
काठमाडौं ।
सन् २०२६ को सुरुवातमा एआईको उत्साहमा उचाइमा पुगेका विश्वव्यापी सेयर बजारहरूले एउटा ठूलो जोखिमलाई बेवास्ता गरिरहेको लगानीकर्ताहरूले बताएका छन्। यो प्रविधि क्षेत्रमा बढ्दो लगानीका कारण आंशिक रूपमा उत्पन्न हुन सक्ने मुद्रास्फीतिको तीव्र वृद्धिको जोखिम हो।
अमेरिकी सेयर सूचकांकहरूमा यस वर्ष बजारको कुल नाफाको झन्डै आधा हिस्सा सात ठूला प्रविधि समूहले योगदान गरेका छन्। एआईप्रतिको उत्साह र मौद्रिक नीतिमा सहजताका कारण सन् २०२५ मा अमेरिकी बजारले दोहोरो अंकको वृद्धि गर्दै कीर्तिमानी उचाइ छोएको थियो। यही प्रभावले युरोपेली र एसियाली सेयर बजारहरू पनि कीर्तिमानी स्तरमा पुगेका थिए।
आगामी ब्याजदर कटौतीको अपेक्षाले बन्ड बजारलाई पनि बलियो बनाएको छ। मुद्रास्फीति घट्दै गएपछि अमेरिकी ट्रेजरी बन्ड लगानीकर्ताले पछिल्लो पाँच वर्षकै उत्कृष्ट वार्षिक प्रतिफल पाए, यद्यपि मुद्रास्फीति अझै पनि फेडरल रिजर्भको औसत २ प्रतिशत लक्ष्यभन्दा माथि नै रहेको रोयटर्सले उल्लेख गरेको छ।
सन् २०२६ का लागि अमेरिका, युरोप र जापानमा सरकारी प्रोत्साहन कार्यक्रम र एआई बूमले विश्वव्यापी आर्थिक वृद्धिलाई फेरि तीव्र बनाउने अपेक्षा गरिएको छ।
यही कारणले सम्पत्ति व्यवस्थापकहरू मुद्रास्फीति पुनः तीव्र गतिमा बढ्न सक्ने भन्दै सचेत बनेका छन्। यसले केन्द्रीय बैंकहरूलाई ब्याजदर कटौतीको चक्र अन्त्य गर्न बाध्य पार्न सक्छ, जसले एआईमा केन्द्रित बजारमा सजिलो पैसाको प्रवाहमा ब्रेक लाग्ने जोखिम बढाउँछ।
“पानीको फोका फुटाउन एउटा सुई चाहिन्छ, र त्यो सम्भवतः कडा मौद्रिक नीतिमार्फत आउनेछ,” रोयल लन्डन एसेट म्यानेजमेन्टका मल्टी–एसेट प्रमुख ट्रेभर ग्रिथमले भने। हाल आफू ठूला प्रविधि कम्पनीका सेयर राखिरहे पनि २०२६ को अन्त्यसम्म विश्वभर मुद्रास्फीति तीव्र रूपमा बढेमा अचम्म नलाग्ने उनको भनाइ छ।
ग्रिथमका अनुसार कडा मौद्रिक नीतिले जोखिमपूर्ण प्रविधि लगानीप्रति लगानीकर्ताको रुचि घटाउने, एआई परियोजनाको वित्तीय लागत बढाउने र प्रविधि कम्पनीहरूको नाफा तथा सेयर मूल्यमा दबाब सिर्जना गर्नेछ।
विश्लेषकहरूका अनुसार माइक्रोसफ्ट, मेटा र अल्फाबेटजस्ता ‘हाइपरस्केलर’ कम्पनीहरूद्वारा नयाँ डाटा सेन्टर निर्माणका लागि भइरहेको बहु–ट्रिलियन डलरको प्रतिस्पर्धा पनि मुद्रास्फीतिको एउटा कारण हो। यी परियोजनाले अत्यधिक ऊर्जा र उन्नत चिप प्रयोग गरिरहेका छन्।
“हाम्रो पूर्वानुमानमा लागत घट्ने होइन, झन् बढ्ने देखिन्छ, किनभने चिपको मूल्यमा र ऊर्जाको लागतमा दुवैमा मुद्रास्फीति देखिएको छ,” मोर्गन स्ट्यान्लीका रणनीतिकार एन्ड्र्यु सिट्सले भने।
उनका अनुसार कर्पोरेट क्षेत्रबाट एआईमा भइरहेको ठूलो लगानीका कारण अमेरिकी उपभोक्ता मूल्य मुद्रास्फीति सन् २०२७ को अन्त्यसम्म पनि फेडरल रिजर्भको २ प्रतिशत लक्ष्यभन्दा माथि नै रहनेछ।
जेपी मोर्गनका क्रस–एसेट रणनीति प्रमुख फाबियो बासीले भने अमेरिकी श्रम बजारको सुधार, सरकारी प्रोत्साहन खर्च र यसअघि गरिएका ब्याजदर कटौतीका कारण चिपको मूल्य जेसुकै भए पनि मुद्रास्फीति लक्ष्यभन्दा माथि नै रहने बताए।
एभिभा इन्भेस्टर्सले आफ्नो २०२६ को पूर्वानुमानमा एआई लगानी र युरोप तथा जापानमा सरकारी प्रोत्साहन खर्चका कारण बढ्दो मूल्य दबाबसँगै केन्द्रीय बैंकहरूले ब्याजदर कटौती रोक्ने वा पुनः बढाउन सुरु गर्ने सम्भावनालाई प्रमुख बजार जोखिमका रूपमा औंल्याएको छ।
प्रकाशित: २२ पुष २०८२, मंगलवार