
काठमाडौं ।
विश्वकै सबैभन्दा ठूलो कन्ट्र्याक्ट इलेक्ट्रोनिक्स निर्माता ताइवानको फक्सकनले कृत्रिम बुद्धिमत्ता (एआई) उत्पादनको बलियो मागका कारण चौथो त्रैमासिकमा कीर्तिमानी आम्दानी हासिल गरेको जनाएको छ।
एनभिडियाको सबैभन्दा ठूलो सर्भर निर्माता तथा एप्पलको प्रमुख आइफोन एसेम्बलर फक्सकनको आम्दानी गत वर्षको सोही अवधिको तुलनामा २२.०७ प्रतिशतले बढेर २.६०२८ ट्रिलियन ताइवान डलर (करिब ८२.७३ अर्ब अमेरिकी डलर) पुगेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ।
यो आँकडा विश्लेषकहरूको अनुमानमा बढी तौल दिने एलएसईजी स्मार्टएस्टिमेटको २.४१८ ट्रिलियन ताइवान डलरको पूर्वानुमानभन्दा उच्च हो।
फक्सकनका अनुसार त्रैमासिक आम्दानी त्रैमासिक–दर–त्रैमासिक र वार्षिक–दर–वार्षिक दुवै आधारमा उल्लेखनीय रूपमा बढेको छ। नतिजा कम्पनीको अपेक्षाभन्दा राम्रो देखिएको छ, जसका कारण सन् २०२६ को पहिलो त्रैमासिकका लागि तुलना आधार पनि उच्च बनेको रोयटर्सले उल्लेख गरेको छ। अमेरिकी डलर आधारमा हेर्दा चौथो त्रैमासिकमा फक्सकनको आम्दानी २६.४ प्रतिशतले बढेको कम्पनीले जनाएको छ।
कम्पनीको क्लाउड र नेटवर्किङ उत्पादन डिभिजनमा एआई उत्पादनको तीव्र मागका कारण बलियो प्रदर्शन देखिएको छ। तर, आइफोन समेटिएको स्मार्ट उपभोक्ता इलेक्ट्रोनिक्स खण्डमा भने प्रतिकूल विनिमय दरका कारण आम्दानीमा सामान्य गिरावट आएको छ।
डिसेम्बर महिनामात्रै फक्सकनको आम्दानी ८६२.८६ अर्ब ताइवान डलर पुगेको छ, जुन वार्षिक रूपमा ३१.७७ प्रतिशतले बढेको र सो महिनाका लागि कीर्तिमान हो।
होन हाई प्रिसिजन इन्डस्ट्रिज नामले औपचारिक रूपमा चिनिने फक्सकनले संख्यात्मक आम्दानी पूर्वानुमान सार्वजनिक गर्ने गर्दैन। कम्पनीले चौथो त्रैमासिकको नाफा विवरण मार्चमा सार्वजनिक गर्ने जनाएको छ।
गत वर्ष फक्सकनका सेयर २५.३ प्रतिशतले बढेका थिए, जुन समग्र ताइवान बजारको वृद्धिसँग मेल खान्छ। आम्दानी तथ्याङ्क सार्वजनिक हुनु अघि सोमबार फक्सकनको सेयर १.०८ प्रतिशतले बढेर बन्द भएको थियो, जबकि प्रमुख सूचकांक २.५७ प्रतिशतले उकालो लागेको थियो।
प्रकाशित: २२ पुष २०८२, मंगलवार