले को काम पनि गर्नेछ। चन्द्रमाको टाढाको भाग पृथ्वीबाट प्रत्यक्ष देखिँदैन, त्यसैले सञ्चार रिले अनिवार्य मानिन्छ।
इन्ट्युटिभ मेसिन्स: आईएम–३
इन्ट्युटिभ मेसिन्सले २०२६ को दोस्रो आधामा आफ्नो तेस्रो चन्द्र अवतरण प्रयास गर्ने तयारी गरेको छ। आईएम–३ मिशनमार्फत कम्पनीले आईएम–१ ओडिसियस (फेब्रुअरी २०२४) र आईएम–२ एथेना (२०२५) का अनुभवबाट सिक्ने लक्ष्य राखेको छ, ती दुवै ल्यान्डर अवतरणपछि चन्द्र सतहमा पल्टिएका थिए।
आईएम–३ मा पुनः नोभा-सी ल्यान्डर प्रयोग गरिनेछ। यो मिशन फ्लोरिडाको नासाको केनेडी स्पेस सेन्टरबाट फाल्कन–९ रकेटमार्फत प्रक्षेपण भई चन्द्रमाको नजिकैको भागमा रहेको राइनर गामा क्षेत्र मा अवतरण गर्ने लक्ष्यमा छ। यो क्षेत्र आफ्नो रहस्यमय लुनार स्वर्ल र स्थानीय चुम्बकीय क्षेत्रका कारण वैज्ञानिक रूपमा महत्वपूर्ण मानिन्छ।
ल्यान्डरमा चुम्बकत्व मापन उपकरण र प्लाज्मा उपकरणहरू सहितका विभिन्न वैज्ञानिक पेलोडहरू रहनेछन् जुन सीएलपीएस कार्यक्रमअन्तर्गत सञ्चालन हुनेछन्।
एस्ट्रोबोटिक: ग्रिफिन मिशन–१
पेन्सिल्भेनियास्थित एस्ट्रोबोटिक को पहिलो चन्द्र ल्यान्डर पेरेग्रिन जनवरी २०२४ मा प्रक्षेपण भए पनि, खराब भल्भका कारण प्रोपल्सन समस्यामा परेर प्रशान्त महासागरमा खसेको थियो। तर कम्पनी अब आफ्नो पहिलो ग्रिफिन ल्यान्डर मार्फत पुनः चन्द्रमातर्फ फर्कन लागेको छ।
ग्रिफिन–१ लाई २०२६ जुलाईभन्दा चाँडो नभई, स्पेसएक्सको फाल्कन हेभी रकेटमार्फत प्रक्षेपण गर्ने योजना छ। मिशनले चन्द्रमाको दक्षिणी ध्रुव क्षेत्रमा अवतरण गर्ने लक्ष्य राखेको छ।
सुरुमा यस मिशनमार्फत नासाको भाइपर रोभर पठाउने योजना थियो, जसले चन्द्र सतहमा वाष्पशील पदार्थ खोज्ने उद्देश्य राखेको थियो। तर उक्त रोभर रद्द भई पुनःस्थापित भएसँगै पछि सारिएको छ।
त्यसको सट्टा एस्ट्रोल्याबको चारपांग्रे १ हजार पाउन्ड (करिब ४५० किलोग्राम) तौलको फ्लिप मुन रोभर ग्रिफिन–१ मा समावेश हुनेछ। साथै एस्ट्रोबोटिकको सानो क्युबरोभर र अन्य साना व्यावसायिक तथा सांस्कृतिक पेलोडहरू पनि रहनेछन्।
यी सबै मिशनहरूले चन्द्र अन्वेषणलाई नयाँ चरणमा पुर्याउने संकेत गरेका छन्। प्रविधि परीक्षण, वैज्ञानिक उपकरण तैनाथी र भविष्यका मिसन—विशेषगरी आर्टेमिस कार्यक्रम—का लागि आवश्यक अनुभव संकलन गर्ने उद्देश्य यी मिशनसँग जोडिएको स्पेस डटकमले उल्लेख गरेको छ।
यी प्रयासहरूले निजी चन्द्र ल्यान्डरहरू प्रयोगात्मक चरणबाट नियमित सञ्चालनतर्फ जान तयार छन् कि छैनन् भन्ने संकेत पनि दिनेछ।
प्रकाशित: २२ पुष २०८२, मंगलवार