
काठमाडौं ।
सामान्यतया: क्लोदिङ स्टोर वा क्लोदिङ ब्राण्डले लुगाकपडालाई मात्र केन्द्रमा राखेर व्यापार गरिरहेका हुन्छन्। तर ललितपुरको कुपण्डोलमा यस्तो क्लोदिङ ब्राण्ड स्टार्टअप छ जसले ई कमर्शमार्फत् लुगा कपडाको व्यापार गर्नुका साथै नेपाली ब्राण्ड बिल्डिङ गर्नतिर बढी प्राथमिकता दिइरहेको छ।
उत्कृष्ट कच्चापदार्थबाट विशेष निगरानी र प्रक्रियामार्फत् सामग्री बनाएर बिक्री गर्दै आएको यो कम्पनीले लुगा बेच्ने मात्र नभई आफूलाई प्रविधिमा आधारित तथा डाटा ड्रिभन ब्राण्डका रुपमा स्थापित गर्न खोजिहेको छ।
यसअघि लामो समयसम्म द हिमालयन टाइम्स, अन्नपूर्ण पोस्ट, नागरिक दैनिक लगायतका राष्ट्रिय दैनिकहरुमा मार्केटिङ तथा ब्राण्डिङको क्षेत्रमा काम गरेका तथा पछिल्लोपटक नेपालकै पहिलो फूड डेलिभरी प्लेटफर्म फूडमाण्डुमा ब्राण्ड मार्केटिङको जिम्मेवारी सफलतापूर्वक सम्हालेका श्यामरत्न मालीको उद्यमशीलताको हुटहुटीबाट जन्मिएको र आफ्ना केही साथीहरुसँग मिलेर अगाडि बढाइरहेको यो ब्राण्डको नाम नेपालकै तराई क्षेत्रमा पाइने कपडामा प्रयोग हुने प्रख्यात रेशा जूटको नामबाट प्रेरित भएर राखिएको छ।
तर यसो गर्नुको पछाडि जूट (Zoot) का कपडा बनाउने नभई नेपाली माटोबाटै जन्मिएको ठेट शब्दलाई ब्राण्डका रुपमा चिनाउने उद्देश्य रहेको माली बताउँछन्।
सादा र क्लासिक डिजाइन ल्याङ्गवेज

जूट ब्राण्डका कपडाहरु कम मात्रै प्रिन्ट भएका, झकिझकाउ नभएका, सादा तथ क्लासिक डिजाइनका हुने गरेका छन्।
आफ्ना लक्षित वर्ग बजारको फेशन ट्रेण्डलाई पछ्याउने आम उपभोक्ता नभई विशेषगरी २५ देखि ४५ वर्षका कामकाजी तथा उद्यमशील समूह भएकाले जूटले यस प्रकारका डिजाइनमा बढी जोड दिएको संस्थापक मालीको भनाई छ। जूटका कपडामा लोगो पनि निकै सानो र बाहिर हत्तपत्त नदेखिने तरिकाले प्रयोग गरिएको हुन्छ।
लक्षित समूह
उनका अनुसार जूटका उपभोक्ता सदैव अगाडि बढ्न, आफ्नो व्यक्तित्व बढाउन कुनै क्षेत्रमा निरन्तर साथै उद्यमशीलता बढाउन लागिपरिरहने मानसिकता भएका तथा आफ्नो धरातल वा आफ्नो उद्गमसँग उत्तिकै जोडिएका व्यक्तिहरु पर्दछन्। यस्तै प्रकारका लक्षित वर्गहरु माझ जूटले आफ्नो ब्राण्डको ‘कथा’ पुर्याइरहेको छ।

सामाजिक सञ्जाल बाहेक अरु ठाउँमा खासै आक्रामक विज्ञापन नगरे पनि उपभोक्ताले जूटका सामग्रीहरु दोहोर्याएर अर्डर गर्ने गरेको माली बताउँछन्। उनी भन्छन्, ‘हाम्रो २०-३० प्रतिशत जस्तो अर्डर दोहोरिएर आएको अर्डर नै छ। एक वर्षको अवधिमा लगभग २०-३० प्रतिशत उपभोक्ताले एकपटक सामान किनेर प्रयोग गरेको आधारमा दोहोर्याएर सामान अर्डर गरेको पाइएको छ।‘
जूटले मास प्रिमियम मार्केटलाई लक्षित गरिरहेकोले यसका सामानहरु गुणस्तरीय हुनुका साथै अलि महंगो लाग्न सक्छ।
बजारमा चलिरहेको भन्दा गुणस्तरीय र अन्तरराष्ट्रिय ब्राण्डका स्तरीय कपडा खोज्ने तर यस्ता प्रिमियम सामान किन्न आर्थिक हिसाबले सहज नहुने वर्गलाई राम्रो गुणस्तरमा सामान बिक्री गर्ने भएकाले जूटले आफूलाई मास प्रिमियम उपभोक्तालक्षित भन्न खोजेको हो।
हरित सोचसहितको प्याकेजिङ
कम्पनीले प्याकेजिङमा पनि केही नयाँ सोच पस्कने प्रयास गरेको छ। प्याकेजिङ पनि सामान्य छ, कुनै झकिझकाउ देखिँदैन। तर वातावरणीय हिसाबले दिगो हुने प्रकारले प्याकेजिङलाई लैजाने कम्पनीको सोच छ।

‘हामीले वातावरणमैत्री होस् भन्नका लागि प्लास्टिक प्रयोग नगर्ने विचार गर्यौं तर प्याकेजिङका लागि प्लास्टिकको अर्को भरपर्दो विकल्प नपाइएकाले तत्काललाई प्लास्टिकमै भर पर्नुपरेको छ। तर हामीले केही विकल्पहरु परीक्षण गरिरहेका छौं तीमध्ये प्याकेजिङ सुरक्षित र भरपर्दो भयो भने हामी जैविक रुपमा कुहिने’ सामग्रीबाट बनाइएका झोलाहरु नै प्रयोग गर्नेछौँ’, मालीले प्रतिबद्धता जनाए।
कम्पनीको डेलिभरी प्याकेजिङमा एउटा ‘प्लान्टेबल सीड पेपर’ को थ्याङ्क्यू कार्ड अर्थात् माटोमा रोप्दा विरुवा उम्रने बीउयुक्त कागजको कार्ड राख्ने गरिएको छ जुन शत प्रतिशत जैविकरुपमा कुहिएर माटोमा मिल्ने पदार्थबाट बनेको छ। प्याकेजिङमै यति धेरै मेहनत गरेको यो कम्पनीले आफ्नो ब्राण्ड तथा गुणस्तरमा कति मेहनत गरेको होला? सजिलै अनुमान लगाउन सकिन्छ।
कपडाको गुणस्तरदेखि कारखानामा कपडा तयार हुने बेलासम्मको सबैजस्तो चरणमा जूटको टोली आफैं सहभागी हुन्छ। अन्तिम उत्पादन आफैंले लागाएर महसुस गर्छन्, ग्राहकले झैं लगाएर धुन्छन् अनी फेरि लगाउँछन् र आफैंलाई गुणस्तर र सहजतामा चित्त बुझ्यो भने मात्र उक्त आइटम उत्पादनमा लैजान्छन्, नभए त्यो प्रोजेक्ट नै रद्द गर्छन्।
लोगो र त्यसको अर्थ
जूटको लोगो माथितिर हेरेको बाण र पानीको थोपा जस्तै आकार मिलेर बनेको छ। दुई दशकदेखि विभिन्न नाम चलेका संस्थामा ब्राण्डिङको क्षेत्रमा काम गरिसकेका र अहिले पनि ब्राण्ड परामर्शदाताका रुपमा समेत काम गरिरहेका संस्थापक माली उक्त लोगोको सटिक अर्थ रहेको प्रस्ट्याउँछन्।

उनका अनुसार माथितिर उक्लँदै गरेको जस्तो देखिने बाणले सफलताको शिखरतर्फ निरन्तर पाइला बढाइरहेको भन्ने देखाउँछ भने पानीको थोपाले जमीन वा धरातलसँगको अटूट नाता देखाउँछ। अर्थात् यो लोगोको अर्थ तथा विशेषता बोकेका वर्ग नै जूटको सम्भावित उपभोक्ताको समूह हो।
यही वर्गका लागि जूटले स्मार्ट क्याजुअल र सेमी फर्मल दुवै प्रकारका टप्स र बटम उत्पादन गर्दछ। यसमा चिनो प्याण्ट, फर्मल शर्ट, ज्याकेटलगायतका सामग्री रहेका छन्। यी सामानहरु जूटले नाम चलेको मार्केटप्लेसका साथै सामाजिक सञ्जाल र आफ्नै ईकमर्स वेबसाइट zoot.com.np मार्फत् बिक्री गरिरहेको छ।
बिक्रीपछिको सेवा
सामान्यतया ईकमर्स वा अनलाइनमार्फत् मगाइएको सामान चित्त नबुझेमा वा बिग्रेको पाइएमा फिर्ता गर्ने वा साट्ने विकल्प हुन्छ तर प्रक्रिया निकै झण्झटिलो हुन्छ।
यसैलाई हेरेर जूटले भने मन नपरेको वा समस्या आएको वा बिग्रिएको सामानको गुनासो आएमा उपभोक्तासँग सम्पर्क गरी अर्को सामान शुरुमै पठाइदिने र उपभोक्ताले नयाँ सामान पाएपछि मात्र पुरानो सामान फिर्ता पठाउन सकिने व्यवस्था गरेको छ। यसमा जोखिम निकै छ तर लक्षित वर्गका हिसाबले एउटा सामानको जोखिम उठाउन जूटलाई असजिलो भएको छैन।

जूटले उपभोक्ता अनुभव र गुनासो आएमा त्यसलाई समाधान गर्न हरसम्भव प्राथमिकता दिँदै आएको छ। यसका लागि क्याश अन डेलिभरी, एक्सचेञ्ज र त्यसले पनि चित्त नबुझे सामान नै फिर्ता लिइदिने सुविधा राखिएको हो।
बिस्तारै नेपाली ब्राण्डहरुको बजार पनि फराकिलो हुँदै गइरहेको छ। बजारले पनि नेपाली ब्राण्डहरुलाई बिस्तारै स्वीकार गरिरहेको छ। यसै हिसाबले थुप्रै स्थानीय ब्राण्डहरु आइरहेका र बिस्तारै उपभोक्ताबाट स्वागत पाइरहेको अवस्था छ।
यसले अन्तरराष्ट्रिय ब्राण्डहरुमात्र नभई स्थानीय ब्राण्डहरु पनि उपभोक्ताको रुची अनुसारको गुणस्तर प्रदान गर्न सक्षम छन् भन्ने देखाएको छ।
‘यसले तत्काल अन्तरराष्ट्रिय ब्राण्डहरुसग प्रतिस्पर्धा गर्न नसके पनि बजारमा टिक्न र आफ्नो क्षमता देखाउन सक्षम छ भन्ने प्रमाणित भएको छ जुन नेपाली नवप्रवर्तन तथा उद्यमशीलतनाको भविष्यका लागि आशाको नयाँ किरण हो’, संस्थापक माली भन्छन्।
यसै परिदृश्यलाई हेरेर नै जूटले नेपाली बजारमा एउटा फरक विशेषता भएको समूहलाई लक्षित गर्दै गुणस्तरीय सामानमार्फत् ब्राण्डलाई अगाडि बढाउने प्रयास गरेको हो। एक वर्षको अवधिमा आएको ग्राहकहरुको माया र ब्राण्डप्रतिको उपभोक्ताको बढ्दै गएको सचेतनाले कम्पनीलाई अझै उत्कृष्ट सामान र सेवा प्रदान गर्न हौसला दिइरहेको छ।
प्रकाशित: २२ पुष २०८२, मंगलवार