
काठमाडौं ।
सामसङ इलेक्ट्रोनिक्सले यस वर्ष ‘ग्यालेक्सी एआई’ सुविधा भएका आफ्ना मोबाइल उपकरणको संख्या दोब्बर बनाउने योजना बनाएको छ।
गुगलको जेमिनीमा आधारित यी एआई सुविधासहितका उपकरण २०२६ सम्म ८० करोडमा पुर्याइने सामसङका सह–सीईओ टी.एम. रोहले बताएका छन्। यस कदमले तीव्र हुँदै गएको विश्वव्यापी कृत्रिम बुद्धिमत्ता (एआई) प्रतिस्पर्धामा अमेरिकी कम्पनी गुगललाई पनि फाइदा पुग्ने देखिएको छ।
दक्षिण कोरियाली कम्पनी सामसङले गत वर्षसम्म स्मार्टफोन र ट्याब्लेटसहित करिब ४० करोड मोबाइल उत्पादनमा जेमिनी–समर्थित एआई सुविधा विस्तार गरिसकेको थियो। अब यो संख्या २०२६ मा ८० करोडमा पुर्याउने लक्ष्य लिएको छ।
“हामी सकेसम्म चाँडो सबै उत्पादन, सबै फङ्सन र सबै सेवामा एआई लागू गर्नेछौं,” नोभेम्बरमा सह–सीईओ बनेपछि रोहले पहिलोपटक रोयटर्ससँगको अन्तर्वार्तामा भनेका छन्।
रोयटर्सका अनुसार गुगलको एन्ड्रोइड मोबाइल प्लेटफर्मको सबैभन्दा ठूलो समर्थकका रूपमा सामसङको यो योजनाले गुगललाई पनि ठूलो सहयोग पुग्नेछ। गुगल हाल उपभोक्तालाई आफ्नो एआई मोडेलतर्फ आकर्षित गर्न ओपनएआईलगायत अन्य प्रतिस्पर्धीसँग तीव्र प्रतिस्पर्धामा छ।
सामसङले स्मार्टफोन बजारमा एप्पलसँग गुमाएको नेतृत्व फिर्ता लिने प्रयास गर्दैछ भने चिनियाँ प्रतिस्पर्धीहरूसँग केवल मोबाइल फोनमै होइन, टेलिभिजन र घरेलु उपकरण क्षेत्रमा पनि प्रतिस्पर्धा गरिरहेको छ। यी सबै क्षेत्रको जिम्मेवारी रोहकै नेतृत्वमा छ।
कम्पनीले उपभोक्ता उत्पादनहरूमा एकीकृत एआई सेवा उपलब्ध गराएर एआई सुविधामा एप्पलभन्दा अगाडि रहने लक्ष्य राखेको छ। यद्यपि, बजार अनुसन्धान संस्था काउन्टरप्वाइन्टका अनुसार गत वर्ष एप्पल सबैभन्दा ठूलो स्मार्टफोन निर्माता बन्ने तयारीमा थियो।
प्रकाशित: २२ पुष २०८२, मंगलवार