अबको बालबालिका डिजिटल साक्षर हुनैपर्छ: मन्त्री पुन

  • Technology Khabar | २१ पुष २०८२, सोमबार
अबको बालबालिका डिजिटल साक्षर हुनैपर्छ: मन्त्री पुन
फाइल तस्बिर

काठमाडौं ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले अबको बालबालिका डिजिटल साक्षर हुनैपर्ने बताएका छन्।

मधेश प्रदेशको राजधानी जनकपुरधाममा सङ्घीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजना मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयको समन्वय तथा सेभ द चिल्ड्रेनको सहजीकरणमा आइतबार भएको साक्षर मधेश प्रदेश घोषणा तयारीसम्बन्धी एकदिने गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले आधुनिक युगमा बालबालिकालाई डिजिटल साक्षर बनाउनका लागि प्रत्येक विद्यालयमा कक्षा १० सम्म कम्प्युटर शिक्षा अनिवार्य हुनुपर्नेमा जोड दिए।

उनले कम्प्युटर शिक्षाका लागि प्रत्येक विद्यालयमा एउटा कम्प्युटर शिक्षकको दरबन्दी कायम हुनुपर्ने भन्दै त्यसका लागि आफू मन्त्री हुनेबितिकै गृह कार्य अगाडि बढाएको भए पनि देशमै साक्षरता दर कम भएकाले कामले गति लिन नसकेको बताए।

उनले साक्षरता दर बढाउनका लागि सरकारले साक्षरता अभियानलाई प्राथमिकतामा राखेर अगाडि बढाएको भन्दै छिट्टै मधेश प्रदेशलाई पनि साक्षर प्रदेश घोषणाका लागि सबैले काम गर्नुपर्ने धारणा राखे।

उनले आफू मन्त्री हुँदा देश साक्षर घोषणा नभएको सुन्दा अचम्म लागेको भन्दै के कारणले यस्तो अवस्था आएको हो भन्ने विषयमा अध्ययन गर्न र साक्षरताका लागि आगामी कार्यक्रम तय गर्न निर्देशन दिए।

कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले राज्यको विभेदका कारण मधेश प्रदेशको शिक्षाको स्तरमा प्रभाव परेको भन्दै मधेश प्रदेशलाई साक्षर घोषणाका लागि सरकारले साक्षरता अभियानलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको जानकारी दिइन्।

कार्यक्रममा नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका शिवकुमार सापकोटाले साक्षरताको अवस्थाको विषय र मधेश प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने तयारीका विषयमा गरेको प्रस्तुतिमाथि व्यापक छलफल भएको थियो।

छलफलका क्रममा पूर्वशिक्षा सचिव डा. रामस्वरूप सिन्हाको संयोजकत्वमा गठित सात सदस्यीय कार्यदलको कार्ययोजनाबमोजिम सरोकारवालाले मधेश प्रदेशलाई २०५३ वैशाख मसान्तभित्रै साक्षर मधेश प्रदेश साक्षर घोषणा गर्ने किसिमले काम अगाडि बढाउने विषयमा प्रतिबद्धता व्यक्त गरेको मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयका निमित्त सचिव दिलीप ठाकुरले जानकारी दिए।गोरखापत्रबाट

प्रकाशित: २१ पुष २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...